सडक प्रयोगमा एसएसबीको रोक
Spread the love

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटस्थित दशगजा क्षेत्रको सडक प्रयोगमा रोक लगाएको छ ।

दशगजा क्षेत्रको सडक स्थानीय बासिन्दाले ०३५ देखि प्रयोग गर्दै आएको स्थानीय बासिन्दा बताउँछन् । उनीहरूका अनुसार यही सडक भएर खेतमा पुगिन्छ । अहिले एसएसबीले रोकेपछि खेतमा पनि जान नसकिएको उनीहरूको भनाइ छ ।

नेपालको सडकघाट र भारतको टिल्ला नम्बर ४ बीचको दशगजा क्षेत्रमा निर्माण भएको सडक दुवै देशका बासिन्दाले प्रयोग गर्दै आएका थिए ।

कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटका बासिन्दा समस्यामा परेपनि भारतीय नागरिकले भने निर्बाध रुपमा प्रयोग गर्दै आएका छन्।

केहीदिनयता एसएसबीले नेपालीलाई प्रयोगमा रोक लगाएको स्थानीय बासिन्दा चक्रबहादुर कठायतले बताए । ‘यो सडकमा वर्षौंदेखि हिँडडुल गर्दै आएका थियौँ । खेतबारीमा जाने यही बाटो हो,’ कठायतले भने, ‘अहिले आएर एसएसबीले हामीलाई एकाएक रोक लगाएको छ । तर, भारतीय नागरिक निर्वाध प्रयोग गरिरहेका छन् ।’

स्थानीय किसान भन्छन्, ‘सडक प्रयोग गर्न नदिएपछि खेतमा जान पाएका छैनौँ । अन्नबाली खेतमै छ, ल्याउन पाएका छैनौँ’

एसएसबीले सीमा क्षेत्रका बासिन्दामाथि गर्दै आएको ज्यादतीको शृंखलाको यो अर्को घटना भएको स्थानीय लालबहादुर शाहीले बताए । स्थानीय प्रशासनलाई गुहारे पनि वास्ता नगरेको उनको भनाइ छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले दशगजा क्षेत्रको सडक प्रयोगमा समस्या आएको जानकारी प्राप्त भएको बताए । कानुनअनुसार, दशगजा क्षेत्रको सडक दुवै देशले उपभोग गर्न नपाउने भए पनि व्यावहारिक रूपमा दुवै देशका नागरिकले प्रयोग गर्दै आएको उनले भनाइ छ । ‘दुवै देशका अधिकारसहित छिट्टै विवाद समाधान गरिने प्रजिअ महतोको भनाइ छ ।

यसअघि पनि बेलौरी नगरपालिका–१० सडकघाट क्षेत्रमा नेपाली भूमिमै सडक फराकिलो बनाउने क्रममा पनि एसएसबीले अवरोध गरेको थियो । स्थानीय बासिन्दाले विरोध गरेपछि मात्रै काम भएको थियो । यस क्षेत्रमा एसएसबीले प्रायः विवाद निम्त्याउँदै आएको छ । समाचार र्श्रोत : नयाँपत्रिका दैनिक

अन्तिम पटक अध्यावधिक गरिएको 154 Viewed

प्रतिक्रिया दिनुहोस्