प्रकाशचन्द्र लोहनी, नेता, राप्रपा

१० वर्ष लामो माओवादी सशस्त्र विद्रोह र २०६३/०६३ सालको जनआन्दोलनको बलमा नेपालमा २३९ वर्षदेखि शासन गदै आएको राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भयो । तर गणतन्त्र स्थापनापछिका १२ वर्षमा राजनीतिक दलका गतिविधि र शासन सत्ता सञ्चालनको पद्धतिले आम मानिसमा विद्यमान व्यवस्थाप्रति नै वितृष्णा पैदा भएको छ । १३ वर्ष नपुग्दै गणतन्त्रकै बिरुद्ध सडकमा नाराबाजी चल्न थालेका छन् । राजनीतिक दलले उपलब्धिको रूपमा परिभाषित गरेको धर्म निरपेक्षता, सङ्घीयता जस्ता विषयमा खारेजी गर्नुपर्ने माग अहिले चर्को बन्दै गएको छ । उल्लेखित विषयसँगै राजसंस्थाको पुनर्स्थापना गर्नुपर्ने माग गदै आएको राप्रपा बृहत् पार्टी एकता गरेर अघि बढेको छ । यही अवस्थामा राप्रपाकै मूल राजनीति एजेन्डालाई मलजल गर्नेगरि सडकमा नागरिक प्रदर्शन पनि चलिरहेका छन् । प्रधानमन्त्रीले गएको मङ्गलवार बोलाएको सर्वदलीय बैठकमा समेत राप्रपाका नेताहरूले खुलेरै राजसंस्था पुनर्स्थापनाको प्रस्ताव गरे । यसै सन्द्धर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता , नेपालमा राजसंस्था पुनर्स्थापनाको सम्भावना, र प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा राप्रपा नेताहरूले प्रस्तुत गरेका बिचारका सम्बन्धमा राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग गरिएको कुराकानीको सम्पादित अंश :

राष्ट्रिय प्रजातन्त्र पार्टी एकता गरेर अगाडी बढ्दै छ, यो एकता कत्तिको मजबुत देख्नु भएको छ ?

यो दरो हुन्छ जस्तो मलाई लाग्छ , किनभने सुरुमा नै हामी हलो र गाई भनेर छुटेर निस्केको हो । दुई वटा राष्ट्रिय प्रजातन्त्र पार्टी थिए । एउटा हलो एउटा गाई र त्यो विभाजन कायमै रहेको थियो । अब अहिले ३० वर्षपछि वास्तवमा हामी त पुरानो पार्टी हौँ । काँग्रेस र कम्युनिस्ट पछि तेस्रो पुरानो दल । अहिले आएर पहिलो पटक पार्टीको झन्डा गाई र चुनाव चिन्ह हलो भएर दुईवटै मर्ज भएको छ । त्यस कारण अहिले जुन एकताको आधार बनेको छ त्यो चाहिँ बलियो छ । र हाम्रो एजेन्डा र दृष्टिकोणमा कुनै भ्रम छैन । यसकारण यो एकता मजबुत एकता हुनेछ भन्ने मेरो विश्वास छ ।

पार्टीका तीन अध्यक्षमध्ये कोहीले गणतन्त्र स्विकार्ने, कोही यही व्यवस्थामा मन्त्री समेत बनेका कोही निर्विकल्प राजसंस्था भन्नेबिचको एकतालाई मजबुत मानिदिनुपर्ने आधार चाहिँ के हो र?

पार्टीमा अनेकखालका समस्याहरू आउँछन् । वैचारिक समस्याहरू पनि आउँछन् । सङ्गठनात्मक समस्याहरू पनि आउँछन् । आउँदै आउदैन् कुनै समस्या हुँदैनन् भन्ने हुँदैन । यसअघिका कुरा छाडौँ । यसपटक तीनवटै अध्यक्षबिच हाम्रा एजेन्डा र दिष्ट्रिकोणमा कुनै दुबिधा छैन । तर मलाई लाग्छ हाम्रो अहिलेसम्मको अनुभव, हाम्रो अहिलेसम्म सिकेका कुराहरू र देशको अगाडी आएका चुनौतीहरूलाई मिट गर्नका लागि अब सकारात्मक दृष्टिकोणबाट एकता भएर हामी जानुपर्छ । एकता बलियो भएर जान्छ, र त्यसमा पनि खलबलियो भने सबैको नोक्सान हुन्छ । सबै हार्छन् कसैले पनि जित्दैनन् । देश बचाउने सवालमा विद्यमान परिस्थिति र आम जनताको माग नै राप्रपा एकताको ठोस आधार हो ।

तपाईँहरूको पार्टी एकतासँगै सडकमा राजसंस्था पुनर्स्थापनाको माग चर्को बन्दैछ । के सडक प्रदर्शनको तपाईँहरूकै योजनामा भएको हो ?

त्यस्तो खास केही होइन हेर्नुहोस् । यो सडकमा जुन आवाज आइरहेको छ नि यसको मुख्य कारण अहिलेको शासन सत्ता र यसका गतिविधिको परिणाम हो । जनतामा भ्रम छरेर नयाँ नेपालको निर्माण गर्ने आश्वासन दिनेहरूले भएको देश पनि सिद्ध्याउने त्रास पैदा भएको छ अहिले । अझै म त भन्छु गएका पछिल्ला ३ वर्षमा जुन किसिमबाट अव्यवस्था, अराजकता भ्रष्ट्राचार र नेपाली जनताप्रति जुन संवेदनहीनता बढेर गएको छ त्यसले पैदा गरेको जनआक्रोश हो । राजसंस्था को पुनर्स्थापन, सर्वधर्म, सहभाव, सुशासन र सुव्यवस्था राप्रपाको एजेन्डा हो । यही एजेन्डा सही रहेछ भनेर आम जनताले बुझ्दै गएका छन् । र यही माग गदै सडकमा आम जनताको जुन प्रदर्शन भइरहेको छ । यसमा स्वभाविक रूपमा हाम्रो समर्थन त रहन्छ नै तर अहिलेको प्रदर्शनको एजेन्डा मिल्यो तर योजना हाम्रो होइन ।

पछिल्ला केही दिनदेखि सडकमा चर्किएको राजा आउँ देश बचाऊँ भन्ने नारा ठोस बिचार र ठोस नेतृत्वबिनै एजेन्डाकै रूपमा अघि बढ्ने र फेरि राजसंस्था पुनर्स्थापित हुने त देखिँदैन केही दिन चर्कने अनि सेलाउने त होला नि होइन ?

होइन, जनताको आवाजलाई यसरी नजरअन्दाज गर्न मिल्दैन । अगाडी बढ्छ यो किनभने जुन गैरकानुनी तरिकाले राजसंस्थालाई फालेर आएका शक्तिहरूले अहिले नेपाली जनतालाई धोका दिएका छन् । यो नयाँ संविधान बनेको छ । हामी यो संविधानको विरोधी होइन किनकि यो संविधानमा राम्रा कुराहरुपनि त छन् । जनतालाई दिने अधिकारका कुराहरू छन् जुन २०४७ सालकै संविधानमा थियो धेरै कुराहरू त्यही नै छन् । संविधानले जनताको अधिकार हस्तान्तरण तलसम्म गरेको छ । यी राम्रा कुराहरू हुन् । गाउँपालिकालाई करोडौँको बजेट दिएर लौ काम गर भनेको छ । यसर्थ हामी यो संविधान भत्काउने वा संविधानको विपक्षमा छैनौ । तर संविधानलाई अझै बलियो बनाउने गरि संविधानमा केही संशोधन जरुरी छ भन्ने हाम्रो कुरा हो । खासगरि दुई ओटा मुख्य कुरा संवैधानिक राजसंस्थाको पुनर्स्थापना र नेपालको पहिचान हिन्दु राष्ट्र कायम गर्नु पर्छ जसले संविधान झन् बलियो हुन्छ । हिजो राजालाई जसरी हटाइयो यो तरिका अवैधानिक थियो । होला शासन सञ्चालन गर्ने विधि र पद्धतिमा तत्कालीन राजा ज्ञानेन्द्रबाट पनि केही कमजोरी अवश्य भएका हुन सक्छन् । तर पनि राजाले यसलाई सहर्ष स्वीकार गदै जुन शालीन तरिकाले गए, पत्रकार सम्मेलन गरेर तपाईँहरूको नासो तपाईँहरूलाई दिएको छु भनेर हात हल्लाएर मोटरमा बसेर जङ्गलमा गए नि त । सायद संसार को इतिहासमा कहीँ पनि यस्तो घटना छैन जसरी देश र जनताको आवश्यकता हो भने म सहर्ष राज्यको शासन सत्ता त्याग गर्न तयार छु भनेको । १४ वर्ष भयो राजा सामान्य नागरिक सरह बस्न थालेको । यो बिचमा न कहिल्यै नयाँ व्यवस्थालाई असहयोग गर्ने गरि उभिए । न त देश छाडेर न हिँडे । सामान्य नागरिक सरह आफ्नै देशमा बसेर खालि नेपालको अखण्डता र नेपालको सुरक्षा, नेपाली जनताको हित, राम्रो होस् भन्ने कामना गरिरहेका छन् । यसले जनताले बुझेकी नेपालबाट राजसंस्था हटाएर अहिले जुन खालको शासन सञ्चालन भइरहेको छ । यो देश र जनताका हितमा रहेनछ । राजसंस्था चाहिँदो रहेछ नेपालमा । हो शासन गर्ने जनताले नै हो तर तपाई जातीय विविधता भन्नुहोस्, भौगोलिक विविधता भन्नुहोस्,यसलाई एउटा एकताको सूत्रमा बाँधेर नैतिक बलको रूपमा राजसंस्था चाहिँदो रहिछ भन्ने जनताको मनमा पर्दै गएको छ । त्यसको अभिव्यक्ति अहिले सडकमा निस्कियो । जुन नागरिक समाजको रूपबाट निस्कियो, नागरिक समाजको रूपमा विभिन्न संघसंगठनले बाहिर निकाले यो झन् चर्केर जाने अवस्था छ । तपाईँले भनेजस्तै सेलाउने मैले देख्दिन ।

जनताको आन्दोलन र बलिदानका कारण नेपालबाट अन्त्य भएको राजसंस्था तपाईँले भनेझैँ सजिलै पुनर्स्थापना हुने देख्नुहुन्छ ? के फेरि ज्ञानेन्द्र शाह यो देशको राजा बन्न सक्छन् ?

वास्तवमा सबै शक्तिलाई मिलाएर देशलाई एउटा स्थायित्व दिने हो भने त्यही नै अहिलेको एउटा अनिवार्य विकल्प हो । यदि यो नभए देशमा एक थप अराजकता बढेर जानेछ । तपाई नै हेर्नुहोस् अहिले सम्मानित राष्ट्रपतिज्यू हुनुहुन्छ । हामी त्यो पदलाई सम्मान गर्छौ । तर राष्ट्रपति एउटा पार्टीको क्यापचरमा हुनुहुन्छ । पार्टीमा पनि एउटा गुटको क्यापचरमा हुनुहुन्छ । गुटभित्र पनि एउटा उपगुटको स्वार्थ पूर्ति गर्ने यन्त्रको रूपमा राष्ट्रपति पद प्रयोग भइरहेको छ । जब संवैधानिक संस्थाहरू नै त्यसरी बिग्रेर जान थाल्छन् त्यो बेला देश जोगिन्छ भन्ने ठान्नु भएको छ । जुन परिदृश्य हामीले गएका १२ १४ वर्षमा देखेका छौ नि यसले यही कुराको सङ्केत गर्छ । अझै पछिल्ला तीन वर्षको शासन सत्ता सञ्चालनको तरिकाले त यो देशमा राजसंस्था अपरिहार्य रहेछ भन्ने जनतालाई लागिसकेको छ । यो मेरो कुरा मात्रै होइन आम जनताले पनि अब यो अराजकता सहन सक्छन् जस्तो मलाई लाग्दैन ।

कुनै दल, वा खास नेताको अकर्मण्यता पुरै व्यवस्था माथि नै प्रश्न उठाउने र परिवर्तन गर्ने कुरा सम्भव हुन्छ ?

होइन हामीले भनेको यो पुरै व्यवस्था परिवर्तन होइन ?, त्यो त हेड अफ स्टेटको संशोधन कुरा गरिरहेका छौ । नेपालको पहिचान हिन्दु राष्ट्र हुनुपर्छ भन्दा संविधान यो व्यवस्था पुरै खत्तम हुने भन्ने पनि हुन्छ र ? संविधान भन्या त्यही एउटै दफा मात्रै हो ? होइन नि , यो सँगै नेपालको एकतालाई जोगाइराख्न , हिमाल, पहाड, तराई सबै ठाउँका जनतालाई मनोवैज्ञानिक सुरक्षा दिनको लागि पनि एउटा निष्पक्ष संस्थाको रूपमा राजसंस्था यो देशको लागि आवश्यक छ । जुन विद्यमान संविधानलाई संशोधनमार्फत व्यवस्था गर्न सकिन्छ । यही संविधान अन्तर्गत नै धर्म सापेक्षता गर्न सक्छौ । नेपालको पहिचान १ सय ८० करोड मानिसको लागि तीर्थस्थल हुनसक्ने ठाउँ हो । त्यो पहिचानलाई किन गुमाउने ? त्यो राखेर संविधान बलियो हुन्छ कि कमजोर हुन्छ ? अहिलेको यही संविधानलाई बलियो गर्ने पनि यी दुईवटा संशोधन गर्नुपर्छ हामीले भनेका छौ । संविधानमा दिएका अधिकारहरूलाई व्यवहारिक रूपमा सबैलाई समेटेर कोही पनि बाहिर नपरोस् भन्ने महसुस गराउनका लागी पनि सबैलाई समेटेर लैजान जरुरी छ । र-हो कुनै दल वा नेताको अकर्मण्यताका कारण पुरै व्यवस्था परिवर्तन गर्न मिल्छ भन्ने कुरा ? यसमा पनि हामी स्पष्ट हुन जरुरी छ की विद्यमान व्यवस्था र त्यो व्यवस्था अन्र्तगत शासन सत्ता सञ्चालनको नेतृत्व गर्नेहरूबाट जनताका अपेक्षा पुरा हुदैनन । भ्रष्टाचार र अराजकता बढेर जान्छ । देशको अस्तित्व नै सङ्कटमा पार्ने खालका गतिविधि हुन्छन् भने स्वभाविक रूपमा जनताले प्रश्न उठाउने अधिकार राख्छन् ।

यो अवस्थामा राप्रपाले देखाउन खोजेको अबको राजनीतिक बाटो के हो ?

हाम्रो अबको राजनीतिक बाटो भनेको हामीले जुन एजेन्डाहरू लिएका छौ । त्यो एजेन्डाहरूलाई हामी जनतामा लैजान्छौ । त्यो लैजानको लागि पार्टीलाई एक ढिक्का बनाउन प¥र्यो । पार्टी सङ्गठन गर्नको लागि हामी महाधिवेशनमा जान्छौ । महाधिवेशनको माध्यमद्वारा वडा तहसम्म पार्टीका इकाईहरू बन्ने छन् । त्यसको साथसाथै जनताका समस्याहरू बारे आन्दोलन गर्न पनि जान्छौ । र हाम्रा आधारभूत मागहरू नेपालमा संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र नेपालको पहिचान सर्वधर्म समाभाव सनातन धर्म नेपालको पहिचान हुनुपर्छ भन्ने यो मागलाई हामी लिएर जनतामा जान्छौ ।

तपाईँको यो एजेन्डा त २०६२ –६३ सालको जनआन्दोलनले असफल बनाइसकेको होइन र ?

२०६२ –६३ सालको जनआन्दोलनले असफल भएको भएको भन्न मिल्दैन । कसैको लहडमा जे मन लाग्यो त्यही गर्न पाइन्छ । यत्रो निर्णय लिने बेला जनताको मत बुझ्नु पदैंन । जनआन्दोलनले हाम्रो एजेन्डा असफल बनाएको भन्नेहरूले धेरै पदैंन संविधान बनाउने बेला नेपाल धर्म निरपेक्ष बनाउने की हिन्दु राष्ट्र भन्ने विषयमा तयार पारेका दुई लाख प्रश्नावली खोलेर हेर्ने आँट गरुन् । जनताको राय बुझ्ने हिम्मत गरुन् । संविधान बनाउने बेलामा जनताले के चाहन्छ त भनेर राय बुझ्ने भनेको होइन ? संविधानमै केही विषयमा जनमत लिन सक्ने भनेको छ नि त । हामीले अघि सारेका एजेन्डाले संविधानलाई नै बिर्गाछ, संबिधानलाई नै भत्काउँछ भन्ने उहाँहरूलाई लागेको छ भने जनमतमा जाऊ न त जनताले के भन्दा रहेछन् ।

तपाईँहरूलाई चुनावमा भाग लिने र जनताको मत लिने अधिकार छ त । तर तपाईँको एजेन्डामा जनताले विश्वास गरेको त गएको निर्वाचनको नतिजाले देखाएन त ?

तपाईँले भनेको ठिक छ । त्यो बेलामा हामीले हाम्रो एजेन्डाहरू स्पष्ट रूपमा प्रस्तुत गर्न सकेनौ । सायद मानिसहरुलाई यो कल्पना थियो होला कि स्थायी सरकार आएपछि ५ वर्ष ढुक्कले जनअपेक्षा पुरा हुने गरि काम गर्नेछ । यही कारण गएका निर्वाचनको नतिजा हाम्रो पक्षमा आएन । तर, ३ बर्षको जुन अवस्था देखियो जनताले बुझिसक्या छन् । अहिलेको जनता भनेको धेरै पर्खनेवाला छैनन् । २०४६ सालमा गिरिजाबाबु प्रधानमन्त्री हुनुभयो, त्यो बेला सत्तामा राम्रोसँग आउनुभएको होइन ?, त्यो बेलामा उहाँ त बहुमत नै लिएर आएको हो नि । तर त्यो बेलामा २–३ वर्ष काम गर्न नसक्दा माओवादीको जन्म भयो । त्यसैले यो तिन वर्षसम्म पाचबर्षसम्मका लागि उहाँहरूलाई दिएको अधिकार समयमा राम्रोसँग काम गर्लान् अब यिनीहरूलाई त स्थायी सरकार लुट्ने काम हाम्रो भयो जति लुटे पनि हुन्छ भन्ने मनस्थिति आयो नि त अहिले त्यहीकारण जनता आन्दोलित छन् । अब जनताले बुझिसकेका छन् यो देशमा अभिभावकको रूपमा राजसंस्था अपरिहार्य छ । सर्वधर्म सहभावसहितको हिन्दु राज्य नै नेपाल सबै जाति धर्म र भूगोललाई एकढिक्का बनाउने सूत्र को काम गर्नेछ । हाम्रो एजेन्डा यही हो जुन अहिले सडकमा नागरिक आवाजको रूपमा देखिएको छ ।

यसको अर्थ आगामी चुनावमा राप्रपाले नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी दुवै शक्तिलाई धक्का दिने गरि आउने सम्भावना छ ?

हो, अहिलेको यो विषम परिस्थितिमा राप्रपाले यी दुई वटै शक्तिलाई धक्का दिनेसरि आउनु नै जनताप्रतिको इमानदार राजनीति हो भन्ने बुझेर अहिले बृहत् पार्टी एकता भएको छ । अहिले नेकपाको बहुमतको सरकार जसले तीन वर्ष पुरा गरेको छ । यसबारे मैले केही बोल्न परेन । किनकि, नेकपा नेतृत्व सरकार आफै जनताबाट नाङ्गिएको अवस्था छ । प्रतिपक्ष काँग्रेसको भूमिका पनि देखेकै छौ । यस्तो अवस्थामा अब राप्रपाले बिग्रेको पार्टीलाई औला ठडाउने जिम्मेवारी अब राप्रपामाथि छ । यो परिस्थितिलाई हामीले बुझेका छौं । पार्टी एकता आगामी राजनीतिक यात्राको पहिलो खुड्किला हो कार्यभारलाई आत्मसाथ गरेर अघि बढेका छौ । यो राष्ट्रलाई गति दिने र आम जनताको अपेक्षा पुरा गर्न राप्रपाले आगामी चुनावमा ती दुवै शक्तिलाई धक्का दिने कुरामा दुई मत छैन । साभार tvannapurna.com

अन्तिम पटक अध्यावधिक गरिएको 112 Viewed

प्रतिक्रिया दिनुहोस्