
बैदेशिक रोजगार विभागले गर्ने आकस्मिक छड्के अनुगमन रोक्नुपर्ने लगायतका विभिन्न २१ वटा मागहरु राखेर बैदेशिक रोजगार ब्यबसायीहरुले बिभाग अगाडी उभिएर बिभागबिरुद्ध चर्को नाराबाजी गरेका छन्।
बैदेशिक रोजगार विभागको मूल गेटमा भेला भएर बैदेशिक रोजगार ब्यबसायीहरुले ‘छड्के अनुगमन बन्द गर, सेवा शुल्क वृद्धि गर, ताहाचलको घुस बन्द गर, म्यानपावर व्यवसायी जिन्दाबाद…!’ लगायतका नाराबाजी गरेका हुन्।
म्यानपावर व्यवसायीहरु कारवाही खुकुलो बनाउनुपर्नेसहित विभिन्न २१ बुँदे माग तेस्र्याएर आन्दोलनमा छन् । पीडितका पक्षमा लागेर आफूहरुलाई सताएको भन्दै व्यवसायीहरु विभागविरुद्ध उत्रिएका छन् । व्यवसायीहरुले आफ्ना पुरा नभए विभागमै तालाबन्दी गर्नेदेखि देशै ठप्प पार्नेसम्म चेतावनी दिएका छन् ।
उनीहरुले महानिर्देशकले मनपरी ढंगले काम गरेको, विभागमा आर्थिक चलखेल बढेको जस्ता आरोप लगाएका छन् । म्यानपावरलाई शाखा खोल्न दिनुपर्ने र श्रमिकसँग वैधानिक रुपमा उठाउन पाइने शुल्क बढाउनुपर्नेसम्मका माग छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठ विभागका महानिर्देशक कुमारप्रसाद दाहालले आफूहरुको मागलाई बेवास्ता गरेकाले आन्दोलन गर्नपरेको बताउँछन् । विभागमा हुनसक्ने काम पनि आर्थिक चलखेलका लागि मन्त्रालयतिर पन्छाउने गरिएपछि त्यसका विरुद्ध एक ढिक्का भएर आन्दोलन गर्नुपरेको उनले बताए ।
व्यवसायीका माग यति मात्रै छैनन्, कामदार विदेश पठाउँदा उठाउन पाउने सेवा शुल्क बढाउन पनि माग गरेका छन् । सरकारले २०७२ जेठमा मलेसिया र ६ वटा खाडी मुलुकका लागि ‘ फ्रि भिसा, फ्रि टिकट’ को व्यवस्था अनिवार्य गरेको थियो । अहिले ती देशमा श्रमिक पठाउँदा १० हजार रुपैयाँसम्म मात्रै शुल्क उठाउन पाइने नियम छ ।
तर, विदेशका कम्पनी फ्रि भिसा र टिकट आएपनि म्यानपावर कम्पनीले चर्को असुली गरिरहेका छन् । कतिपय अवस्थामा व्यवसायीले फ्रि भिसा र टिकट नै नभएपनि कामदारसँग असुल्ने गरी डिमान्ड ल्याइरहेका छन् । नक्कली कागजात बनाएर डिमान्ड ल्याउँदा पनि सरकारले कारवाही गर्न सकेको छैन ।
सरकारले म्यानपावर कम्पनीमाथि पर्याप्त कडाइ नगर्दा सालना हजारौं युवा लाखौं रकम बुझाएर काम खोज्दै विदेशिन बाध्य भएको वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डित बताउँछन् । उनका अनुसार व्यवसायीले कामदारबाट लाखौं रकम उठाएर १० हजारको बिल थमाइदिने गरेका छन् । म्यानपावरबाट ठगिएर विदेशमा बिचल्लीमा पर्ने घटना पनि बढ्दो छ ।
म्यानपावर व्यवसायीले जथाभावी पठाउँदा विदेशमा जोखिमपूर्ण काम गर्नुपर्ने, भनेअनुसार तलब नपाउने, कहिल्यै नसोचेको पीडा खेप्नुपर्ने, स्वदेश फर्किन कठिन हुने, कतिपय अवस्थामा जेल-सजाय भोग्नुपर्ने र ज्यानसमेत गुमाउनेसम्मका अवस्थाबाट नेपाली कामदार पीडित छन् ।