
बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकारलाई जनविरोधी, भ्रष्टाचारी तथा दलाल सरकारको संज्ञा दिदै बर्खास्त गर्न माग गरेको छ।
आफ्ना सक्रिय, जुझारु केन्द्रीय सदस्य एबम सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन “निर्माण” र उनकी धर्मपत्नी समेत रहेकी अनेमसंघ (क्रान्तिकारी)की केन्द्रीय सदस्य एबम सेती महाकाली इन्चार्ज पुर्णिमा धामीलाई कैलालीबाट गिरफ्तार गरिएपछि आक्रोशित बनेको बिद्रोही ने.क.पा.ले जनविरोधी, भ्रष्टाचारी तथा दलाल सरकारलाई बर्खास्त गर्न माग गरेको हो। अद्यापि यस सरकारलाई कसले बर्खास्त गर्ने हो भन्ने बारेमा स्पस्ट पारिएको छैन।
पुन दम्पत्तिको गिरफ्तारी लगत्तै बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य एबम पश्चिम कमान्ड इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले एक प्रेस बिज्ञप्ति जारी गर्दै त्यस्तो माग गरेका हुन्। उनीहरुको गिरफ्तारीले पार्टी पङ्क्तिलाई स्तब्ध र आक्रोशित तुल्याएको उल्लेख गर्दै नेपालमा वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढिरहेका आफ्नो पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गरी जेल, नेल र हिरासतमा सडाउने शासकहरूले देखेको दिवासपना भयङ्कर दुस्वप्नमा परिणत हुने चेतावनी दिएका छन्। उनले अघि भनेका छन्, ‘नेपालका दलाल फासिवादीहरूले देशमा राजनीतिक–आर्थिक समस्या वैज्ञानिक तरिकाले समाधान गर्नुको सट्टा दलाल सत्ताको सर्वोत्तम विकल्प वैज्ञानिक समाजवाद दिने पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गरी जेल चलान र दमनबाट निस्तेज गर्ने दिवास्वप्न देखिरहेका छन् । तर उनीहरूका जनविरोधी, कुत्सित सपनाहरू भयङ्कर दुस्वप्नमा परिणत हुँदै गएका छन् ।’
नेकपाको विदेश विभाग प्रमुख तथा पश्चिम केन्द्रीय कमान्ड इन्चार्ज समेत रहेका नेता कञ्चनले बुधबार गिरफ्तार गरिएका नेता ओमप्रकाश पुनसहित हाल जेल तथा प्रहरी हिरासतमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुको रिहाइको माग गर्दै नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको कथित प्रतिबन्ध खारेज गर्न र जनविरोधी, भ्रष्टाचारी तथा दलाल सरकारलाई बर्खास्त गर्न” जोडदार माग गरिएको छ। उनले सोही विज्ञप्तिमार्फत यदि पार्टीमाथिको प्रतिबन्ध नहटाइएमा र भ्रस्ट तथा दलाल सरकार बर्खास्त नगरिएमा आफ्नो पार्टी सशक्त प्रतिरोधमा उत्रन बाध्य हुने पार्टीको धारणा स्पष्ट पारेका छन् ।
आफ्नो पार्टीले सिङ्गो दलाल पुँजीवादी सत्ताको अन्त्य र समग्र जनताको उन्नति गर्ने वैज्ञानिक समाजवादी सत्ताको माग गरेको कुरा उल्लेख गर्दै सो बिज्ञप्तिमार्फत उनले देशमा विद्यमान सबैखाले समस्याहरूलाई राजनीतिक तरिकाले समाधान गर्न माग गरेका छन्।
यसैबीच जिल्ला प्रहरी कार्यालय कैलालीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य र सेती महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन र उनकी धर्मपत्नी पुर्णिमा धामीलाई आज बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर ७ वेलीबाट पक्राउ गरिएको जानकारी दिएको छ। प्रदेश २–०३–००५ प ९५९७ नम्बरको मोटर साइकलमा सवार उनीहरूलाई चेक गर्दा पुनले बोकेको झोलाभित्र लुगामा लुकाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल एक राउण्ड गोली समेत बरामद गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टी कैलालीका जिल्ला सेक्रेटरी करणले एक प्रेस बिज्ञप्ति निकालेर आफ्नो लुटको स्वर्ग जोगाउन छट्पटाइरहेको सामाजिक दलाल केपी वली सरकारले कैलाली जिल्लामा आफ्नो पार्टीका विरुद्ध श्वेतआतङ्क मच्चाइरहेको आरोप लगाएका छन् ।
सेक्रेटरी करणले गिरफ्तार गरिएका पार्टीका नेता–कार्यकर्ताहरूको झोलाबाट कटुवा पेस्तोल भेटिएको भनी झूट्टा मुद्दा लगाउने फासिवादी षड्यन्त्र गरेकोमा मानवअधिकारकर्मी, कानुन व्यवसायी तथा पत्रकारहरूको गम्भीर ध्यानाकर्षण पनि गराएका छन् ।
सेती–महाकालीबाट प्रतिनिधित्व गर्ने केपी वली गुटका भ्रष्ट तथा दलाल मन्त्री र नेताहरूको दबाबमा कैलाली जिल्लामा ने.क.पा.विरुद्ध मच्चाइएको राज्यआतङ्क अविलम्ब नरोकिए एजेन्टहरूविरुद्ध चरणबद्ध प्रतिरोधात्मक सङ्घर्षका कार्यक्रममा जाने विज्ञप्तिमा जनाइएको छ ।