
श्रीपंचमीका दिन हरेक वर्ष पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलाकोटस्थित दुर्गा यूवा क्लवले आयोजना गर्दै आएको ‘अर्मला पर्वतिय दौड’को छैटौं सस्करण आज सम्पन्न भएको छ। यस वर्षको छैठौं ‘अर्मला पर्वतिय दौड’ को उपाधि धरानका मोहन कुमार राईले जितेका छन ।
पोखरा महानगर पालिका वडा नं १६ स्थित पर्यटकिय गन्तव्य समेत रहेको १२ किलोमिटर पर्वतिय दौड धरानका मोहनले दुरी ५३ मिनेट ४३ सेकेण्डमा पार गर्दै उपाधी जितेका हुन । उनले अर्मला पर्वतिय दौड’ को उपाधि सँगै नगद १५ हजारका साथमा मेडल र प्रमाणपत्र हात पारेका छन ।
सोही दुरी कास्कीका शरद बरालले ५३ मिनेट ४८ सेकेण्डमा दुरी पार गर्दै दोश्रो र कास्कीकै दिल बहादुर वुढा मगरले ५६ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्दै तेश्रो भएका छन भने वागलुङका निशान वुढा मगर चौथो भएका छन । दौडमा दोश्रो, तेश्रो र चौथो हुनेले नगद क्रमश १०, ५ र २ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको दुर्गा यूवा क्लवका अध्यक्ष गंगा गुरुङले जानकारी दिए ।
यसै गरी महिलातर्फको दौडमा स्याङजाकी रिता गुरुङले उपाधि हासिल गरिन। उनले १२ किलो मिटर दौड १ घन्टा ३० मिनेटमा पार गर्दै नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र हात पारिन । महिलातर्फ नै कास्कीकी ललिता लामिछानेले १ घन्टा ४१ दुरी पार गर्दै नगद ३ हजार र कास्कीकै कोमली खडकाले नगद २ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल रहे ।
सोही दौड अन्तर्गत वडा नं १६ क्याटोगरीतर्फ क्रमश सुजन विक, राजकुमार क्षेत्री र अमृत परियार क्रमश पहिलो, दोश्रो र तेश्रो हुँदै नगद ८, ५ र ३ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगितामा पुरुष र महिला गरी ७६ जनाको सहभागिता रहेको थियो ।
यस अघि पोेखरा १६ दिप स्थित केआइसिं पुलबाट शुरु भएको दौडको शुभारम्भ गण्डकी प्रदेश सांसद कृष्ण थापाले गरेका थिए ।
तस्विरः रोशन भण्डारी