ल्होछार

गाउँबाट शहर छिरेका तमु (गुरुङ)हरुले विहिवार पोखरामा जम्मा भएर सामुहिक रुपमा तमुहरुको महान चार्ड, नयाँवर्ष तमु(ल्वों)ल्होछार÷ल्होसार भब्य रुपमा मनाएका छन्।

पोखराको नयाँबजारस्थित तमु धिं नेपालमा जम्मा भएका गुरुङहरुले शुभकामना आदान प्रदान गरे भने बिबिध साँस्कृतिक कार्यक्रमका साथ नाचगान पनि गरे। त्यसको साथमा ल्होछारमा गाउँमा हुँदा हुने छेलो हान्ने प्रतियोगिताको झल्को मेट्न खुल्ला छेलो प्रतियोगिता पनि गरे।

त्यस अवसरमा आयोजित खुल्ला छेलो प्रतियोगितामा रोहित सुनार प्रथम, कुमार सुनार द्धितिय र राजेश गुरुङ तृतिय भएका थिए। प्रतियोगितामा प्रथम हुने रोहित सुनारले १२ हजार, द्वितीय हुने कुमार सुनारले आठ हजार र त्र्तीय हुने राजेश गुरुङले पाँच हजार रुपियाँ नगद पुरस्कार पाएका थिए। छेलो प्रतियोगिताका बिजेतालाई पुरास्कारको ब्यबस्था मादी गाँउपालिका अध्यक्ष बेदबहादुर गुरुङ श्यामले गरेका थिए। उनले आफ्ना स्वर्गीय बाबा टेकसाई गुरुङको स्मृतिमा पुरस्कारको ब्यबस्था गरेका थिए।

कार्यक्रममा चर्चित लोक दोहोरी गायिका शर्मिला गुरुङले टसबहादुर गुरुङ, गजेन्द्र गुरुङ सँग पालैपालो दोहोरी गाउदै वातावरणलाई अत्यन्तै मनोरञ्जनात्मक बनाएकी थिइन्। यसरी नै नेत्र गुरुङ, राजबहादुर गुरुङ, डबिन गुरुङ, उषा गुरुङ, कर्णेल लालबहादुर गुरुङ लगायतले गीत प्रस्तुति र हिमाली साँस्कृतिक परिवारका कलाकारहरुका साथै स्मृति र मालिमा गुरुङको नृत्यले ल्होसारलाई रमाइलो बनाएको थियो। त्यस्तै गुरुङ साहित्यीक मञ्चका महासचिव रोशनी गुरुङ, सचिव तुलबहादुर गुरुङ, तेजबहादुर च्हाक्ली तमु र नादा तमु समाजका अध्यक्ष चेतबहादुर गुरुङले कविता मुक्तक वाचन गरेका थिए।

त्यस अवसरमा कार्यक्रमको प्रमुख अतिथि रहेका गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले तमुहरुको एकता एवम ल्होछार पर्वले जातिय पहिचान संरक्षित र हकाधिकार सुनिश्चित हुने दावी गरे। अब तमुहरु सबै क्षेत्रमा उत्कृष्ठ हुनुपर्ने उनको भनाई थियो।

कोभिड १९ कोरोना भाइरसको संक्रमणलाई मध्य नगर राख्दै सिमित संख्यामा सहभागी भई सम्पन्न गरिएको कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, मादी गाँउपालिका अध्यक्ष बेदबहादुर गुरुङ श्याम, राष्ट्रिय परिषद बोर्ड सदस्य राजेश गुरुङ, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद प्रदेश उपाध्यक्ष दिलमाया गुरुङ, आदिवासी जनजाति महासंघ कास्की अध्यक्ष धर्म गुरुङ, नेपाल मगर संघ कास्की अध्यक्ष संगीता पुन मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

आयोजक समितिका संयोजक सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक भोजबहादुर गुरुङले स्वागत र तमु कलाकार संघका शंकर विरही गुरुङले कार्यक्रम संचालन गरेका थिए।

अन्तिम पटक अध्यावधिक गरिएको 113 Viewed

प्रतिक्रिया दिनुहोस्