गाडी तोडफोड
Spread the love

डबल नेकपाको दाहाल-नेपाल समुहका कार्यकर्ताले गएराती काभ्रेमा सत्तारुढ नेकपाका केन्द्रीय नेताले चढेको गाडी तोडफोड गरेका छन् भने कार्यक्रम नगर्न धम्की दिएका छन्।

काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको बा१५च ७८२१ नम्बरको गाडीलाई पार्किङ्ग गरिराखेलो अवस्थामा गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ पुगेका नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड भएको हो ।

करिब एक दर्जन मोटरसाइकलमा आएको समूहले नेता बास बसेको नेकपाका जिल्ला सदस्य शिव गौतमको घर नजिकै पार्किङ गर्ने क्रममा राति १०ः३० बजे गाडी तोडफोड गर्न शुरु गरेको थियो । चालकले पार्किङ गर्न लागिरहेको अवस्थामा अचानक आएका दाहाल-नेपाल समुहका नेता तथा कार्यक्रथारुको समुहले चालकलाइ बाहिर निकालेर आगजनी प्रयास गरेका थिए।  त्यही गाडीको पेट्रोल झिकेर आगजनी गर्ने प्रयास भएपछी स्थानीय जनता र सत्तारुढ नेकपाका कार्यकर्ताहरुले प्रतिकार गरेपछि दाहाल-नेपाल समुहका नेता-कार्यकर्ता भागेको बताइएको छ।

केन्द्रीय सदस्यहरू आइतबार चौँरीदेउरालीकै धुसेनीमा कार्यक्रम गरेर नेता गौतमको घरमा बास बसेका थिए।  । उक्त घरमा सत्तारुढ नेकपाका केन्द्रीय सदस्यत्रय चूडामणि गौतम, रीता ढकाल र प्रकाश गौतम तथा जिल्ला नेता लेखराज गौतम, इन्द्रबहादुर तामाङलगायतको १६ जनाको टोली बास बसेको थियो ।

उक्त आक्रमणकारी समूहले अर्को स्थान बिरुवामा समेत नेता बास बसेको तिलक गौतमको घरअघि राति पटकपटक मोटरसाइकल घार्रघुर्र पारेर धम्कीको आभाष दिलाएको नेता गौतमले जानकारी दिए । उनका अनुसार,  चौँरीदेउरालीमा कुनै पनि कार्यक्रम नगर्न दाहाल–नेपाल समूहका नेताले धम्की दिइरहेका थिए ।गाउँपालिका अध्यक्ष दीननाथ गौतम र स्थानीय नेता मुकुन्द गौतमले जिल्ला नेता इन्द्रबहादुर तामाङलाई समेत सोही भाषामा पटकपटक धम्की दिँदै आएका छन् ।

पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले आक्रमणकारीलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत दोषीमाथि कारबाहीको माग गरेका हुन्।

कोशीपूर्वस्थित उक्त गाउँपालिकामा नेकपाले सङ्गठन विस्तार गरिरहेको अवस्थामा कार्यक्रम नगर्न केही हप्ता अघिदेखिनै धम्की आइरहेको चौँरीदेउराली गाउँपालिका निवासी एवं युवा सङ्घका जिल्ला संयोजक विक्रम चौलागाईंले बताए । उनका अनुसार गाउँपालिकाको कात्तिकेदेउराली र विर्तादेउरालीमा कार्यक्रम नगर्न र गरे आक्रमण हुने धम्की दिएका थिए । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पवनकुमार झाले घटनाबारे अनुसन्धान भइरहेको दाबी गरे ।

अन्तिम पटक अध्यावधिक गरिएको 220 Viewed

प्रतिक्रिया दिनुहोस्