
हिमाली राष्ट्र भुटानमा सैन्य ‘कू’ को प्रयास असफल भएको संचार माध्यमहरुले जनाएका छन्। सेनापति र प्रधानन्यायाधीशलाई हटाएर शक्ति आफ्नो हातमा लिन खोजिएपछि विदेशी संचार माध्यमहरुले त्यसलाई असफल ‘कू’ को प्रयासको संज्ञा दिएका हुन्। खोजेको आरोपमा एक भुटानी सैनिक अधिकारी र दुई न्यायाधीशलाई प्रहरीले पक्राउ गरेको छ ।
सेनापति र प्रधानन्यायाधीशलाई हटाएर शक्ति आफ्नो हातमा लिन खोजेको भन्दै प्रहरीले राजपरिवारका पूर्व अंगरक्षक बिग्रेडियर थिन्ले तोब्गे, उच्च अदालतका न्यायाधीश किन्ले छिरिङ र जिल्ला अदालतका मुख्य न्यायाधीश एसे दोर्जीलाई नजरबन्दमा राखेको छ ।
यी तीनजनालाई सम्भावित तख्तापलटको आरोपमा घरमै नजरबन्दमा राखिएको थियो र अहिले अदालतमा उपस्थित गराइएको छ । यी तीनमाथि प्रधानसेनापति जनरल बाटु छिरिङलाई भ्रष्टाचारमा मुछेर सत्ता आफ्नो नियन्त्रणमा लिन खोजेको आरोप लगाइएको छ ।
थिम्पु जिल्ला अदालतले यी तीनलाई हिरासतमा राखेर छानविन गर्न अनुमति दिएको छ र फेब्रुअरी २७ मा पहिलो सुनुवाइ तोकिएको छ । सम्भावित कूको घटनाले भारत र चीनबीच रहेको सात लाख ५० हजार जनसंख्याको मुलुक एकाएक चर्चामा आएको छ ।
विवरणअनुसार तोग्बेले संयुक्त राष्ट्रसंघबाट खरिद गरिएको गाडीसम्बन्धी बोलपत्र प्रक्रियाका कागजात गैरकानुनीरुपमा कब्जामा लिएको जनाइएको छ । बोलपत्र सार्वजनिक र निश्पक्षरुपमा गरिएपनि उक्त कागजपत्रको माध्यमबाट सैनिक नेतृत्वलाई बदनाम गराउन खोजिएको भुटानी संचारमाध्यमले लेखेका छन् ।
केही महिनाअघि पक्राउ गरिएकी एक महिलाले सम्भावित तख्तापलटबारे खुलासा गरेको जनाइएको छ ।