बिशेष अदालत
Spread the love

चार लाख रुपैयाँ घुससहित पक्राउ परेका डिभिजन वन कार्यालय, कर्णाली प्रदेश सुर्खेत कार्यालयका तत्कालीन प्रमुख उपसचिव भक्तबहादुर लामा र उनलाई घुस दिने कमलबहादुर शाहीलाई विशेष अदालतले दोषी ठहर गरी एक वर्ष कैद सजाय सुनाएको छ । दुवैलाई दुई–दुई लाख रुपैयाँ जरिवाना भएको छ ।

विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रूपाखेती र चन्द्रबहादुर सारूको इजलासले उनीहरूलाई दोषी ठहर गरी कैद र जरिवानाको सजाय सुनाएको हो ।

काठ–दाउराको छुट पुर्जी म्याद थप गर्न शाहीसँग लामाले चार लाख घुस लिएका थिए । शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सूचना दिई घुस दिएका थिए । घुस लिएलगत्तै आयोगले उनलाई पक्राउ गरेको थियो ।

सुरुमा शाहीले आयोगमा लामाविरुद्ध लिखित उजुरी निवेदन दिएका थिए । अनुसन्धानमा सहयोग गरेकोले सजायको मागदाबीमा पूर्ण छुट दिई आयोगले उनलाई साक्षीका रूपमा पेस गरेको थियो । तर, पछि अदालतमा गएर उपसचिवलाई फाइदा हुने गरी बयान गरेपछि आयोगले उनलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

दुवैजनालाई एक–एक वर्ष कैद र दुई–दुई लाख जरिवानाको फैसला भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 184 Viewed

प्रतिक्रिया दिनुहोस्