मोहन वैद्य‘किरण’

(मोहन वैद्य‘किरण’ नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको शिखर व्यक्तित्व हुनुहुन्छ । विचार, राजनीति, संगठन र संघर्षको क्षेत्रमा सँधै क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्दै आउनु भएका कमरेड किरण नेकपा (क्रान्तिकारी माओवादी)को महासचिव हुनुहुन्छ । वर्तमान सत्ता, व्यवस्था र संविधानका विरुद्धमा ‘संघीय जनगणतन्त्रमा आधारित देशभक्त र जनतान्त्रिक शक्तिहरुको सरकार’को वैकल्पिक नारा अगाडि सार्दै आएको क्रान्तिकारी माओवादीका महासचिव कमरेड किरणसँग राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायत समसामयिक विषयमा वर्गदृष्टि साप्ताहिक तथा मूलबाटो डटकमका लागि सम्पादक इन्द्र राउतले लिएको लिखित अन्तर्वार्तालाई यहाँ प्रस्तुत गरिएको हो । –स.)

राष्ट्रिय स्वाधीनतासम्बन्धी
१– नेकपा (क्रान्तिकारी माओवादी)ले आफ्नो राजनीतिक दस्तावेजमा नेपाली समाज अर्धसामन्ती, अर्ध औपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थामा रहेको विश्लेषण गरेको छ । संक्षिप्तमा यो विश्लेषणलाई आधारसहित प्रष्ट पारिदिनुस् न ।

–हो, हामीले पार्टीका दस्तावेजहरुमा नेपालको सामाजिक–आर्थिक अवस्थालाई अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थाका रुपमा विश्लेषण गर्दै आएका छौं । नेपाल अर्धसामन्ती अवस्थामा रहिआएको छ, किनभने यहाँ पुरै सामन्तवाद होइन पुँजीवादको पनि केही विकास भएको छ । तर त्यो राष्ट्रिय पुँजीवाद नभई दलाल तथा नोकरशाही पुँजीवादमा आधारित छ । यहाँ पुरानै प्रकारको सामन्ती भूस्वामित्व, कुत प्रणाली, अधिया बटैया प्रथा, सानो किसानी खेती, निर्वाहमुखी अर्थतन्त्र लगायतका कैयौं विशेषता पाइन्छन् । यो अर्धऔपनिवेशिक अवस्थामा पनि छ, किनभने पहिले ब्रिटिश साम्राज्यवाद र पछि भारतीय विस्तारवादद्वारा गरिएको गोर्खा भर्तिकेन्द्र, सन् १९५० लगायतका कैयौं असमान सन्धि सम्झौताहरु कायमै छन् । यहाँको शासकवर्गले वैदेशिक प्रतिक्रियावादसित साँठगाँठ गरेर विभिन्न ढंगले नेपालको स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको विकासमा गम्भिर अवरोध पु¥याउँदै आएको छ । त्यत्ति मात्र होइन, नेपाल साम्राज्यवाद र भारतीय विस्तारवादको ठाडो उपनिवेश त होइन, परन्तु दोस्रो विश्वयुद्ध पश्चात् नवऔपनिवेशिक अवस्थामा रहिआएको छ । यहाँको दलाल, नोकरशाही पुँजीपति र सामन्तवर्गले वैदेशिक प्रतिक्रियावादको एजेण्ट भएर र उनीहरुको कठ्पुतली सरकार बनेर आर्थिक, सामाजिक, राजनीतिक, सामरिक तथा सांस्कृतिक रुपमा नेपाललाई शोषण, उत्पीडन गर्न दिइरहेको छ । यी सबै आधारमा हामीले नेपाल अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थामा रहेको भनेर विश्लेषण गरेका हौं ।

२– नेपालको राष्ट्रिय स्वाधीनताको वर्तमान स्थितिलाई हेर्दा चुनौती र सम्भावनालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
नेपालको राष्ट्रिय स्वाधीनताको प्रश्नमा यो बेला चुनौती र सम्भावना दुवै छन् । देश अझै अर्ध तथा नवऔपनिवेशिक अवस्थामा रहनु, लिम्पियाधुरा, कालापानी तथा लिपुलेक, सुस्ता लगायतका भूभाग भारतीय विस्तारवादद्वारा कब्जा गरिनु, देशको स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको विकासमा तमाम अवरोध खडा गरिनु र राज्यसत्तामा विदेशीहरुको दलाली गर्ने कठ्पुतली सरकार भैरहनु– यी सबै राष्ट्रिय स्वाधीनताको प्रश्न चुनौती हुन् । अहिले फेरि अर्को चुनौतीका रुपमा एमसीसी सम्झौताको विषय खडा हुन गइरहेको छ । परन्तु, अर्कोतिर राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्नमा नयाँ सम्भावना वा सकारात्मक पक्ष पनि कायमै रहिआएको छन् । नेपाली जनता ब्रिटिश साम्राज्यवादका विरुद्धको संघर्षदेखि अहिलेसम्म पनि देशको राष्ट्रिय स्वाधीनताको प्रश्नमा त्याग, वीरता, र बलिदानका कीर्तिमान कायम गर्दै दृढरुपमा उभिदै आएको छ । नेपालमा राष्ट्रिय स्वाधीनताको आन्दोलनको जग पनि बलियो नै छ । देशको राष्ट्रिय स्वाधीनताका निम्ति तमाम देशभक्त शक्ति र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको उपस्थिति पनि यहाँ प्रबल नै छ । यसरी हेर्दा देशको राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ति गम्भिर प्रकारका चुनौती हुँदाहुँदै पनि तिनको दृढतापूर्वक सामना गर्दै आगडि बढ्न सकिने सम्भावना विद्यमान छन् ।

३– नेपालमा मूलतः कम्युनिस्ट पार्टीहरुले पार्टीको स्थापनाकालदेखि नै राष्ट्रिय स्वाधीनताको मुद्दा प्रमुखताका साथ उठाउँदै आएका छन् । आजसम्म यो मुद्दा सुल्झिनुभन्दा अझ बल्झिदै जानुमा के कस्ता कारणहरु देख्नुहुन्छ ?
–यसका पछाडि मूलतः तीनवटा कारण रहेका छन् । पहिलो, यहाँ समय समयमा विभिन्न आन्दोलन हुँदै आए पनि सत्तामा दलाल तथा नोकरशाही पुँजीपति र सामन्तवर्ग कायमै रहिआएका छन् । दोस्रो, राष्ट्रिय स्वाधीनताको पक्षमा आन्दोलन गर्दै आएका कम्युनिस्टहरुको एउटा हिस्साको दलालीकरण तथा प्रतिक्रियावादीकरण हुन पुगेको छ । सत्ता र सरकारमा आसिन दलाल कम्युनिस्टहरुको हालत हामीले देख्दै र भोग्दै आएका छौं । तेस्रो, सच्चा कम्युनिस्ट क्रान्तिकारीरुबाट पनि राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई प्रभावकारी ढंगले अगाडि बढाउने काममा कतिपय सीमा तथा कमजोरी रहिआएका छन् ।

४– हिजो सडकमा वा संघर्षमा हुँदा तपाईहरुसँगै राष्ट्रिय स्वाधीनताका ठूल्ठूला कुरा गर्ने पार्टी तथा नेताहरु अहिले सरकारको नेतृत्वमा छन्, अहिले पनि आफूलाई कम्युनिस्ट भएको दावी गर्छन् तर एकातिर एमसीसी जस्तो राष्ट्रघाती सम्झौता सदनबाट पास गर्न मरिहत्ते गरेर लागिपरेका छन् अर्कोतिर तपाईहरुकै सडक आन्दोलनको दबाबमा लिम्पियाधुरासहितको नक्सा जारी गरेको चार महिना वितिसक्दा पनि अतिक्रमित भूमि फिर्ताका लागि न सरकारले ठोस पहल गर्छ न नक्सा अनुसारको नेपालको क्षेत्रफल नै सार्वजनिक गर्छ । ओली सरकार र डबल नेकपाको यो रवैयालाई क्रान्तिकारी माओवादीले कसरी मूल्यांकन गरेको छ ?
–ओली सरकारले ढिलै भए पनि लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई समावेश गरी जुन नयाँ नक्सा सार्वजनिक ग¥यो, त्यसलाई हाम्रो पार्टीले सकारात्मक नै बताएको छ । तर, देशभक्त भएर ओलीले त्यसो गरेका होइनन् । त्यो उनले देशभक्त नेपाली जनता, बुद्धिजीवी, हाम्रो पार्टीले नक्साको विषयलाई लिएर चलाएको संघर्ष, अन्य देशभक्त तथा वामपन्थी राजनीतिक पार्टीहरुको पनि संयुक्त संघर्ष, डबल नेकपाभित्रका कैयौ देशभक्तहरुको प्रयास– यी सबैको दबाबको कारण उनी त्यसो गर्न बाध्य भएका हुन् । यदि ओलीले साँच्चै देशभक्तिपूर्ण भावनाले त्यसो गरेका हुन्थे भने खोई त अहिलेसम्म पनि सो भूमि फिर्ता गर्नका लागि गरेको ठोस र प्रभावकारी पहल ? ओठें कुटनीतिको भरमा लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता हुने सम्भावना देखिदैन र त्यस निम्ति ठूलो संघर्षको आवश्यकता पैदा भएको छ । अनि त्यसैगरी यदि ओली देशभक्त हुुन् भने उनले किन एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पारित गराउन र अमेरिकी साम्राज्यवादको भरपर्दो दलाल बन्नका लागि मरिहत्ते गरेका छन् ? प्रश्न निकै गम्भिर छ । नेपालीि भूमि फिर्ता गराउने र एमसीसी सम्झौता हुबहु पास हुन नदिने पक्षमा डबल नेकपाभित्रका कतिपय साथीहरुले हिजो जुन भूमिका खेलेका थिए, त्यो केही समययता शिथिल बन्दै गएको देखिन्छ । डबल नेकपामा केही राम्रा नेता कार्यकर्ता भए पनि समग्रमा त्यस पार्टीको प्रतिक्रियावादी र दलालीकरण भइसकेको छ ।

५– कुनैपनि हालतमा अतिक्रमित भूमि नेपाललाई फिर्ता नगर्ने खुल्लम खुल्ला दावी गरिरहेको भारत र एमसीसी सम्झौता हुबहु सदनबाट पास गर्नुपर्छ भनेर दबाब दिइरहेको अमेरिका । नेपालको सरकार नै ती शक्ति राष्ट्रको दलालीमा लागेको बेला यी दुवैको हस्तक्षेप र अतिक्रमणबाट नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा कसरी गर्न सकिन्छ ?
–स्थिति जटिल छ । तर दुवै देशको हस्तक्षेप र अतिक्रमणबाट देशको राष्ट्रिय स्वाधीनताको रक्षा सशक्त र प्रभावकारी संयुक्त देशभक्तिपूर्ण आन्दोलनका बीचबाटै गर्न सकिन्छ र गर्नु पर्दछ । यस दिशाामा हाम्रो पार्टीको सक्दो पहल र प्रयास गर्दै आएको छ । अझै गर्दै जानु पर्दछ ।

६– क्रान्तिकारी माओवादी लगायत ११ दलको आन्दोलन, अन्य नागरिक समाज तथा अभियन्ताहरुको दबाबका कारण जारी भएको लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा अनुसारको भूमि कायम गराउन र एमसीसी सम्झौता खारेजीका लागि के फेरि आन्दोलन चर्काउनु हुन्छ ? सम्पूर्ण देशभक्त तथा क्रान्तिकारी शक्ति र व्यक्तिहरु यो मुद्दामा एक भएर सडक आन्दोलन उठान गर्ने सम्भावना चाहि कस्तो देख्नुहुन्छ ?
हो, आन्दोलन चर्काउनै पर्छ । आन्दोलनको अभावमा लिम्पियाधुरासहितको भूभाग फर्काउन सकिन्न । सम्भावना राम्रो छ । भारतीय अतिक्रमणबाट नेपाली भूभाग फर्काउने प्रश्नमा देशभक्त नेपाली जनता र स्वाधीनताप्रेमी राजनीतिक शक्तिहरु एकढिक्का हुने कुरामा हामी विश्वस्त छौं । यद्यपि एमसीसी खारेज गर्ने प्रश्नमा राजनीतिक शक्तिहरुका बीचमा विभिन्नता देखा पर्दै आएको छ । तर कतिपय पक्षसित आवश्यक छलफल बढाउँदै जान जरुरी छ । एमसीसी पारित गराउन कसरत गर्ने राजनीतिक शक्तिहरु निश्चित रुपमा राष्ट्रघाती तत्व हुन् । तिनको दृढतापूर्वक विरोध गर्नु पर्दछ ।

७– विश्व भूमण्डलीकरण तथा विश्वव्यापीकरणको अहिलेको अवस्थामा विभिन्न देशहरुबीच अन्तरनिर्भरता र अन्तरसम्बन्ध प्रदान बनेर गएको हुँदा साम्राज्यवाद र उत्पीडित राष्ट्रहरुबीचको अन्तरविरोधको मुद्दा गौण र औचित्यहीन बन्न पुगेको पनि कतिपयले तर्क गर्ने गरेका छन् नि ? यसलाई के भन्नुहुन्छ ?
–हो, यो कुरा कतिपय सन्दर्भमा प्रतिक्रियावादी र मुख्यतः अवसरवादी कोणबाट उठ्दै आएको पनि पाइन्छ । परन्तु, यसलाई वास्तविक जीवनमा व्यवहारले नै खण्डन गरिदिएको छ । आ–आफ्नो प्रभुत्व र हैकम बढाउनका लागि साम्राज्यवादी एवम् शक्ति राष्ट्रहरुका बीच चर्कदै गएका छिनाझपटी र व्यापारयुद्धको विभिन्न मुलुकहरुका बीचको अन्तरसम्बन्ध र अन्तरनिर्भरता प्रधान बन्न गएको भन्ने कुरा नितान्त गतल साबित गरिदिएको छ । त्यसैगरी साम्राज्यवाद र उत्पीडित राष्ट्रहरुका बीचको अन्तरविरोध गौण र औचित्यहीन बन्न गएको छ भन्ने कुरा पनि त्यत्तिकै गलत हो । पहिलो कुरा, दोस्रो विश्वयुद्ध पश्चात् साम्राज्यवाद र उत्पीडित राष्ट्रहरुका बीच अन्तरविरोध अन्तर्राष्ट्रिय क्षेत्रको प्रधान अन्तरविरोध बन्न गएको कुरा क्रान्तिकारी पंक्तिमा प्रायशः सबैले स्वीकार गर्दै आएको विषय हो । दोस्रो, सन् १९८० को दशकयता साम्राज्यवादी नवउदारवादको हैकम बढ्दै आएको छ र त्यसको मुख्य विशेषता दक्षिणी गोलाद्र्धका देशहरु अर्थात् एशिया, अफ्रिका र दक्षिण अमेरिकाका उत्पीडित मुलुकहरुमा प्रभुत्व जमाउनु, बहुराष्ट्रिय कम्पनीहरुमार्फत् पुँजी लगानीलाई तीब्र बनाएर लाग्नु र उत्पीडित मुलुकहरुको श्रम शक्तिको शोषण गरेर अत्याधिक मुनाफा कुम्ल्याउनु हो । साम्राज्यवादी देशहरुको यस प्रकारको शोषण उत्पीडनका विरुद्ध उत्पीडित मुलुकहरुले लगातार संघर्ष गर्दै आएका छन् । निश्चित ठाउँहरुमा क्षेत्रीय युद्ध चर्कदै आएका छन् । खाडी क्षेत्र त यस्ता युद्धको केन्द्र बन्दै आएको छ । डोनाल्ड ट्रम्पको शासनकालमा साम्राज्यवाद र उत्पीडित राष्ट्रहरुका बीचको अन्तर्विरोध अझ चर्कदै गएको छ ।

८– भूपरिवेष्ठित मुलुक, बढ्दो भू–राजनीतिक दाउपेच, त्रिपक्षीय शक्ति राष्ट्रहरुको स्वार्थपूर्ण बढ्दो टकराब, शक्ति राष्ट्रहरुकै कठ्पुतलीमा परिणत हुन पुगेको नेपालको राज्यव्यवस्था, दलाल शासकहरु आदि प्रतिकूलताबीच नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्न के के हुन र गरिन जरुरी छ ?
– यहाँले उठाउनु भएको विषय निकै महत्वपूर्ण छ । हो, यहाँ राष्ट्रिय स्वाधीनताको रक्षाका निम्ति प्रतिकूलता अवश्य नै छन् । परन्तु, हामीले आफ्ना नीति, कार्यक्रम र व्यवहारबाट देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि विशेष गम्भिरताका साथ विभिन्न पहलहरु गर्न जरुरी छ । सबैभन्दा पहिलो कुरा त हामी नेपालीहरुमा देशभक्तिको भावना पहिलेभन्दा कैयौ गुणा बढी हुनु प¥यो । दोस्रो कुरा, हामी कुनै पनि सैन्य गुट– ठोस रुपमा भन्नु पर्दा अहिलेको एमसीसी जस्ता राष्ट्रघाती सम्झौता गरेर सामेल हुनु भएन र त्यसो गर्न गइरहेका दलाल तथा कठ्पुतली तत्वहरुको जोडदार विरोध र भण्डाफोर गर्नु प¥यो । तेस्रो, हामीले पञ्चशीलको मान्यताका आधारमा स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्न र त्यसलाई मुखले मात्र होइन व्यवहारले कार्यान्वयनमा लग्नु प¥यो । चौथो, हामीले हाम्रो देशमा जुन जुन देशले गिद्दे दृष्टि लगाउँदै आएका छन्, तिनको नै विरोध गर्ने कामलाई प्रधानता दिनु प¥यो र त्रिपक्षीय मुलुकलाई समानान्तर ढंगले प्रहार गर्नु भएन । पाँचौ, देशको राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सबै देशभक्त शक्तिहरुसित बृहत् कार्यगत एकता वा संयुक्त मोर्चा बनाउन र संयुक्त संघर्षको आँधिबेहरी सृष्टि गर्न अथक परिश्रम गर्नुप¥यो । र, छैठौं, यी सबै काममा हाम्रो पार्टीले आफ्नो पहलकदमीलाई विशेष गम्भिरताका साथ बढाएर लग्नु प¥यो ।

जनतन्त्रसम्बन्धी
९– नेपालका कम्युनिस्टहरुले ‘जनतन्त्र’, ‘जनवाद’, ‘जनताको जनवाद’, ‘नयाँ जनवाद’, ‘बहुदलीय जनवाद’, ‘२१ औं शताब्दीको जनवाद’ ‘गणतन्त्र’ वा ‘जनगणतन्त्र’ आदि जस्ता राजनीतिक शब्दावलीहरुको प्रयोग गर्दै आएका छन् । यी शब्दहरुको प्रयोगले जनसर्वसाधारणमा भ्रमहरु पनि सिर्जना गरेको छ । यी शब्दहरुको प्रयोगको आवश्यकता, अर्थ र महत्वलाई जनसर्वसाधारणले बुझ्ने गरी स्पष्ट पारिदिनुस् न ।
–यो प्रश्न पनि धेरै नै महत्वपूर्ण छ । यस प्रश्नमा हामीकहाँ भ्रम उत्पन्न हुनुमा मूलतः दुईओटा कारणले काम गरेको छ । पहिलो कुरा जनतन्त्र, जनवाद, प्रजातन्त्र र लोकतन्त्र जस्ता प्रचलित शब्दको कुरा गरौं । यी सबै शब्द समानार्थी शब्द हुन् । अंग्रेजी भाषामा यी सबैलाई बुझाउने एउटै मात्र शब्द छ, त्यो हो– डेमोक्रेसी । नेपालमा लामो समयसम्म प्रजातन्त्र शब्दको प्रचलन रहिआयो । यहाँ निरंकुश वा संवैधानिक राजतन्त्र भएको स्थितिमा प्रजातन्त्र शब्दको प्रयोग गरियो । गणतन्त्र आएपछि लोकतन्त्र शब्द नै प्रचलनमा आएको छ र यसै लोकतन्त्रसित गणतन्त्र पनि जोडिएको छ । राजा नभएको लोकतन्त्रसित गणतन्त्र जोडिएर आउँछ । अर्कोकुरा, जनतन्त्र, जनवाद, लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र– यी सबै पदावली शोषक र शोषित, उत्पीडक र उत्पीडित सबै वर्गका साझा पदावली हुन् । यहाँ वर्ग संघर्षहरु होइन, वर्ग समन्वय देखिन्छ । निरंकुश तन्त्रका विरुद्ध संघर्ष गर्दा जस्तो कि राणातन्त्र र राजतन्त्रका विरुद्ध लड्दा कैयौं अवस्थामा नेपालमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टी दुवै पक्षका लागि साझा पदावलीका रुपमा पनि उक्त शब्दहरुको प्रयोग हुँदै आयो । तेस्रो कुरा, जनताको जनवाद, नयाँ जनवाद र जनगणतन्त्र– यी समानार्थी पदावलीहरु हुन् । यस प्रकारका पदावलीहरुमा वर्ग समन्वय होइन वर्ग संघर्षको भाव अभिव्यक्त हुन्छ । यस्ता शब्दको प्रयोग क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्दछन् । वर्ग समाजमा जनतन्त्र, जनवाद, प्रजातन्त्र वा लोकतन्त्रको स्वरुप वर्गीय हुन्छ । यसरी हेर्दा ९५ प्रतिशत जनताको पक्षमा उभिएको लोकतन्त्रको नाम जनताको जनवाद, नयाँ जनवाद, जनताको लोकतन्त्र वा जनगणतन्त्र हो । यसमा आम सर्वहारा जनवाद, सर्वहारा गणतन्त्र जस्ता पदावलीलाई पनि जोड्न सकिन्छ । चौथो कुरा, बहुदलीय जनवादको पदावलीको प्रयोग बढी एमालेले गर्र्र्दै आएको छ । यो पदावली र जनवाद, लोकतन्त्र, प्रजातन्त्र, जनतन्त्रमा कुनै तात्विक अन्तर छैन । एमालेले जनताको बहुदलीय जनवाद अर्थात् जबज पदावलीको पनि प्रयोग गर्दै आएको छ, त्यो जनतालाई भ्रमित पार्ने दक्षिणपन्थी संशोधनवादी पदावली हो । बहुदलीय जनवाद र जनताको बहुदलीय जनवादमा कुनै पनि तात्विक अन्तर छैन । त्यसैगरी एक्काइसौ शताब्दीको जनवाद माओवादी पक्षबाट प्रयोग गरिएको पदावली हो । यो र बहुदलीय जनवादका बीच कुनै तात्विक अन्तर छैन । यस प्रकारको पदावली प्रयोग गर्नु माओवादी पक्षबाट गल्ती भएको छ ।
वर्ग समाजमा हरेक चिजको जस्तै जनतन्त्रको चरित्र पनि वर्गीय हुन्छ । यस ढंगका शब्द सबैका लागि साझा बन्न सक्तैनन् । सारा प्रतिक्रियावादी, साम्राज्यवादी र संसदवादीहरु लोकतन्त्र, जनवाद, जनतन्त्र, प्रजातन्त्र अर्थात् डेमोक्रेसीको नाममा जनताको नृशंस शोषण, उत्पीडन गर्दै आएका छन् । तसर्थ हामीले त्यस प्रकारका पदावली होइन जनताको जनवाद, नयाँ जनवाद, जनगणतन्त्र, सर्वहारा जनवाद जस्ता पदावलीहरुको प्रयोग गर्नु पर्दछ ।

१०– नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा ‘नयाँ जनवादी’ कि ‘वैज्ञानिक समाजवादी’ क्रान्ति भन्ने राजनीतिक कार्यदिशाको चर्चा र बहस छ । र, केही भ्रमहरु पनि व्याप्त रहेका छन् । नेकपा (क्रान्तिकारी माओवादी)ले ‘नयाँ जनवादी क्रान्ति’को कुरा गरिरहेको छ । यसको बारेमा स्पष्ट पारिदिनुस् न ।
–नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ जनवादी कि सामाजवादी क्रान्ति भन्ने बारेमा केही भ्रमहरु पैदा हुँदै आएका छन् । तर यो भ्रमको प्रश्न भन्दा पनि विश्वदृष्टिकोणको प्रश्न हो । नेपाल अर्धसामन्ती, अर्ध औपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थामा रहेको बेला नेपालमा जनवादी क्रान्तिको चरण पुरा गरी समाजवादी क्रान्तिको चरणमा प्रवेश गर्नुपर्ने कुरा स्वतः सिद्ध छ । नयाँ जनवादी क्रान्ति समाजवादी क्रान्तिको पूर्व अवस्था र अभिन्न अंग हो । हाम्रो पार्टीले विषयलाई यसरी नै लिएको छ । वर्तमान नेपालको सामाजिक आर्थिक अवस्थामा नयाँ जनवादी क्रान्ति गरी, देशीय र वैदेशिक दुवै खाले प्रतिक्रियावादी उत्पीडनलाई समाप्त नगरी पुँजीवादी मुलुकमा जस्तो समाजवादी क्रान्तिको कुरा गर्नु द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद र क्रान्तिको वैज्ञानिक नियमका विरुद्ध जानु हो ।

११– मौलिक रुपमा नेपालमा नयाँ जनवादी क्रान्ति सफल भइसक्यो भनेर होहल्ला चलाइरहेका संशोधनवादी र अवसरवादीहरुको भ्रमलाई कसरी चिरफार गर्न सकिन्छ ?
–उनीहरुले भौतिक रुपमा नेपाली जनवादी क्रान्ति पूरा भइसक्यो भनेर जुन होहल्ला गरेका छन्, त्यो देशी तथा विदेशी प्रतिक्रियावादसित गरिएको आत्मकसमर्पणवादमाथि पर्दा हाल्नका लागि गरिएको षड्यन्त्र हो । समाजवादी क्रान्ति गर्नेहरुले पुरानो राज्यसत्ता र संसदीय व्यवस्थालाई कहिल्यै अंगीकार गर्न सक्तैनन् । दलाल तथा नोकरशाही पुँजीपति र सामन्तवर्गीय राज्यसत्ता, संसदवादी लोकतान्त्रिक गणतन्त्र, पुरानै राज्य मेसिनरी र साम्राज्यवादी नवउदारवादलाई अंगिकार गर्नेहरु वैज्ञानिक समाजवादको पक्षमा कहिल्यै हुन सक्तैनन् । उनीहरुले भन्ने गरेको समाजवाद नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादभन्दा कुनै पनि अर्थमा फरक छैन । उनीहरुले जुन समाजवादको कुरा गरिरहेका छन्, त्यो जनतालाई भ्रमित तुल्याउने भ्रमजाल सिवाय अरु केही होइन ।

१२– क्रान्तिकारी माओेवादीले नेपाली विशिष्टतामा आधारित सामरिक कार्यदिशाको कुरा पनि गरिरहेको छ ? रुसी र चिनियाँ भन्दा के यो मोडल पृथक र नयाँ हो ?
हाम्रो पार्टीले निर्धारण गरेको नेपाली विशिष्टतामा आधारित सामरिक कार्यदिशा चीनको दीर्घकालीन जनयुद्धको मोडेलभन्दा रुसको सशस्त्र जनविद्रोहको मोडेलसित बढी मिल्छ । तर, यसमा दुवै मोडेलका केही विशेषता अवश्यै हुन्छन् । त्यसैले यसलाई नेपाली विशिष्टतामा आधारित भनेर भनिएको हो ।

१३– आत्मगत र वस्तुगत हिसाबले नयाँ जनवादी क्रान्तिको भविष्य कस्तो देख्नुहुन्छ ? चुनौती र सम्भावना के कस्ता छन् ?
वस्तुगत दृष्टिले नेपाली नयाँ जनवादी क्रान्तिको भविष्य समुज्ज्वल छ र यस प्रकारको क्रान्तिका लागि परिस्थिति परिपक्व बन्दै गएको छ । अब पुरानो प्रतिक्रियावादी राज्यसत्ता र व्यवस्थालाई लोकतन्त्रको जलप लगाएर र टालटुल पारेर बचाउन सकिने स्थिति छैन । त्यसलाई कम्युनिस्ट आवरणमा पनि टिकाउन सकिने स्थिति छैन । प्रजातन्त्रको नामका नेपाली कांग्रेस र कम्युनिस्ट नाममा हिजोको एमाले, विचलित भएका माओवादी वा अहिलेका डबल नेकपा कसैले पनि संरक्षण गर्न सक्दैनन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको समाधान उनीहरुबाट हुन सक्ला भन्नु दुधको संरक्षण गर्ने जिम्मा विरालाहरुको बथानलाई दिनु जत्तिकै हो । तर, अर्कोतिर क्रान्तिका लागि आत्मगत स्थिति अझै पनि कमजोर छ र यसलाई अत्यन्तै मिहिनेत गरेर गुणात्मक रुपमा विकसित तुल्याउनु जरुरी छ ।

१४– सत्ताको वर्गचरित्रका हिसाबले ‘सर्वहारावर्गको अधिनायकत्व’, ‘उत्पीडित वर्ग र समुदायको संयुक्त अधिनायकत्व’ वा ‘मजदुर–किसानको संयुक्त अधिनायकत्व’ ? नेपालको हकमा के हो भन्ने प्रश्न पनि उठ्ने गरेको छ । वर्गीय, जातीय, क्षेत्रीय तथा लैङ्गिक उत्पीडनको अन्त्यका लागि सत्ताको वर्गीय अधिनायकत्व के कस्तो हुन जरुरी छ ? यस विषयमा पनि प्रष्ट पारिदिनुस् न ।
–समाजवादमा सर्वहारा वर्गको नेतृत्वमा सर्वहारा अधिनायकत्व स्थापना गरिन्छ । नयाँ जनवादमा सर्वहारावर्गको नेतृत्वमा सबै उत्पीडित वर्ग र समुदायको संयुक्त अधिनायकत्व कायम गरिन्छ । यसैलाई मजदुर किसान एकतामा आधारित जनताको जनवादी अधिनायकत्व पर्दछन् । यस प्रकारको राज्य सत्तामा मजदुर, किसान, महिला, दलित, जनजाति, मधेसी, मुस्लिम सहितका उत्पीडित वर्ग र समुदायलाई समावेश गरिन्छ ।

१५– ओली नेतृत्वको सरकारको वर्गचरित्रबारे पनि स्पष्ट पारिदिनुस् न । करिब तीन वर्षको यो सरकारको सत्ता अभ्यासलाई क्रान्तिकारी माओवादीले कसरी मूल्यांकन गरेको छ ?
वर्गीय हिसाबले हेर्दा ओली नेतृत्वको सरकार दलाल तथा नोकरशाही पुँजीपति र सामन्तवर्गको प्रतिनिधित्व गर्ने सरकार हो । नाममा कम्युनिस्ट सरकार भए पनि काममा पश्चगामी वर्गका हकहितको यसले संरक्षण गर्दै आएको छ । जनतन्त्रको क्षेत्रमा यसले पुरानै अधिनायक तन्त्रको अभ्यास गरेको छ । बढीमा ओली गुटलाई त्यहाँ जनतन्त्र छ । विप्लव नेतृत्वको नेकपाका कैयौं नेता तथा कार्यकर्ताहरुलाई विगतकै शैलीमा धरपकड, जेल चलान र दमन गर्ने काम गरिरहेको छ । संविधानमा लेखिएका स्वतन्त्रता, समानता र भातृत्त्वका नारा उत्पीडित वर्ग तथा समुदायका लागि परतन्त्रता, असमानता र अभिजाततन्त्रीय अहंकारवादमा परिणत भएका छन् । जनजीविकाको क्षेत्रमा सरकार दुवै असफल साबित भइसकेको छ । राष्ट्रिय स्वाधीनताको क्षेत्रमा पनि नयाँ नक्सा बनाउने बाहेक पुरै उदासिन देखापरेको छ ।

१६– नेपालको कम्युनिस्ट आन्दोलनमा टुट, फुट, विभाजन र एकता तथा ध्रुवीकरणको लामै श्रृङ्खला छ । विगतमा भएका टुट फुट र विभाजनमा अन्तर्निहित कारण र त्यसले क्रान्तिको जीवनमा पारेको प्रभावलाई यहाँले कसरी हेर्नु भएको छ ?
नेपाली कम्युनिस्ट आन्दोलनमा टुटफुट, एकता र विभाजनको श्रृङ्खला लामै छ । कैयौं सन्दर्भमा टुटफुटका प्रमुख कारण विचारधारात्मक राजनीतिक रहेका छन् । कतिपय प्रसंगमा नेतृत्वको गलत कार्यशैली र कैयौं प्रसंगमा गलत महत्वांक्षाका कारणले पनि टुटफुट भएका छन् । यसबाट क्रान्तिमा नकारात्मक प्रभाव नै पर्न गएको छ । टुट फुटका पछाडि आन्तरिक कारण नै प्रमुख हो र यसमा वर्गदुश्मनको नीतिले पनि काम गरेको पाइन्छ ।

१७– नेकपा (क्रान्तिकारी माओवादी)ले अहिले नयाँ जनवादी क्रान्तिका पक्षधर शक्तिलाई एकताबद्ध तुल्याउने प्रयास गरिरहेको छ । मुद्दा मिल्ने शक्तिहरुसँग कार्यगत एकता पनि गरिरहेको छ । केही पार्टीहरुबीच विगतमा कार्यगत एकतालाई पार्टी एकतासम्म लैजाने सहमति पनि भएको थियो । अहिले त्यो सहमतिको स्थिति के छ ? पहल र सम्भावना के कस्तो रहेको छ ? यसबारेमा केही बताइदिनुस् न ।
–हाम्रो पार्टीले नयाँ जनवादी क्रान्तिका पक्षभरसहित सच्चा क्रान्तिकारी कम्युनिस्ट समूहहरुलाई एकताबद्ध तुल्याउनका लागि सक्दो प्रयास र पहल गर्दै आएको छ । यस प्रकारका कतिपय शक्तिहरुसित संघर्षका लागि कार्यगत एकता पनि हुँदै आएको छ । जहाँसम्म पार्टी एकताको सहमति, पहल र सम्भावनाका कुरा हुन्, तिनलाई द्वन्द्वात्मक प्रक्रियाका रुपमा बुझ्दा उपयुक्त हुन्छ । हाम्रो पार्टीले नयाँ जनवाद र वैज्ञानिक समाजवाद, माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधारा मान्ने पक्षसित कैयौं पटक कुराकानी चलायौं, तर आ–आफ्ना विचार र दृष्टिकोणबाट टसको मस नगर्ने सोच बढी प्रभावी भएको पायौं । कतिपय पक्षको पार्टी एकताप्रति नै खास चासो देखिएन । यसै प्रसंगमा एकीकरण र ध्रुवीकरणका कुरा पनि उठे । कतिपय पक्षबाट एकीकरण होइन ध्रुवीकरणमा विशष जोड दिइयो । यस प्रकारका सोचहरु पार्टी एकताका लागि बाधक बन्दै आएका छन् । यति हुँदा हुँदै पनि हाम्रो पार्टीले पार्टी एकताका लागि अझै पहल गर्नुपर्छ भन्ने बारे आवश्यक ध्यान दिंदै आएको छ । सच्चा कम्युनिस्टहरु बीचको एकता आजको ऐतिहासिक आवश्यकता हो ।

१८– विचार, राजनीतिक कार्यदिशा वा अन्य प्रवृतिगत प्राविधिक के कारणले क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध तुल्याउन सकिएको छैन ? चुनौती र सम्भावना के कस्ता छन् ? यो अलि आम चासोको विषय बनेको छ । केही बताइदिनुस् न ।
पार्टी एकताको बाधक प्राविधिक कारण होइन विचार, राजनीतिक कार्यदिशा वा अन्य प्रवृत्तिगत कारण नै हुन् । विचारधारात्मक र राजनीतिका रुपमा आधारभूत विषय एकरुपता नभईकन पार्टी एकता गर्नुको कुनै अर्थ रहन्न । परन्तु, यसबारे गम्भिर छलफल र बहसको प्रक्रिया अगाडि बढाउन जरुरी छ । मिल्ने र नमिल्ने विषय के के हुन् भन्ने बारे आवश्यक छलफलत पछि नै चिज स्पष्ट हुँदै जाने छ । यस तहको छलफल र बहस अझै हुन सकेको छैन । त्यसतर्फ अगाडि बढ्नु पर्दछ ।

जनजीविका तथा महामारीसम्बन्धी
१९– कोभिड १९ का कारण गरिखाने श्रमिक वर्गको जनजीवन असाध्यै कष्टकर र पीडादायी बन्न पुगेको छ । धेरैले रोजगारी गुमाउन पुगेका छन् । दैनिक ज्यालादारी गरेर खाने श्रमिक वर्ग भोकले मर्न थालेका छन् । आत्महत्याका घटनामा बढोत्तरी भइरहेको छ । संक्रमण पनि फैलिइरहेको छ । मृत्युदर पनि बढी रहेको छ । तर सरकारको चरम लापरबाही, गैरजिम्मेवारीपन र मानवीय संवेदनाहीन रवैया रोकिएको छैन । यहाँहरुले निरन्तर खबरदारी गर्नुभयो । तर सरकारले कुनै सुनवाइ गरेन । सरकार तथा सत्तारुढ पार्टी सत्तास्वार्थका निम्ति राज्य शक्ति र राज्यको ढिकुटीको चरम दुरुपयोग गरिरहेको छ । यो कोभिडका कारण उत्पन्न समग्र संकट र यसको समाधानको विषयलाई क्रान्तिकारी माओवादीले कसरी हेरेको छ ?

–कोभिड–१९ महामारीको समयमा गरीब र विपन्न वर्गका जनताको अवस्था निकै दर्दनाक बन्न गएको छ । यो सरकार मजदुर, सुकुम्बासी, न्यून बैतनिक कर्मचारी र बेरोजगारमार बन्न पुगेको कुरा राम्रोसित प्रकासित भएको छ । यस सरकारले अरुका कुरा सुन्दैन । यो सरकार जनजीविकाका समस्याप्रति अत्यन्तै गैरजिम्मेवार र संवेदनाविहीन बन्न पुगेको छ । यसले ढिकुटी रित्याउने र भ्रष्टाचारलाई प्रश्रय दिने काम गरिरहेको छ । कोभिड–१९ को संकट प्राकृतिक विपदा र महामारीको संकटले सरकारको गैरजिम्मेवारी र असमर्थताको कारण यो तीव्र गतिमा बढ्दै गएको छ । यो स्थितिमा हामीले सरकारको खबरदारी गर्ने तथा सरकारका विरुद्ध संघर्ष गर्दै जाने, विषयलाई गम्भिरतापूर्वक अध्ययन गर्ने र जनतालाई पनि संघर्षका लागि सचेत तुल्याउँदै जानु पर्दछ ।

२०– कोभिड १९ महामारी नै होइन, यो मेडिकल माफिया अर्थात् डब्लुएचओले खडा गरेको महाआतंक हो भन्ने पनि चर्चा र बहस हुन थालेको छ । यस विषयमा क्रान्तिकारी माओवादीको धारणा के छ ?
हामीले जानेबुझेसम्म कोरोना भाइरस महामारी नै हो । यदि कसेले यो महामारी होइन मेडिकल माफियाको महाआतंक हो भनेर संसारलाई प्रभावित गरेर देखाउँछ भने त्यो कुरा पनि सुन्नै पर्दछ । यो अध्ययन अनुसन्धानको विषय हो ।

२१– पछिल्ला दिनमा दलित र महिला समुदायमाथि हत्या, हिंसा र बलात्कारका घटनामा निकै बढोत्तरी भइरहेको छ । रुकुम घटनापछि मधेसमा मात्रै ८ जना दलितको हत्या भएको समाचारहरु सार्वजनिक भएका छन् । मधेशका दलित समुदाय निरन्तर रुपमा आन्दोलित पनि हुँदै आएका छन् । तर हत्याका दोषीहरुमाथि कारबाही गर्दैन सरकार ? दलित र महिला समुदायमाथि यसरी अत्याचार र अपराध बढ्नुमा कारण के देख्नुहुन्छ ? र समाधान ?
महिला हत्या, हिंसा र बलात्कारका घटनाले त सीमा नाघिसकेका छन् । दलित हिंसा र हत्याको प्रश्नमा पनि कुरा त्यही नै हो । यी दुवै प्रश्नमा सरकारले हिन्दु फासिवादको पक्षपोषण गरिरहेको कुरा स्पष्टै देखिन्छ । यी दुवै समस्याको तात्कालिक समाधान जनसंघर्ष र दीर्घकालीन समाधान क्रान्ति नै हो ।

२२– सिंहदरबारदेखि गाउँ गाउँसम्म संस्थागत रुपमा भ्रष्टाचारले संस्थागत रुपमा महामारीको रुप लिएको छ । अदालतदेखि अख्तियारसम्म भ्रष्टाचारकै कारण बद्नाम छन् । जनता आजित र आक्रोशित बन्दै गएका छन् । जनताको असन्तुष्टी र आक्रोशलाई आन्दोलन वा संघर्षमा बदल्न र त्यसको नेतृत्व क्रान्तिकारी माओवादीले गर्न सकेन भन्ने जनगुनासो पनि आउने गरेका छन् नि ?
देशमा भ्रष्टचार चुलिदै आएको कुरा सुस्पष्ट छ । क्रान्तिकारी माओवादीले भ्रष्टाचारका विरुद्धमा सक्दो आवाज उठाउँदै आएको छ । भ्रष्टाचारको विरोधमा प्रभावकारी संघर्ष चलाउनेबारे हाम्रो पार्टीले गम्भिरतापूर्वक सोचिरहेको छ ।

२३– अन्तमा, अहिले जनताले वैकल्पिक व्यवस्थाको खोजी गर्न थालेको सन्दर्भमा प्रतिगामी तथा पुनरुत्थानवादी शक्तिहरुको गतिविधि बढेर गएको छ । उनीहरु संगठित पनि हुँदै गएका छन् । तर अग्रगामी तथा क्रान्तिकारी शक्तिहरुले एकताबद्ध भएर पहलकदमी लिन सकिरहेका छैनन् भन्ने पनि टिप्पणी भइरहेको छ । क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर क्रान्तिको प्रक्रियालाई घनिभूत बनाएको र मुलुकमा जनगणतान्त्रिक राज्यव्यवस्था स्थापनाको व्यग्र प्रतीक्षामा रहेका आम जनसमुदायलाई के भन्न चाहनुहुन्छ ?
–जनताको एउटा ठूलो हिस्साले वैकल्पिक व्यवस्थाको खोजी गरिरहेको छ । यो साँचो कुरा हो । हाम्रो पार्टीले पनि यस व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्रमा आधारित देशभक्त र जनतान्त्रिक शक्तिहरुको सरकारको नारा प्रस्तुत गर्दै आएको छ । यो कुरा पनि साँचो हो । साथै, प्रतिक्रियावादी सत्ता र व्यवस्थाको विकल्पमा नयाँ सत्ता र व्यवस्थाको स्थापना गर्नका लागि आत्मगत शक्ति पनि बलियो नै हुनु पर्छ । यो कुरा पनि साँचो हो । त्यसैले, हाम्रो पार्टीले क्रान्तिकारी शक्तिहरुलाई गोलबन्द गर्ने र आत्मगत शक्ति बलियो बनाउँदै जाने विषयमा पनि आवश्यक ध्यान दिंदै आएको छ । यस स्थितिमा म नेपाली जनतासित के अनुरोध गर्न चाहन्छु भने इतिहास निर्माताको हैसियतले जनता पनि पुनः संघर्षको मैदानमा आउन तयार हुनुप¥यो र नेताहरुलाई खबरदारी पनि गर्दै जानु प¥यो । हामी जनताको आवाज सुन्न प्रतिबद्ध छौं र रहने छौं ।

साभार : moolbato.com

अन्तिम पटक अध्यावधिक गरिएको 1031 Viewed

प्रतिक्रिया दिनुहोस्