प्रहरीलाई छक्याएर छापामारी शैलीमा डबल नेकपाका बिद्यार्थी तथा युवाहरुले निकालेको मशाल जुलुशमा प्रहरीले सोमबार साँझ पोखरामा हस्तक्षेप गर्दा झडप भएको छ। झडपका क्रममा एक जना प्रहरी घाइते भएका छन्।

प्रहरीलाई छक्याउदै डबल नेकपाको दाहाल-नेपाल समूह समर्थित राष्ट्रिय युवा संघले पोखराको पृथ्वीचोकमा सोमबार साँझ निकालेको मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरी हस्तक्षेप्पछि भएको झडपमा एकजना प्रहरी हवल्दारको आँखामा चोट लागेको छ।

शुरुमा पृथ्वीचोकस्थित तत्कालिन वाईसिएल क्याम्पबाट मशाल जुलुश निकाल्ने भनिएपनि प्रहरीले सो क्षेत्र घेराबन्दी गरेपछि युवा संघले झुक्याएर पृथ्वीचोक भन्दा केहि माथिबाट मशाल जुलुश निकालेको थियो। झुक्याउँदा झुक्याउँदैपनि केहि प्रहरीले भेटेपछि उनीहरुमाथि लाठीचार्ज भएको थियो ।

लाठीचार्जका क्रममा केही युवा सामान्य घाइते भएका थिए भने एक जना प्रहरी हवल्दारको आँखामा चोट लागेपछि आक्रोशित बनेको प्रहरीले रास्ट्रिय युवा संघका नेता बसन्त बास्तोलालाई पक्राउ गरेको थियो। आफ्ना सहकर्मी पक्राउ परेपछि झन् आक्रोशित बनेका प्रदर्शनकारीहरुले पक्राउ परेका आफ्ना नेता रिहा नभएसम्म सडक नछाड्ने भन्दै सभागृहचोकको बीच सडकमा सुतेर सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए।

करीब डेढ घन्टाको प्रदर्शन पछि प्रहरीले पक्राउ परेका नेता बास्तोलालाई प्रहरीले छाडेको थियो। प्रदर्शनका क्रममा घाइते बनेका हवल्दारको आँखा फुटेको भन्दै प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो। घाइते प्रहरी हवल्दारलाई पृथ्वीचोकको गण्डकी मेडिकल कलेजमा लगेर आँखा परीक्षण गर्दा आँखाको बाहिरी भागमा मात्र चोट लागेको भेटिए पछि प्रहरीले पक्राउ परेका बास्तोलालाई छाडेको समाचारस्रोतको दाबी छ। उनको हिमालय आँखा अस्पतालमा थप उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।

राँके जुलुशपछिको कोणसभालाई सम्बोधन गर्दै युवा संघका केन्द्रीय सचिव सुमन देवकोटाले ओली फाँसीबादी भएको बताए । उनको कदम प्रतिगामी भएको भन्दै नसच्चिएसम्म आन्दोलन जारी राख्ने उद्घोष गरे ।

युवा संघ कास्कीका अध्यक्ष भोजराज पौडेलले राँके जुलुश निकाल्ने क्रममा गरिएको दमनप्रति खेद व्यक्त गर्दै यसको बदला लिएरै छाड्ने चेतावनी दिएका छन् । शान्तिपूर्ण जुलुशमा दमन भएको भन्दै उनले अब थप सशक्त कार्यक्रम ल्याउने बताए । तस्बिर : राधीका कँडेल

अन्तिम पटक अध्यावधिक गरिएको 156 Viewed

प्रतिक्रिया दिनुहोस्