
नेपाल कम्युनिष्ट पार्टीका महासचिब नेत्र बिक्रम चन्द ‘विप्लब’ले वर्तमान राजनीतिक संकटको निकासका लागि वैकल्पिक संयुक्त सरकार निर्माणको प्रस्ताव अघि सारेका छन्।
२६ औं जनयुद्ध दिवसका सन्दर्भमा आज एक प्रेस बिज्ञप्ति जारी गर्दै महासचिब बिप्लवले यस्तो प्रस्ताव अघि सारेका हुन्। उनले आफ्नो वक्तव्यमा उक्त वैकल्पिक संयुक्त सरकारमा को को सहभागी हुने भन्ने बारेमा केही खुलाएका छैनन्। तर उनले त्यस वैकल्पिक संयुक्त सरकाको नेतृत्व गर्न हिजो मात्र गठन भएको रणनीतिक संयुक्त मोर्चा सक्षम रहेको दाबी गरेका छन्।
बिद्रोही ने.क.पा.का महासचिब बिप्लवले अब बन्ने वैकल्पिक संयुक्त सरकारले “पुँजीवाद वा वैज्ञानिक समाजवाद” भन्ने बारे जनमत संग्रह गर्नुपर्ने आफ्नो स्पस्ट अवधारणा सार्वजनिक गरेका छन्।
महासचिव विप्लवले आजको संसदीय व्यवस्थाको संकट, आम जनसमुदायले भोग्नु परेको अनेकौँ दुःखकष्ट र परिवर्तनको आकांक्षाले जनयुद्धको औचित्य र सहिपनालाई झनै सावित गरेको उल्लेख गर्दै जनयुद्ध कुनै पार्टी विषेशको क्रान्ति मात्र नभएर आम परिवर्तनप्रेमी, अग्रगामी जनताको चाहना र आवश्यकतासँग जोडिएको विषय भएको र जनयुद्धमा भएको बलिदान र उपलब्धी पनि जनताकै भएको बिज्ञप्तिमा बताएका छन्।
विज्ञप्तिमार्फत उनले जनयुद्धको आडमा प्राप्त उपलब्धीहरु जनतालाई पराजित र असफल पार्ने खेल अनुरुप साम्राज्यवादी, प्रतिक्रियावादी, संशोधनवादीहरुको मिलेमतोमा तहसनहस पारिएको बताउदै आपनो पार्टी र अन्य क्रान्तिकारीहरुको सशक्त प्रतिरोधले उनीहरुको त्यो प्रयास कल्पनामै समाप्त भएको दाबी गरेका छन्।
दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था नै आम नागरिकले बुझ्ने गरी आफै असफल र संकटग्रस्त हुन पुगेको कुरा उल्लेख गर्दै बिप्लवले असफल भइसकेको संसदीय व्यवस्थाले जनअपेक्षा अनुसार निकास दिन नसक्ने बताएका छन्।
