दोहोरो भिडन्तका नाममा बिद्रोही ने.क.पा.का जिल्ला सेक्रेटरीलाई गिरफ्तार गर्न पुगेका सुरक्षाकर्मीले उनकी बहिनीको ढाड भाँचिने गरी कुटपिट गरेर अचेत अवस्थामा छाडेको तथ्य सार्वजनिक भएको छ।

बिद्रोही ने.क.पा. संखुवासभा जिल्ला इञ्चार्ज उत्तरकुमार भनिने युवराज राईलाई गिरफ्तार गर्न सदरमुकामबाट खटिएको सुरक्षाकर्मीको टोलीले संखुवासभाको चैनपुर–४ मैदानेस्थित उनको घरमा पुग्दा उनलाई नभेटेपछि बहिनि चन्द्रकला राईको ढाड भाँचिने गरी कुटपिट गरेर अचेत अवस्थामा छाडेको बिद्रोही ने.क.पा.ले जनाएको छ।

यस अघि प्रहरीले बिद्रोही ने.क.पा. संखुवासभा जिल्ला इञ्चार्ज उत्तरकुमार भनिने युवराज राईलाई गिरफ्तार गर्न सदरमुकामबाट खटिएको सुरक्षाकर्मी र बिद्रोही ने.क.पा.का कार्यकर्ताबीच संखुवासभाको चैनपुर–४ मैदानेस्थित उनको घरमा आइतबार भिडन्त भएको जनाएको थियो ।

प्रहरीका अनुसार, जिल्ला इन्चार्ज उत्तरकुमारसहितको टोली बसिरहेको घरमा सादा पोशाकका प्रहरी पुगेपछि बिद्रोही ने.क.पा.का कार्यकर्ताले पांच राउण्ड गोली प्रहार गर्दै पछाडिको ढोकाबाट जंगलतर्फ भागेको र त्यसको जवाफी फायरिंगका क्रममा प्रहरीले कम्तिमा पनि २० राउण्ड गोली हानेको प्रहरी सोतालाई उद्दृत गर्दै प्राप्त समाचारमा जनाइएको छ। प्रहरीको टोलीले उक्त घरबाट प्रहरीले विष्फोटक पदार्थ डेटोरनेटर, नियोजेल, महत्वपूर्ण दस्तावेज, मोबाइल फोनलगायत बरामद गरेको छ ।

यसैबीच, बिद्रोही ने.क.पा.का प्रवक्ता प्रकाण्डले आइतबार अबेर एक प्रेस बिज्ञप्ति जारी गरेर सङ्खुवासभामा दोहोरो भिडन्त भएको हल्ला फिँजाई सरकारले सर्वसाधारणमाथि दमन चलाएको टिप्पणी गरेका छन्। उनले आफ्नो बिज्ञप्तिमा चैनपुर नपा ४ मैदानेमा पार्टीका जिल्ला सेक्रेटरी युवराज राईको घरमा गई प्रहरी टोलीले सर्वसाधारण घरपरिवारमाथि कुटपिट गरेको र सेक्रेटरी राईकी बहिनी भएकै कारणले चन्द्रकला राईलाई कुटपिट गरी ढाड भाँचेर अचेत अवस्थामा पुर्याएको भन्दै आक्रोश पोखेका छन् ।

आफ्नो पार्टीका संखुवासभा सेक्रेटरी युवराज राईको घरमा गई उनीकी बहिनी चन्द्रकला राईलाई ढाड भाँचिने गरी कुटपीट गरेर अचेत बनाएको भन्दै उनले आफ्नो बिज्ञप्तिमा गम्भीर आपत्ती जनाएका छन् । आफूहरुको सुरक्षा निकायप्रति कुनै आक्रमणको नीति नरहेपनि परिस्थितीलाई उक्साउने, उत्तेजित बनाउने र दमन गरे ससक्त प्रतिरोध गर्ने त्यही विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘देशको वर्तमान संवेदनशील अवस्थाको गहन विश्लेषण र नयाँ नीति तर्जुमा गर्नेबारे अध्ययन भइरहेको स्थितिमा भएको यस घटनाले पार्टीलाई गम्भीर बनाएको छ । सुरक्षा निकायप्रति कुनै आक्रमणको नीति नरहेको अवस्थामा पनि परिस्थितिलाई उक्साउने, उत्तेजित बनाउने र दमन गर्ने नीति राज्यले कायम राखेमा सशक्त प्रतिरोध गरिने विषयसमेत सम्बन्धित सबैमा जानकारी गराउँछौँ ।’

यसअघि पनि संखुवासभाको सिलिङचोङ गाउँपालिकामा गस्तीमा प्रहरी र बिद्रोही ने.क.पा.का कार्यकर्ताबीच भिडन्त भएको बह्निएको थियो। संखुवासभाको केही स्थानसहित चैनपुर र सिलिङचोङ बिद्रोही ने.क.पा.को चहलपहल बढी हुने क्षेत्रहरु रहेको स्थानीय बताउछन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 520 Viewed

प्रतिक्रिया दिनुहोस्