सल्यान – बनगाडकुपिण्डे नगरपालिका ९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाइ बहुविवाह मुद्दामा पक्राउ परेका छन् । तीनवटा विवाह गर्ने वडाध्यक्ष कुमाइलाई प्रहरीले शुक्रबार साँझ कान्छी श्रीमतीसँगै पक्राउ गरेको हो ।

यसअघि दुईवटा विवाह गरेका कुमाइले अर्काकी श्रीमती भगाएका थिए ।

वडाध्यक्ष कुमाइले तेस्रो श्रीमतिका पूर्व पति नोखिरामलाई जारीसमेत तिरिसकेका छन्। गाउँमा अहिले पनि अर्काकी श्रीमतीलाई विवाह गरेको खण्डमा जारी तिर्ने प्रचलन छ। कुमाइले घटनालाई लुकाउन पूर्वपतिलाई जारी स्वरुप तीन लाख ८० हजार र ऋण तिर्नको लागि तीन लाख ९५ हजार गरी कुल सात लाख ७६ हजार तिरिसकेका छन्।

तर वडाध्यक्षले घरमा दुई वटी श्रीमती हुँदाहुँदै तेस्रो बिहे गरेको भन्दै केही स्थानीयले प्रहरी कार्यालयमा बहुविवाह गरेको कसुरमा उजुरी दिएका थिए।

स्थानीबासीले बहुविवाह गरेको भन्दै उजुरी दिएपछि प्रहरीले जयतपानी बजारबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी गोविन्द थापाले जिल्ला अदालतको पक्राउ आदेशबाट कान्छी श्रीमती भनिएकी ग्वामी बिष्टसहित पक्राउ गरिएको बताए ।

वडाध्यक्ष कुमाइले तिहारको दिन बिष्टलाई भगाएका थिए । उनले बिष्टका श्रीमानलाई ३ लाख ८० हजार रुपैयाँ जारी बुझाएर घटना साम्य पार्ने कोशिससमेत गरेका थिए ।

उनका यसअघिकी दुईवटी श्रीमतीबाट दुईदुईजना गरी चारजना सन्तान रहेका छन् ।जसमध्ये कान्छा छोराको बाहेक सबैको विवाह भइसकेको छ। जारी र बहुविवाह घटनाबारे अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।बहुविवाह गर्ने दुबै जना ४५ वर्ष काटिसकेका छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 57 Viewed

प्रतिक्रिया दिनुहोस्