नारायण अधिकारी ‘निष्चल’
Spread the love

एक दिन एक हुल पुलिसहरु आए । बा रुखको घाँस काट्न नाम्लो र खुर्पा लिएर निस्कनै लाग्नु भएको थियो । बालाई पुलिसहरुले कब्जामा लिइ हाले । त्यसपछि उहाँलाई घर भित्र पस्न पनि दिइएन र बाहिर निस्कन पनि । त्यतिबेला आमा जम्मा बीस दिनको सुत्केरी हुनुहुन्थ्यो ।

सायद म त्यतिबेला ६ वर्षको हुँदो हुँ । भित्रबाट आमाले बा का कपडा ल्याउनु भो र बाले कपडा फेर्नु भयो । पुलिसले बालाइ लिएर गए । बालाइ त्यसरी नलैजान आमाले रुँदै पुलिसहरुसँग बिन्ती गर्नु भएको पनि मलाई राम्रोसँग थाहा छ । पुलिसहरुले आमा र अरु कसैको कुरा सुनेनन् । उनीहरुले बा लाई लिएर गए ।

एकदिन बाले गोरखाको भिनाजु(इन्द्र भक्त तिवारी)लाई लिएर आउनु भयो । सायद उहाँ जेलबाट छुटेर आउनु भएको हो । म त्यतिबेला हजुरआमाले भनेको एउटा कुरा संझन्छु–“छ महिनापछि आउँदापनि भैंसिले पनि चिन्यो” सायद हाम्रो घरमा पालेको भैसिले लामो समय नदेख्दा पनि चिनेर कराएको हुँदो हो । भैंसि कराएको त मैले पनि सुनेको हुँ ।

बाले त्यतिबेला सेतो हाफ भेष्ट र लुंगी लगाउनु भएको थियो । पछि थाहा भयो बा २०३९ बैशाख १ गते गिरफ्तार हुनुभएको रहेछ र असोजमा छुट्नु भएको रहेछ । त्यो साल असारमा हाम्रो खेती लगाइदिने काम बुबाको माहिलो मामा चन्द्र खनाल(उहाँ जनयुद्धमा सहिद भइसक्नु भएको छ)को पहलमा बालाई मायाँ गर्ने गाउँले साथिभाइबाट भएको रहेछ ।

म छ बर्षको बालकलाई सबै कुरा त के थाहा र? बा गिरफ्तार हुनु भएको, मैले चिन्दै नचिनेका मान्छेहरुले खेत रोपिदिएका । इन्द्रभक्त भिनाजुसँग बा घर आउनु भएको । यस्तै यस्तै कुरा मलाई संझना छ । त्यसपछि पनि बालाई वेला मौकामा खोज्दै खोज्दै पुलिसहरु घरमा आइरहन्थे । बा घरमा बस्दै नबस्ने गर्न थाल्नु भयो । फुपू शान्ता र हजुरबाले बारंबार सिकाको कुरा मलाई याद छ– पुलिसहरु आउँछन् बालाइ सोध्छन् । थाहा छैन भन्नु । म त्यसै गर्थें ।

म मात्र होइन हामी सबै त्यसै गथ्र्यौं । बा घर वरपर नै भए पनि घर आउनु भाछैन भनेर ढांट्थ्यौं । काकालाई हामी सानो बा भन्छौं । एकदिन सानोबाले एउटा पत्रीका ल्याएर पिंढिको भित्तामा टाँस्नु भएको थियो । त्यो पत्रीकामा सिंह दरबारमा बम पड्केको चित्र छापिएको थियो । शान्ता दिदीले जो आए पनि त्यो बम पड्केको फोटो देखाउनु हुन्थ्यो ।

सायद यो समय २०४३ तिर को हो । यो साल बालाइ पुलिसले खुब खोज्यो तर भेट्टाएन । २०४३ सालमा त म पनि १० वर्षको भएको थिएँ क्यारे । ३ कक्षामा पढ्थें । म माथी ३ वर्ष ठुली दिदी र म मुनि दुइटा भाइ र एउटा बैनी छन । दिदी २०३० सालकि दुइटा भाइ र बैनी क्रमशः २०३६,२०३८ र २०४० सालका हुन् । त्यतिबेला उनीहरुमा के कति राजनीतिक चेतना थियो मलाई थाहा छैन । तर मलाई २०४३ अर्थात १० वर्षको उमेरबाट केहि ज्ञान थियो । २०४५ सालमा बाले २० रोपनी खेत बेच्नु भयो ।

हामी चितवन बसाइँ झर्ने हल्ला सुरु भयो । ५ कक्षाको जाँच दिएपछि बा ले मलाई चितवन घुमाउन लानु भयो । त्यही बेला हो मैल मोटर, मोटरबाटो ,बिजुली बत्ती,ढलानवाला घर,झोलुङ्गे पुल,नारायणी नदि,नारायणी नदि माथीको पुल, मुङ्लिनको पुल आदि देखेको । मोटर चड्दा किन हो कुन्नि मलाई त रमाइलो लागेन । टाउको दुख्यो । रिंगटा लाग्यो । आजकाल पनि मलाई बस लाग्छ । कान्छि आमालाइ हामि सानिआमा भन्छौं। । उहाँले भच्चेकमा पढाउनु हुन्थ्यो । त्यतिबेला शन्तोष भाइ जन्मिसकेको थियो ।

के कारण हो कुन्नि सानिआमाको सट्टा बाले केहि महिना भच्चेकमा पढाउनु भएको थियो । म ६ कक्षामा पढ्थें । एकदिन विद्यालयमा ठुलो हुलदंगा भयो । नेबिसंघ भन्नेहरुले अखिलका विद्यार्थीहरुलाई मेसै लगाएर पिटपाट गरेपछी । कुरा बुझ्दा नेबिसंघले झारगामको जंगलमा बिपि स्मृति दिवस मनाइरहँदा अखिलका विद्यार्थीहरुले बिथोलिदिएका रहेछन् त्यही भएर भोलिपल्ट नेबिसँघले बदला लिएको रहेछ । यो घटना बहुदल आउनु भन्दा ६ महिना अगाडिको हो ।

त्यतिबेला बा घरमा नै हुनुभारहेछ । घरमा बाले कुरा गर्नु भएको मैले सुनें । उहाँले भन्नु भएको थियो “उता शहरमा अखिल र नेबिसँघ मिलेर पञ्चायत विरुद्ध आन्दोलन गरेका छन ह्याँ चाहिँ आपसमा झगडा ग¥याछन । यो नमिल्दो कुरा हो ।” ६ महिना पछि त ठ्याक्कै बाले भन्या जस्तै भयो । नेबिसँघ र अखिल मिलेर हाम्रो स्कुलमा पनि हड्ताल सुरु गरे । त्यो बेला सञ्जय र म सात कक्षामा पढ्थ्यौं । हामीपनि जुलुसमा जान्थ्यौं । हाम्रो ठुला बा बिजय प्रसाद अधिकारी स्कुलको हेड्मास्टर हुनुहुन्थ्यो ।

आन्दोलन सुरु भएपछि हरेक दिन जस्तै त्यो दिन पनि जुलुस निकाल्ने तयारी हुँदै थियो । दश कक्षामा पढ्ने हाम्रो घरमाथिको झगेस्वर अधिकारीले आन्दोलनको नेतृत्व गरिरहनु भएको बेला हेड्सर बिजय सरले झापड हान्नु भयो । पढाइ त त्यो दिनपनि भएन । हाम्रो कुँडारे कान्छादाइ दिपिन्द्रलाई हामीलाई भन्दा धेरै कुरा थाहा हुन्थ्यो तिनताका । सञ्जय र मलाई कान्छादाइले भनेपछि मात्र थाहा हुन्थ्यो । पिटाइ खाएपछि झगेश्वर अंकल फडिन्द्र धिताललाई भेट्न जानु भएछ ।

फडिन्द्रले आन्दोलन झन चर्काउन निर्देशन दिएछन् । त्यसको ४र५ दिन भित्रै बहुदल आयो । स्कुल छिर्ने ठाउँनेर अर्थात खुसिरामको पशल अगाडि पानी नआउने सिमेन्टले बनाएको धारा थियो । हो त्यही धारामाथी चडेर झगेश्वर अंकलले भाषण गर्नु भयो । उहाँले भाषणमा अरु के के भन्नु भयो कुन्नि तर हामी धेरै विद्यार्थीले सुनेको चाहिँ यस्तो थियो–“मैले केको लागी पिटाइ खाएँ? मैले प्रजातन्त्रको लागी पिटाइ खाएँ” भाषणमा उहाँले यो कुरा धेरै पटक दोहो¥याउनु भएको थियो । बहुदल भनेको के होला । तिनताका म यो कुरा बुझ्न सक्दिन थें । मेरो बुझाइमा बहुदल भनेको काँग्रेस होला भन्ने थियो । कम्युनिष्टहरु भन्दा काँग्रेसहरु खुशी थिए र बलिया पनि उनीहरु नै थिए । बहुदल आएपछि झगेश्वर अंकलले १ रुपैयाँ लिएर धेरै जसो विद्यार्थीलाइ नेबिसँघको सदस्यता बाँड्नु भयो ।

कसैले सिकायो जस्तो त लाग्दैन तर मलाई नेबिसँघको सदस्यता लिन हुन्न भन्ने लाग्यो र मैले लिइन झगेश्वर अंकलले जति कर गर्दा पनि मैले नेबिसँघको सदस्यता लिइन । अब त हाम्रो परिवार कम्युनिष्ट हो भन्ने पूरा ज्ञान भयो । बा पनि टोलि लिएर गाउँगाउँमा आमसभा गर्दै हिंड्न थाल्नु भएको थियो । स्कुलमा मात्र होइन कक्षामा समेत नेबिसँघले हामीलाई डोमिनेट गर्न थालिसकेका थिए । बेञ्चमा सँगै बस्ने साथीहरूसँग समेत मनमुटाव सुरु भयो । केहि साथीहरूसंग त पछि सम्म ३र४ वर्ष सम्म पनि बोलचाल बन्द भयो । नेबिसँघले आफ्नो सदस्यता रसिद खुला बाँड्दथ्यो तर अखिललाई त्यसरी बाँड्न दिंदैनथ्यो । हामीले पनि लुकिलुकी अखिलका सदस्यता रसिद बाँड्न थाल्यौं । यो वर्ष राजनीतिका कुरा धेरै सिकियो र जानियो पनि । बाचस्पती देवकोटा भच्चेकमा भाषण गर्न आए ।

हाम्रा बा भन्दा पनि ठुला नेता बाचस्पती रहेछन् भन्ने कुरा त्यतिबेला आएर पो थाहा भयो । हाम्रो घर, टोल,स्कुल र भच्चेक एरिया काँग्रेसको गढ क्षेत्र भनेर चिनिन थाल्यो । काँग्रेस र कम्युनिष्ट बिचको दुरी धेरै नै बढेर गयो । झारा पर्म छुट्टाछुट्टै हुन थाले । एकले अर्काको सभा सम्ंमेलन बिथोल्न प्रतिस्पर्धा हुन थाल्यो । अखिल पक्षधर केहि विद्यार्थीले त स्कुल नै फेर्नुपर्ने परिस्थिति आइप¥यो । काँग्रेस र नेबिसँघले स्कुललाइ अखिललाई दुख दिने याताना शिबिरको रूपमा बिकास गर्दै लग्यो । २

०४८ सालमा बा संयुक्त जनमोर्चा को उम्मेदवार बनेर गोरखाको निर्वाचन क्षेत्र नं. १ बाट चुनाव लड्नु भयो । १२,९८६ मत प्राप्त गर्न सफल भएपनि झिनो मतको अन्तरमा पराजित हुन पुग्नु भयो । बाले चुनाव हारेपछि हामी चितवन बसाइँ झर्ने कुरा पुरै सेलाएर गयो । यसको कारण छ, कारण के छ भने खेत बेचेको सबै पैसा बाले चुनावमा खर्च गर्नु भएछ । बाको चुनावी खर्च पार्टीले बेहोरेन । सबै खर्च बा आफैंले गर्नुपर्दा बालाइ बेसरी ऋण लाग्यो । त्यसपछि हामी आर्थिक पक्षमा ज्यादै संकटमा पर्दै पर्दै गयौं ।

म भन्दा माथीकि दिदीको पढाइ पुरा नहुँदै बिबाह भयो । हामीलाई बिधालय भर्ना हुन । कलम ,किताब,कापी किन्न सा¥है नै सकस पर्न थाल्यो । जेनतेन २०५० सालमा मैले एसएलसि दिएँ । पास भएँ । २०५१ सालमा गोरखा क्याम्पसमा भर्ना भएँ । गोरखा क्याम्पस अखिलको लाल किल्ला रहेछ । बा,सुरेश वाग्ले,भक्ति लामिछाने,खोप बहादुर कंडेल,जनार्दन ढकाल ,भवनाथ अधिकारी,राजेन्द्र ढकाल,भिमसेन पोख्रेल,संकर घिमिरे,प्रेम ढकाल,महेन्द्र श्रेष्ठ,शिव श्रेष्ठ,हरिश्चन्द्र श्रेष्ठ आदि,उहाँहरु सबै विद्यार्थीले चिनेजानेका पार्टीका नेताहरु हुनुहुन्थ्यो । देशभरिमा माओवादी अखिलले जितेको यो एउटा मात्र क्याम्पस थियो ।

उतिबेला स्वबियुलाइ बधाई दिन आएका थिए विद्यार्थी नेता हितमान शाक्य । त्यही बेला हो मैले पहिलो पटक हितमान शाक्यको प्रशिक्षण सुनेको । खुसिराम पाख्रीन,मणि थापा,कन्यैहा सिंह परियार,अन्जना गुरुङ,जीवन थापाहरुको सामाना परिवारले पटक पटक साँस्कृतिक कार्यक्रम देखाएको थियो गोरखामा । कौशिला गुरुङ,उदव गुरुङ,सुरेश चन्द्र घिमिरे,गिरिराज लामिछाने,उमा भुजेल,काजी गुरुङ,रमेश थापामगर ,छाया रेग्मी विद्यार्थीका मुख्य नेताहरू हुन् ।

शशस्त्र संघर्ष र शशस्त्र जनबिद्रोहमा के फरक छ ? यस बारेमा हामी घण्टौ बहस गर्दापनि थाक्दैनथ्यौं । गाउँबाट सहर घेर्ने दीर्घकालीन जनयुद्धबारे मेरो १९ वर्षे युवा दिमागले गहिरो गरि मनन गरेको थियो । १ वर्ष अगाडि शंकर घिमिरे गाउँमा आउँदा नै म वाइसीएलमा आवद्ध भइसकेको थिएँ । २०५२ मंसिरमा सुरेश वाग्लेले म पनि पार्टी सदस्य बनेको कुरा सुनाउनु भयो ।

२०५२ साल कै पुस र माघमा हामीले चेपे–गण्डकी जनसेवा अभियान चलायौं । यो अभियानले पुरै जिल्लालाई जनयुद्ध सुरु गर्न झक्झक्याएको थियो । जनयुद्ध सुरुहुनु भन्दा अगाडि नै युवा नेताहरू कृष्ण धिताल,हरिश्चन्द्र श्रेष्ठहरु गिरफ्तार भइसक्नु भएको थियो । भिमसेन पोख्रेल,प्रेम ढकाल,शंकर घिमिरेहरुलाइ वारेन्ट जारी भएको थियो ।

१ वर्ष अगाडि देखी नै तान्द्राङ्गको खुट्टे खेत वर्गसंघर्ष उठिसकेको थियो । अघिल्लो वर्ष नै चुनाव बहिष्कार कार्यक्रम अन्तरगत जौवारी,बगुवा र ताराखसेमा मतपेटिका फ्याँकिएका थिए । यसक्रममा पनि केहि युवाहरु भुमिगत भए । २०५२ फागुन १ गते जनयुद्ध सुरु भएको दिन म चाहिँ आरुघाटमा भएको मशाल जुलुसमा सहभागी थिएँ । मशाल जूलूस पछीको सभालाई भक्ति लामिछानेले संबोधन गर्नु भएको थियो । फागुन ६ गते त उहाँ पनि गिरफ्तारीमा पर्नु भयो ।

क्याम्पस पढ्दा हाम्रो कोठा गोरखा बजार मुन्तिर बतासेमा थियो । गोरखा बजार क्षेत्रमा हुने सबै कार्यक्रमका योजना हाम्रै कोठामा तय हुन्थे । हामी दिनभर कोठामा बसेर मशाल बनाउँथ्यौं,मट्टीतेल जम्मा पाथ्र्यौं । गेरु र फेबिकोल मिसाएर भित्तेलेखनको रंग तयार पाथ्र्यौ ं। गोरखा क्याम्पसको भित्तामा वालपेन्टिङ्ग खुबै गरियो । एक महिना प्रत्येक दिन वालपेन्टिङ मात्रै गरियो । चैतबाट मेरो पढाइ छुट्यो । म क्याम्पस जान छोडिदिएँ । पहिलो वर्ष जाँच दिएको थिएँ । दोस्रो वर्ष परिक्षामा सहभागी भइन । त्यसपछि परिक्षा दिने तिथिमिति संधैका लागी छुट्न पुग्यो ।

फागुन १ बाटै बा भुमिगत भैसक्नु भएको थियो। ।यसपछि बर्खा लाग्यो खेतीपातीको सिजन सुरु भयो । त्यो बर्खामा घरै बसेर खेतीपाती लगाए,ँ आमा र भाइबहिनीलाई सघाएँ । साउन,भदौ,असोज घाँस काटेर बित्यो । कार्तिक र मंसिर धान थन्क्याउँदैमा बित्यो । २०५३ को पुसमा काठमाडौतिर हान्निएँ । पुस र माघ द्रोणचार्य अधिकारीको महाराजगन्जको कोठामा बिताएँ । द्रोणचार्यको छोरा कृष्णचन्द्र अधिकारी मेरो बालककाल देखी कै साथी हो । उ पनि कोठामा संगै हुन्थ्यो ।

कोठा भित्रै बसेर दुइ महिना काट्न कुनै गा¥हो भएन । फागुनबाट काठमाडौं कै कांठ क्षेत्रमा पर्ने झोर गाबिसमा भर्खर खोलिएको मोहन माला इङलिस स्कुलको संस्थापक शिक्षक हुन पो पुगेछु । त्यहाँ मैले करिब २ वर्ष अर्थात २०५५ असोज सम्म पढाएँ । उता म काठमाडौंमा टिचर छु यता गोरखाको गाउँमा म लगायत ४७ जनालाई झुट्टा मुद्दा लागेछ । बा माओवादीको भुमिगत कार्यकर्ता भएकै कारण मलाई समेत मुद्दा लागेको कुरा बुझ्न गा¥हो थिएन । तिनताका बा रुपन्देही जिल्लाको सेक्रेटरी हुनुहुन्थ्यो ।

आमा र मैले सल्लाह ग¥यौं । बालाई भेट्न बुटवल गयौं । बा आमा र मेरो त्यहीँ सल्लाह भयो । अब परिवारका सबै सदस्य क्रमशः भुमिगत हुँदै जाने । ३ जना भाइबहिनीलाई गाउँमै छोडेर आमापनि भुमिगत रूपमा बुटवल बस्न थाल्नु भयो । म पनि २०५५ कै मंसिरबाट भुमिगत भएँ । माहिलो भाइ र कान्छी बैनी १० कक्षामा पढ्थे । कान्छो भाइ उज्वल सायद ५ कक्षामा पढ्थ्यो कि!? त्यसपछि मेरो कार्यक्षेत्र २०५९ जेठसम्म गोरखा र लमजुङ भित्र नै रहेको हो । यो बीचमा मेरो जिम्मेवारी बढिमा इलाका सदस्यसम्म मात्र रहेको थियो । २०५९ जेठबाट कास्की जिल्ला कार्यक्षेत्र भएसंगै म जिल्ला सदस्य पनि हुन पुगें । २०६३ साउनमा म फेरि गोरखा जिल्ला नै कार्यक्षेत्र बनाएर फर्कें । त्यतिबेला पनि जिल्ला सदस्य मै सिमित थिएँ । यो बीचमा गोरखाको अवस्था यस्तो हुन पुगेछ ।

सहिद संख्याः १८८ जना
बेपत्ता संख्याः २३ जना
घाइते रअपाङ्ग संख्याः २८ जना
दुश्मनले मच्चाएको हत्याकाण्डः ४६ वटा
जेल र हिरासत संख्याः २४९ जना
राज्यको सैनिक क्याम्प माथीको आक्रमण एम्बुस सहित)ः२५ वटा
ठुला किसान संघर्षः ८ वटा
२०६५ सालको अन्त्यतिर नेकपा(माओवादी) र नारायणकाजी श्रेष्ठको पार्टी बीच एकता भएपछि मलाई पनि राज्य समिति सदस्य बनाइएछ । पालुङटार बिस्तारीत बैठकमा मैले भाग लिएको हुँ । क.मोहन बैध(किरण)को लाइनको पक्षमा डटेर लडिएको हो । बा त झन खरिपाटी भेलाबाटै क. किरणको लाइनमा उभिनु भएको हो ।

क.मोहन बैध(किरण) र बा को उदेश्य एउटै हो । दुबैको उदेश्य अधुरो क्रान्तिलाई पुरा गर्ने भन्ने हो । २०६९ असारमा क.मोहन बैध(किरण)को नेतृत्वमा नेकपा(माओवादी) पुनर्गठन हुँदा बा केन्द्रिय सदस्य हुनुहुन्थ्यो र म चाहिँ गोरखा जिल्ला सेक्रेटरी थिएँ । राज्य समिति सदस्य पनि थिएँ । २०७० को साउनतिर बा पोलिट्ब्युरो सदस्य हुनुभएको थियो त्यसपछि मृत्यु पर्यन्त उहाँ त्यहि पदमा सिमित रहनु भयो । बाको असामयिक निधन भयो । २०७६ असार २२ मा ६४ वर्षकै उमेरमा उहाँ बित्नु भयो ।

मेरो ऐले पनि क.मोहन बैध(किरण) ले नेतृत्व गर्नु भएको नेकपा(क्रान्तिकारी माओवादी) मा आवद्धता रहिआएकै अवस्था छ । तितो यथार्थ के छ भने आज गोरखामा जनयुद्धमा सहभागी ठुलो हिस्सा एउटै झमेट्मा दक्षिणपंथी अवसरवादमा पतन भएको छ । दक्षिणपंथी अवसरवादको त्यो हिस्साले बिचौलिया गतिविधिलाइ नै आफ्नो मुख्य पेशा बनाउन पुगेको छ । दक्षिणपंथी अवसरवादको त्यो हिस्सा अन्तरगतका जिल्लाका अधिकाँश नेता र कार्यकर्ताहरू निजि संपत्ती थुपर्न कै निम्ति अनगिन्ती भ्रस्टाचारमा लिप्त छन । जनयुद्धमा क्रान्तिको नेतृत्वको भुमिका खेल्न पुगेको गोरखा जिल्ला आज प्रतिक्रान्तीको नाइके भएको छ ।

हिजोको क्रान्तिकारीहरुको ठुलो हिस्सा लगातार प्रतिक्रान्तीतिर खुर्मुरिएको छ । तैपनि क्रान्तिकारीको एउटा हिस्साले भने निरन्तर क्रान्तिको झण्डा उठाइरहेको छ । नारायण अधिकारी इन्चार्ज र कृष्ण कट्टेल सेक्रेटरी रहेको नेकपा (क्रान्तिकारी माओवादी)को सिङ्गै जिल्ला पार्टीले अवसरवादका विरुद्ध क्रान्तिको पक्षमा निरन्तर झण्डा उठाइरहेको छ । नेकपाका अध्यक्ष ऋषि कट्टेल जो गोरखा जिल्ला कै हुनुहुन्छ उहाँले पनि जनवादी क्रान्तिको वकालत गरिरहनु भएको छ । गोरखा जेल ब्रेकर कि कमान्डर क.उमा भुजेल,उहाँपनि गोरखा जिल्ला कै हुनुहुन्छ । बिप्लव नेतृत्वको नेकपा पनि गोरखामा शशक्त नै छ । यसरी हेर्दा क्रान्ति पछिको डरलाग्दो प्रतिक्रान्ति र प्रतिक्रान्तिको खरानी भित्र क्रान्ति आगोको बिउ जसरी जिवित रहेको छ । प्रतिक्रान्ती भित्रको आगोको कोइला रूपी क्रान्तिलाई प्रतिक्रान्तिको खरानी हटाएर फेरि एक पटक क्रान्तिको आगो सल्काउन गोरखा जिल्लाले माग गरेको छ । राम्रो मेहनत ग¥यौं भने क्रान्ति फेरि संभव छ । जनयुद्ध(जिन्दावाद । २६ औं जनयुद्ध दिवस भब्य रूपमा मनाऔं ।

अन्तिम पटक अध्यावधिक गरिएको 169 Viewed

प्रतिक्रिया दिनुहोस्