उच्च अदालत दिपायल

उच्च अदालत दिपायलले विद्यार्थीमाथि जबर्जस्ती करणी गर्ने शिक्षक सोपीनाथ भट्टलाई धरौटी लिई पुर्पक्षका लागि तारेखमा छोड्ने मुद्दामा जिल्ला अदालतको आदेशसंग समबन्धित मुद्दाको सम्पूर्ण मिसिल र कैफियत प्रतिवेदन समेत झिकाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय डोटीले आरोपित शिक्षक भट्टलाई पुर्पक्षका लागि तारेखमा छोड्ने जिल्ला अदालत डोटीको आदेश बदरका लागि उच्च अदालत दिपायलमा पुनरावेदन गरेको थियो । पीडित छात्रा र उनका आफन्तले जिल्ला अदालतको आदेशले थप मर्माहित र पीडित बनाएको गुनासो राख्दै आएका थिए ।

केआई सिंह गाउँपालिका–४ स्थित झिमेमालिकाका भट्टमाथि १९ वर्षीया छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । शिक्षक भट्टमाथि विभिन्न प्रलोभन र धम्की दिई बलात्कार गरेको आरोप छ ।

जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको इजलासले कात्तिक १९ गते आरोपित भट्टलाई तीन लाख रुपैयाँ नगद धरौटी राखेर तारेखमा छोड्ने आदेश दिएको थियो । आइतबार दर्ता भएको पुनरावेदन मुद्दामा सोमबार सुनवाइ गर्दै उच्चका कायममुकायम मुख्य न्यायाधीश शेषराज शिवाकोटीको एकल इजलासले ३ दिनभित्र सुरुको सक्कल मिसिलसमेत साथै राखी कैफियत प्रतिवेदन बुझाउन आदेश दिएको हो ।

जिल्ला अदालतलाई थुनछेक आदेश गर्दा लिइएका आधार प्रमाणसमेत खुलाउन उच्चले भनेको छ । जिल्ला न्यायाधीवक्ता पूर्णबहादुर केसीले अभियुक्त भट्टलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्नेमा जिल्ला अदालतले धरौटीमा छोड्दा न्यायसंगत नभएकाले पुनरावेदन गरेको बताए । जिल्ला अदालतबाट मिसिल आएमा संयुक्त इजलासबाट फैसला हुने उच्च अदालत दिपायलका शाखा अधिकृत चेतबहादुर बोहराले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 84 Viewed

प्रतिक्रिया दिनुहोस्