वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी लगातार आन्दोलनमा

पर्याप्त सुरक्षा सामग्री र तलब भत्ता समयमा उपलब्ध नगराएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी आन्दोलनमा उत्रेका छन् । वैशाखदेखि नै समयमा तलब, भत्ता र पर्याप्त सुरक्षा सामग्री नपाएको गुनासो गरिरहेका स्वास्थ्यकर्मीले पछिल्लो चार दिनदेखि एक घन्टे विरोध प्रदर्शन जारी राखेका छन् ।

अस्पताल परिसरमा बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म प्लेकार्डसहित हातमा कालो पट्टी बाँधेर स्वाथ्यकर्मी र कर्मचारी प्रदर्शन गर्दै आएका छन् । गत चैतदेखि नै कोभिड जोखिम भत्ता, कर्मचारी औषधि खरिद खर्च, सेवा विस्तार (ओभरटाइम) भत्ता र स्वास्थ्य सुरक्षाका सामग्री नदिएको उनीहरुको आरोप छ ।

पर्याप्त सुरक्षा सामग्री नभएकै कारण अस्पतालमा कार्यरत दुई सय ५० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको र एकजनाको ज्यान गएको उनीहरूले बताएका छन् । अस्पतालमा कार्यरत एक हजार पाँच सय स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएका छैनन् ।

यसअघि असोज १६ गते स्वास्थ्यकर्मीले अस्पताल व्यवस्थापनलाई १५ दिनभित्र आफ्ना माग पूरा गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । माग पूरा नभएपछि कात्तिक २ गते स्वास्थ्यकर्मीले अस्पतालभित्रै आन्दोलन गरेका थिए । उनीहरूले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. डिएन साह र वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीको कार्यकक्षमा तालाबन्दी समेत गरेका थिए ।

गत चैतदेखि कोभिड भत्ता, औषधि खरिद खर्च र सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्री नदिएको भन्दै आन्दोलन जारी राखेको नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए । एउटा मात्रै माग तलब भत्ताको रहेकाले पूरा नहुँदासम्म आन्दोलन जारी रहने उनले बताए ।

कोरोनाको उपचारमा खटिएबापतको भत्तालगायत सुविधा नदिएको उनिहरूको गुनासो छ । तर, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बिरामी नहेर्ने कर्मचारीलाई भत्ता दिन नसक्ने बताउँछन् । ‘जसले प्रत्यक्ष रूपमा सेवा गरेको छ उनीहरूले भत्ता नपाउने भन्ने हुँदैन, तर काम नगर्नेहरूलाई दिन सकिँदैन,’ डा. गौतमले भने ।

१६ चिकित्सकको राजीनामा फिर्ता

अस्पतालको इमर्जेन्सी विभागमा काम गर्ने १६ जना चिकित्सकले बुधबार दिएको सामूहिक राजीनामा फिर्ता लिएका छन् । स्वास्थ्य सुरक्षाका सामग्रीहरू उपलब्ध नगराएको, जोखिम भत्ता नदिएको भन्दै चिकित्सकहरूले राजीनामा दिएका थिए । ज्यालादारी भनेर दसैँ–तिहार भत्ता नदिएको, एकदिनको तलब काटेर दिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराएको र २४सै घन्टा ड्युटीमा लगाएको उनीहरूको गुनासो थियो ।

महामारीको समयमा खटेर काम गरेका चिकित्सकले भत्ता नपाउनु र राजीनामा दिनु उचित नभएको भन्दै मन्त्रालयले अस्पताल प्रशासनलाई समस्या समाधान गर्न निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनलगत्तै उनीहरूसँग सहमति भएको अस्पतालले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 87 Viewed

प्रतिक्रिया दिनुहोस्