
काठमाण्डौको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत एक महिला हवल्दार ११ लाख रुपियाँ घुस रकमसहित अर्को एक होटल व्यवसायीसंग त्रिभुवन विमानस्थलबाट पक्राउ परेकी छिन।
सो वृत्तमा कार्यरत प्रहरी हवल्दार तारा कुमारी श्रेष्ठलाई ११ लाख र्य्पियाँ घुस रकम सहित अख्तियारको टोलीले पक्राउ गरेको हो। हवल्दारसँगै पक्राउ पर्नेमा होटल सञ्चालक अनिश जोशी छन् ।
उनीहरुको साथबाट ११ लाख घुस रकम बरामद गरिएको अख्तियारका सहायक प्रवक्ता बेदप्रसाद भण्डारीले जानकारी दिए । भन्सार चोरी, निकासीको आरोपमा गौशाला प्रहरीको हिरासतमा रहेका थुनुवालाई छुटाउँछु भनेर उनीहरुले घुस लिएका थिए ।
माघ १७ मा रामेछाप लिखु–तामाकोशी गाउँपालिका घर भएका मिलन श्रेष्ठ गौरीघाटस्थित संगम चोकबाट १ सय ६७ थान मोवाइलसहित पक्राउ परेका थिए । त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरणले उनलाई गौशाला प्रहरीको हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । मिलनलाई छुटाइदिन्छु भनेर उनीहरुले घुस मागेका हुन् ।
भारतबाट बा१८च ७५११ नम्बरको गाडीमा भन्सार छलेर ल्याएको मोवाइल प्रहरीले बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको थियो । सो मुद्दामा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको थियो ।