शनिबार कञ्चनपुरको बेलौरी नगरपालिका १० सडकघाटस्थित दशगजा क्षेत्रमा एसएसबीको अवरोध
Spread the love

भारतीय डेपुटी कमाण्डर अमनदीप सिंहले नेपाली किसानलाई झुक्याए छन् । शनिबार कञ्चनपुरको बेलौरी नगरपालिका १० सडकघाटस्थित भारतीय एसएसबीले गरेको अवरोध सुल्झाउन त्यहाँ पुगेका भारतको पिलिभित बटालियनका डेपुटी कमाण्डर सिंहले नेपाली किसानलाई झुक्याएका हुन् ।

नेपालका तर्फबाट स्थानीय सरकार र सरोकारवालाहरुसंग भएको छलफलपछि दशगजा क्षेत्र सम्बन्धि कुनै समस्या नरहेको बताउँदै डेपुटी कमाण्डर सिंहले किसानलाई उखु तथा अन्नबाली उठाउन भारतीय एसएसबीबाट रोकटोक नहुने बताएर निस्किए ।

उनी निस्किएको केहिबेरमै नेपाली किसानले काटेको आफ्नै बारीको उखु उठाउन दशगजा क्षेत्रमा जाँदा त्यहाँ खटिए भारतीय एसएसबीले रोकटोक गरे । एसएसबी छोटेलाल बङ्गालीले लिखित आदेश नआएसम्म भनसुनको आधारमा दशगजा क्षेत्रमा हिडडुल गर्न नदिने भन्दै जिकिर गरे ।

त्यहाँका किसानले १२ दिनदेखि किसानले आफ्नै खेतमा काटेको उखु मिलमा लग्न समेत पाएका छैनन् । बाह्र बाह्र दिनसम्म काटेको उखु खेतमै सुक्न लागेको भन्दै किसानले दुखेसो पोखिरहेका छन् ।

बेलौरी नगरपालिका – १० को सडकघाटस्थित पिलर नम्बर ३५ वरपरको भूभागमा लगाएको उखु र तोरी भारतीय एसएसबीले भित्र्याउन नदिएपछि किसानहरुको गाँसमा नै असर पर्न थालेको छ ।

भारतीय एसएसबीले नेपाल – भारत सीमाबीचको बाटो ‘नोमेन्सलेण्ड’लाई एकाएक प्रयोग गर्न नदिएपछि किसानको उखु खेतमै सुक्न थालेको छ ।

यता, कृषकको समस्यालाई सुल्झाउन भारतीय पक्षसंग बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक एवम् नेकपाका नेता पल्लब राज भट्ट, यज्ञप्रसाद कँडेल, हरिलाल चौधरी, समाजसेवी गोपाल पन्त, हरिश पन्त लगायत स्थानीयहरुको पटकपटकको प्रयास समेत अझै सुल्झिन सकेको छैन ।

शनिबार नगर प्रमुख चौधरी र डेपुुटी कमाण्डर सिंहबीचको दुई घण्टालामो छलफलपछि कमाण्डर सिंहले समस्या समाधान हुने विश्वास दिलाएका थिए । तर पनि सिंहको बोलीको कुनै भर भएन ।

कमाण्डर सिंहले क्यामेरामा मिडियाको अगाडि चोखिनका निमित्त त्यस्तो बोलेको हुन सक्ने अनुमान गरिएको छ । उता पुनः उनकै कमान्डमा खटिएका एसएसबीले अन्नबाली उठाउन रोकटोक लगाएपछि यतिबेला स्थानीय सशंकित र चिन्तित बनेका छन् ।

त्यहाँ भारतको टिल्ला नम्बर ४ अर्थात ३५ नम्बर पिलर क्षेत्रबाट १८० मिटर दक्षिण भारत तर्फ नेपालको भूभाग पर्दछ । जसमा तत्कालीन स्ट्रिप नक्सा त्रुटिपूर्ण छ। यसलाइ सच्याउन सरकारले कुटनैतिक पहल गरे मात्रै कञ्चनपुरको सीमा समस्या समाधान हुने विश्वास स्थानीयवासीको छ । स्रोत स्रोत : news 24

अन्तिम पटक अध्यावधिक गरिएको 423 Viewed

प्रतिक्रिया दिनुहोस्