Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट चाडै विश्वासको मत लिने बताएका छन्। प्रतिनिधि सभाको बैठकपछि बालुवाटारमा बसेको ओली पक्षको संसदीय दलको बैठकमा चाडै विश्वासको मत लिने बताएका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

सर्वोच्च अदालतको परमादेश मान्छौ भनेका ओलीले नयाँ परिस्थितिमा विश्वासको मत लिने बताएका हुन्। ओलीले एकता भत्काउनेहरूसँग पार्टी एकीकरण नहुने बताए। ‘भत्काउनेहरूसँग एकीकरण हुँदैन’ ओलीले संसदीय दलको बैठकमा बोलेका कुरा उद्धृत गर्दै प्रमुख सचेतक भट्टराईले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले अब साविक नेकपा एमालेको बैठक बोलाउने बताए। ‘अदालतले ऋषि कट्टेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दिए पनि राजनैतिक रुपमा यसले मुलुकलाई सही कोर्समै लैजान्छ । अब नेकपा एमालेको बैठक बस्छ’,

केही दिनभित्रै एमाले दलको बैठक बसेर नयाँ राजनीतिक कोर्सबारे निर्णय लिइने पनि ओलीले बताए । राष्ट्रियसभामा नेकपाको उम्मेदवार बनेर निर्वाचित सांसदहरुबारे विशेष निर्णय गर्ने पनि ओलीले बताएका छन् ।

त्यो विशेष निर्णय भनेको राष्ट्रियसभाका सांसदहरु, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा उपनिर्वाचनबाट जितेका प्रतिनिधिहरुलाई जोगाउनेबारे नयाँ विधेयक ल्याउनुपर्ने हुनसक्ने ओलीको भनाइ थियो । नेकपाको एकतालाई मान्यता नदिएकाले अब आफ्नो सरकार संयुक्त बनेको पनि प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री ओलीले अब नेकपा एमालेको संसदीय दलको नेताको हैसियतमा विश्वासको मत लिनेछन्। एमाले र माओवादी मिलेर बनेको नेकपाले पार्टीको आधिकारिता नपाएपछि २०७५ जेठ ३ गते अगाडिकै जस्तै दुई दल भएका छन्।

एमाले संसदीय दलको बैठकमा हिजोको बैठकमा भन्दा सांसदको सङ्ख्या बढेको प्रमुख सचेतक भट्टराईले बताए। ‘बैठकमा प्रधानमन्त्रीले १२४ जना छौँ भन्नु भयो,’उनले भने, ‘कतिपय सांसद आउन पाउनु भएन।’

अन्तिम पटक अध्यावधिक गरिएको 729 Viewed

प्रतिक्रिया दिनुहोस्