नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण ३ नम्बर नापी टोलीले रूपन्देहीदेखि दाङका तीन सय ११ वटा सीमास्तम्भ मर्मत एवं पुनर्निर्माण गरेको छ । १३ वटा जोर नम्बरका पिलर नयाँ बनाउनुपर्ने अवस्थामा छन् । उक्त पिलर निर्माण गर्ने काम भारतीय पक्षको जिम्मामा परेको छ । नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमाक्षेत्र दसगजामा रहेका भारतद्वारा अतिक्रमित एवं विवादित क्षेत्र सुस्तास्थित चार सय ९७ जंगी पिलर छोडेर टोलीले पश्चिमको दाङसम्म सीमास्तम्भ मर्मत, पुर्ननिर्माण तथा सर्वेक्षणको कार्यलाई तीव्रताका साथ अगाडि बढाएको छ ।
टोलीले हालै रूपन्देहीमा एक र कपिलवस्तुमा १२ वटा नयाँ पिलर निर्माण गरेको छ । जसमा ठूला ३ र माइनर १० वटा बिजोर नम्बरका पिलर नयाँ बनाएको नापी विभागका उपसचिव एवं सर्वेक्षण टोली प्रमुख निर्मल आचार्यले जानकारी दिए । ‘बिजोर अंकमा पर्ने पिलरको मर्मत पुनर्निर्माणको काम हामीले गरेका छौं भने जोर पिलरको काम भारतीय पक्षले गर्छन्’, उनले भने ।
नेपालको तर्फबाट नापी विभागका उपसचिव एवं प्रमुख नापी अधिकृत निर्मल आचार्य र भारतका समकक्षी हरि सिंहको नेतृत्वमा सीमा सर्भे गर्ने, स्तम्भको अवस्था एवं अवस्थितिको अध्ययन गर्ने, जीर्ण पिलरको पुनर्निर्माण, मर्मत संभार, रंगरोगन गर्ने कार्य जारी राखेका छन् ।
नवलपरासीको सुस्तास्थित ४९७ जंगी पिलरदेखि काम थालेको संयुक्त सर्वेक्षण टोली अहिले दाङको ५८९।४ नम्बर पिलरसम्म पुगेको छ । टोलीले कपिलवस्तुका दुई सय ९८, रूपन्देहीका ८ वटा र दाङका ५ वटा सीमास्तम्भको काम सकेको जनाएको छ ।यसैगरी कपिलवस्तुमा जंगी, मझौला एवं साना २२२ वटा सीमास्तम्भ बनाउन बाँकी छ । पल्टेको, हराएको अवस्थामा रहेका ९ वटा पिलर बनाउन जरुरी देखिएको नापी विभागका उपसचिव एवं टोली प्रमुख आचार्यले जानकारी दिए ।
सीमा सुरक्षा बलको रोहबरमा नापी सर्वेक्षण टोलीले काम गरिरहेको र उनीहरूले मागेको सहयोग पुर्‌याइरहेको सीमा सुरक्षा कार्यालयका सशस्त्र प्रहरी उपरीक्षक जीबी निरौलाले बताए । नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा निर्धारण उच्चस्तरीय संयुक्त टोलीको निर्णय एवं निर्देशन वमोजिम टोलीले स्थानीय प्रशासनको समन्वयमा सीमा क्षेत्रको सर्भे गरी जीर्ण सीमास्तम्भको पुनर्निर्माण र मर्मत तथा रंगरोगनको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए ।
यतिवेला ३ नम्बर नापी टोलीका सर्भे नापी अधिकृतहरू सिमानामा ३ वटा समूहमा बाँढिएर तीन ठाउँबाट काम गरिरहेका छन् । एक समूहले नेपाल नवलपरासी र भारत महाराजगन्ज जिल्लाको दसगजा क्षेत्रमा पर्ने सीमास्तम्भबाट दायाँबायाँ कसले के कति भूमि अतिक्रमण गरेका छन् भन्नेर छुट्याउने काम सुरु गरेको छ ।
यसैगरी अर्को समूहले कपिलवस्तु, सिद्धार्थनगरजिल्लाको सिमानामा रहेका सीमास्तम्भको मर्मत, पुनर्निर्माण एवं रंगरोगनको कार्य सम्पन्न गरेको छ । यसैगरी टोलीले नेपाल दाङ र भारत बलरामपुर जिल्लाको पूर्वी सिमानादेखि दसगजामा रहेका ५ वटा सीमास्तम्भको काम सकेको छ । दाङमा अझै ६४ वटा पिलरको सर्भे, मर्मत तथा रंगरोगन गर्न बाँकी छ ।
भारतीय पक्षले यस क्षेत्रमा रहेका जंगी सीमास्तम्भ ५७६।१, ५८८।१३ लगायतका १३ वटा स्तम्भ मर्मत तथा पुनर्निर्माण गरेको छैन । नेपाली पक्षले कपिलवस्तुको चाकचौडानजिक रहेको ५५२, भिल्मीको ५५८, ५६४ नम्बरका पिलर पुनर्निर्माण र ५६५, ५७७।१८ नम्वरका पिलर भने मर्मत गरेको छ ।
नवलपरासीमा तीनवटा अन्तर्राष्ट्रिय सीमास्तम्भको पुनर्निर्माण र ८ वटा पिलरको मर्मत गरेको छ जसमा ४९७।१, ४९७।२, ४९९।४, ५०३, ५१३, ५१७, ४९८।३, ५०३।७, ५०८।१, ५०३ नम्बरका पिलर मर्मत तथा पुनर्निर्माण गरिएका छन् ।
यसैगरी रूपन्देहीको भैरहवा भंसार कार्यालयको निर्माणाधीन सुख्खा बन्दरगाहनजिक जीर्ण अवस्थामा रहेको जीर्ण ५१८, ५०१, ५०५ जरैदेखि भत्काएर पुनर्निर्माण गरिएको नापी अधिकृतले बताए । संयुक्त टोलीले नवलपरासी क्षेत्रमा सर्भे, पिलर मर्मत पुनर्निर्माण तथा रंगरोगनको काम पूरा गरी अतिक्रमण छुटाउने काम थालेको छ । भारत महाराजगन्ज जिल्ला र नवलपरासी जिल्लाको २८.५ किलोमिटरको दूरी सीमा क्षेत्रमा १२ जंगी र ३ वटा सहायक पिलरहरू भेटिएका छन् ।
अन्तिम पटक अध्यावधिक गरिएको 1009 Viewed

प्रतिक्रिया दिनुहोस्