अध्यक्ष मिलन गुरुङ , एन्फा कास्की
Spread the love

उच्च अदालत पोखराले कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै १० दिनको कैद सजाय सुनाएको छ ।

न्यायधीशद्वय किशोर सिलवाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलाशले गुरुङलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) अनुसारको कसुर गरेको ठहर गर्दै सोही ऐनको दफा १५ (१) बमोजिम १० दिनको कैद फैसला गरेको हो ।

१२ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा राष्ट्रिय महिला टिमका ३४ खेलाडी पोखरामा रहँदा खाना र बसाइको भुक्तानी गर्न २०७६ साल असोज १३ गते गुरुङले ओम गौरा जोस्टेल होटललाई काटेको दुई लाख रुपैयाँको चेक उक्त खातामा पर्याप्त रकम नभएपछि बाउन्स भएको थियो । त्यसपछि होटल सञ्चालक हरिभक्त आचार्यले उच्च अदालतमा बैंकिङ कसुरमा जाहेरी दिएका थिए ।

टिमको बसाइ र खानाको दुईलाख १५ हजार रुपैयाँको बिल भुक्तानी माग्दा अध्यक्ष गुरुङले धम्क्याएपछि आचार्यले उच्च अदालतमा जाहेरी दिएका थिए ।

२०७६ साल माघ १० गते पक्राउ परेका गुरुङलाई अदालतले माघ २२ गते दुई लाख रुपैयाँ धरौटीमा छाडेको थियो । उनले अदालतलाई राष्ट्रिय खेलकुद परिषदबाट पैसा आउन ढिला भएकोले आफूले चेक काटेको बयान दिएका थिए ।

तर, मुद्दा चलिरहेकै बेला महिला टिमकी प्रशिक्षक अरुणा गुरुङमार्फत् परिषद्ले होटललाई दुई लाख भुक्तानी गरिदियो । ‘

उनलाई दुई साताअघिमात्रै एन्फाले गण्डकी प्रदेश फुटबल संघ तदर्थ कमिटिको उपाध्यक्ष बनाएको थियो । उनी अखिल नेपाल फुटबल संघ (एन्फा) को सानेपामा मंगलबार भइरहेको १९ औं साधारण सभामा कास्की जिल्ला संघकै प्रतिनिधिको हैसियतमा सहभागी छन् ।

प्रदेश लिगको दौरान सहभागी टिमलाई समान सुविधा नदिएको भन्दै गण्डकी प्रदेशको सभासद राजीव गुरुङ (दीपक मनांगे) ले मिलन गुरुङलाई रंगशालामै मुक्का हानेका थिए । त्यसपछि फुटबलको नाममा उनले गरेका आर्थिक अनियमितताको श्रृंखला नै बाहिर आयो । उनीमाथि छानबिन गरेर प्रतिवेदन तयार पारेपनि एन्फाले त्यसलाई सार्वजनिक गरेको छैन ।

अन्तिम पटक अध्यावधिक गरिएको 5485 Viewed

प्रतिक्रिया दिनुहोस्