सगरमाथामा भारतको दाबी रहेको जी न्युजको समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीसंग को अन्तर्वार्तामा तिल्मिलाएर सगरमाथा आधार शिबिर पुगेका भारतीय टेलिभिजन जी न्युजको ‘डीएनए’ कार्यक्रमका प्रधानसम्पादक सुधीर चौधरीले ‘सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्ने’ समाचार प्रशारण गरेका छन्।

उनले सगरमाथाको पहिलो पटक उचाइ नाप्ने व्यक्ति भारतका राधानाथ सिकदर भएकाले उनैको नामबाट यसको नामाकरण हुनुपर्ने दाबी गरेका छन्।

बेसक्याम्पमा पुगेर उनले भनेका छन्, ‘माउन्ट एभरेस्टमा भारतको पनि दावी हुनुपर्छ, आज म यहाँ भन्न चाहन्छु कि माउन्ट एभरेस्टसँग भारतको के सम्बन्ध छ, वर्ष १८५२ मा राधानाथ सिक्दर, उनी पहिलो व्यक्ति थिए जसले माउन्ट एभरेस्टको उचाइ नापेका थिए, र सर्भे अफ इन्डिया डिपार्टमेन्टले सिकदरलाई त्यो काम दिएको थियो।’

सगरमाथामाकाे नाम अग्रेजहरुले माउन्ट एभरेस्ट राखेको कुरा उल्लेख गरेका पत्रकार चौधरीले सगरमाथामाकाे नामपहिलो पटक सगरमाथाको उचाइ नाप्ने राधानाथ सिकदरको नामबाट हुनुपर्ने जिकिर गरेका छन्। उनले सगरमाथाको नाम माउन्ट सिकदर हुनुपर्ने समेत उल्लेख गरेका छन्।

नेपाली राष्ट्रियतालाई निरन्तर प्रहार गर्ने भारतीय न्युज च्यानल जी न्युजले सगरमाथाकाे नाम फेर्ने अभियानमा लागेकाे समेत बताए ।

प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिन गत आइतबार काठमाडौं आएका चौधरीले हेलिकप्टरमा सगरमाथा आधार शिविर पुगेका हुन् ।

पटक-पटक नेपालका बारेमा विवादित सामग्री

जी न्युजले पटक-पटक नेपालका बारेमा विवादित सामग्री प्रसारण गर्दै आएको छ । नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि जी न्युजलगायतले विवादित सामग्री प्रकाशित गरेका थिए । जी न्युजले ‘राष्ट्रवाद के नामपर नेपालकी चाइनिज नक्सेबाजी’ भनेर कार्यक्रम प्रसारण गरेको थियो । जुन कार्यक्रम चाैधरीले नै सञ्चालन गरेका थिए ।

गत असारमा प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको विषयमा काल्पनिक कथा बुन्दै सो टीभीले कूटनीतिक मर्यादासमेत ख्याल नगरिकन अनर्गल प्रचार गरेकाे थियाे । ‘ओली कि इश्किया’ शीर्षकमा प्रशारित रिपोर्टमा चिनियाँ राजदूत यान्छीलाई ‘विषकन्या’ को संज्ञा दिँदै भारतीय टीभीले उनैको जालमा फसेर ओलीले भारत विरोधी कदम चालिरहेको भनेको थियाे ।

आपत्तिजनक शब्द प्रयोग गर्दै रिपोर्टमा भनिएको थियाे, ‘केपी ओली ने अपने दिलके हसरतोंको उडान देनेका लिए यान्की से नजदिकीया बढायी, लेकिन वा हनी ट्र्याप मे फसगए ।’

राजदूत यान्छीकै आग्रहमा फसेर ओलीले भारतका तीन क्षेत्रहरुमाथि दाबी गर्दै आफ्नो नयाँ नक्शा प्रकाशित गरेको दाबीसमेत गरिएको थियाे । उसले ओलीको ‘निजी एमएमएस’ चीनको हातमा रहेको र त्यसैलाई लिएर ओलीसँग चीनले ब्ल्याकमेलिङ गरिरहेको भन्नसमेत भ्याएको थियाे ।

उक्त रिपोर्टमा नेपालमा भएको ‘इनफ इज इनफ’ आन्दोलनका फुटेजहरुलाई अपव्याख्याका साथ प्रयोग गरिएको थियाे । त्यसपछि केही समयकाे लागि असार २६ गते नेपालमा भारतीय टेलिभिजनहरुको प्रसारण बन्द गरिएको थियाे।

अन्तिम पटक अध्यावधिक गरिएको 140 Viewed

प्रतिक्रिया दिनुहोस्