काठमाडौँ —एकदिने नेपाल भ्रमणका लागि चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङहे आइतबार बिहान काठमाडौं आइपुगेका छन् । यो भ्रमण झन्डै एक वर्षपछि चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको हो ।उनलाई गृहमन्त्री रामबहादुर थापा बादलले विमानस्थलमा स्वागत गरेका छन ।

नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठको अवसर पारेर उनी नेपाल आएका हुन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१९ को अक्टोबर (१२–१३) मा नेपालको भ्रमण गरेयता कुनै पनि उच्च चिनियाँ अधिकारी नेपाल आएका थिएनन् । रक्षामन्त्री वेई राष्ट्रपति सीका नजिकका पात्र मानिन्छन् ।

वेई सुरुमा चिनियाँ राजदूतावासमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । सैनिक स्रोतका अनुसार त्यसपछि करिब २ बजे उनी सैनिक मुख्यालय जंगी अड्डामा पुग्नेछन् जहाँ उनलाई नेपाली सेनाले ‘गार्ड अफ अनर’ले सम्मान गर्नेछ ।

त्यसपछि वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । जंगी अड्डाको भेटघाट सकिएपछि वेई प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपक्षीय भेटवार्ता गरेपछि वेई राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । त्यहाँबाट उनी सीधै त्रिभुवन विमानस्थल जानेछन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 272 Viewed

प्रतिक्रिया दिनुहोस्