Spread the love

सुरुमा माओवादीले आफूसँग ३५ हजार लडाकू रहेको दाबी गरेको थियो । तर, पहिलो चरणको प्रमाणीकरणमा ३२ हजार २ सय ५० जना जनसेनाका लडाकू देखिए । यीमध्ये प्रमाणीकरणमा १९ हजार ६ सय २ जना परे भने २ हजार ९ सय ७३ जना उमेर नपुगेका भन्दै प्रमाणीकरण गरिएन । यस्तै, १ हजार ३५ जना शान्ति सम्झौतापछि भर्ना गरिएका पाइयो । ८ हजार ६ सय ४० जना अनुपस्थित रहे ।

सेना समायोजन विशेष समितिले गरेको अन्तिम प्रमाणीकरणमा १७ हजार ५२ जना लडाकू छानिए, जसमध्ये १३ हजार ७ सय २ जना पुरुष र ३ हजार ३ सय ५० जना महिला थिए । यीमध्ये सेना समायोजनमा १ हजार ३ सय १८ पुरुष र १ सय ४ महिला गरी जम्मा १ हजार ४ सय २२ जना गए ।

२०६८ कात्तिक १५ गते एमाओवादी, काङ्ग्रेस, एमाले र मधेसी मोर्चाबीच ६ हजार ५ सय लडाकू समायोजन गर्ने सहमति भएको थियो । तर- ‘न्यून’ सङ्ख्यामा उनीहरुले समायोजन रोजे । १५ हजार ६ सय २४ जनाले स्वैच्छिक अवकाश रोजे भने जम्मा ६ जनाले पुनःस्थापना प्याकेज रोजे ।

स्वैच्छिक अवकाश रोज्ने डिभिजन कमान्डर र सह कमान्डरलाई आठ लाख, ब्रिगेड कमान्डर र सह-कमान्डरलाई सात लाख, बटालियन कमान्डर, बटालियन सहकमान्डर, कम्पनी कमान्डर र कम्पनी सहकमान्डरलाई ६ लाख र अरूलाई पाँच/पाँच लाख रुपियाँ किस्तामा दिइयो ।

राजा ज्ञानेन्द्रले परिवर्तन उल्टाउन पनि सक्छन् भन्ने आशङ्का कायमै भएकाले माओवादीले केही राम्रा हतियार लुकाउने योजना  बनायो । तर, यसको सल्लाह प्रचण्ड र बाबुरामले गिरिजाप्रसाद कोइरालासँग गरे ।शिविरमा सेना र हतियार राख्ने सम्झौता हुँदासम्म माओवादीलाई राज्यप्रति विश्वास थिएन । हतियार बुझाएपछि आफूहरुलाई ‘जे पनि’ गर्न सक्ने आशङ्का उसमा थियो ।

बाबुराम त्यस बेलाको घटना स्मरण गर्छन्- ‘गिरिजाबाबु, केही ठेगान छैन । अलिकति हतियार त राख्नुपर्छ कि ?’ यति भन्नासाथ कोइरालाले अप्रत्याशित जवाफ दिए । कोइरालाले जोसिँदै भने- ‘हुन्छ हुन्छ, राख्नूस् राख्नूस्, के पर्छ पर्छ । अलिकति लुकाउनूस्, हामीले पनि लुकाएकै हो ।’ नेपाली काङ्ग्रेसले आफूले गरेको सशस्त्र क्रान्तिपछि पनि दुवैपटक हतियार लुकाएको थियो ।

गिरिजाप्रसादले उक्त कुरा स्मरण गर्दै माओवादीलाई पनि हतियार लुकाउन सल्लाह दिए । त्यसपछि माओवादी जनमुक्ति सेना र हतियार शिविरमा जम्मा गर्ने क्रममा चार सय थान आधुनिक र राम्रा राम्रा हतियार लुकायो । यो कुरा माओवादीमा प्रचण्ड, बाबुराम र केही कमान्डरलाई मात्र थाहा थियो भने अन्य दलका कोइरालालाई मात्र थाहा थियो ।

सेना समायोजन प्रक्रिया टुङ्गिने-टुङ्गिने बेलामा प्रचण्डले ती हतियार एउटा विदेशी खुफिया एजेन्सीलाई बेच्ने तयारी गरे । तर, हतियार सीमा कटाएर लैजान प्रचण्डलाई गारो पर्‍यो ।

त्यसपछि प्रचण्डले तत्कालीन प्रधानमन्त्री बाबुरामलाई उक्त ‘डिल’ बताए । प्रधानमन्त्रीले चाहेमा हतियार सुरक्षित तरिकाले सीमा कटाउन सकिने भएकाले प्रचण्डले बाबुरामलाई ‘तपाईंले मिलाउनूस्’ भने ।

बाबुरामले ‘रगतसँग साटेका हतियार बेच्नु ठूलो गल्ती र अपराध हुने’ भन्दै प्रचण्डलाई त्यसो नगर्न आग्रह गरे । साथै, उनले हतियार बेचिए कुनै न कुनै बेला उक्त कुरा सार्वजनिक हुनेतर्फ पनि सचेत गराए । त्यसपछि प्रचण्डले हतियार बेच्ने योजना खारेज गरे ।

त्यसको केही समयपछि प्रधानमन्त्री बाबुरामले तत्कालीन प्रधानसेनापति छत्रमान सिंह गुरुङलाई बालुवाटारमा बोलाएर लुकाइएका हतियारबारे जानकारी दिँदै ती हतियार सुरक्षित रुपमा सम्बन्धित ठाउँमा ल्याएर राख्न निर्देशन दिए । सेनापति गुरुङलाई प्रधामन्त्री बाबुरामले ती हतियार सेनाको छाउनीस्थित भण्डारमा राख्न निर्देशन दिए र त्यसै गरियो ।

तर, प्रधानमन्त्रीले प्रधानसेनापतिलाई निर्देशन दिनुअघि नै नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा नवलपरासी र कैलालीमा लुकाइएका केही थान हतियार ‘चोरिए’ ।

( पत्रकार अनिल थापाद्धारा लिखित पुस्तक डा. बाबुराम भट्टराईको जीवनी ‘अविराम बाबुराम’ को अंश । यो पुस्तक शनिबार सार्वजनिक हुँदैछ । )

अन्तिम पटक अध्यावधिक गरिएको 1014 Viewed

प्रतिक्रिया दिनुहोस्