बिद्रोही ने.क.पा.मा प्रकाण्डभन्दा बिप्लव शक्तिशाली : वार्ता पक्षधरहरु अल्पमतमा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ फाल्गुन २६, सोमबार) १०:४७

जनबर्गिय संगठनमा एक पछि अर्को गरी बिबाद सार्वजनिक हुँदै जाँदा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा पार्टी प्रबक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’भन्दा पार्टी महासचिब शक्तिशाली देखिन थालेका छन्।

पार्टीमा महासचिब बिप्लव ‘वर्तमान दलाल राज्यसत्तासंग वार्ता गरेर गरीब, किसान, मजदुर, सुकुम्बासी लगायत उत्पीडित र सर्वहारावर्गको राज्यसत्ता प्राप्त हुन् नसक्ने भएकाले वार्ताको औचित्य नभएको’ धारणामा अडिग छन् भने पार्टी प्रबक्ता प्रकाण्ड ‘वर्तमान राज्यसत्तासंग भए पनि वार्ता गरी समस्याको समाधान हुन्छ भने सरकारसंग वार्ता गरिनुपर्छ। ‘ भन्ने वर्तमान सरकारप्रतिको नरम सोंच राख्छन।

विप्लव नेतृत्वको ने.क.पा.मा हाल २० जना केन्द्रीय नेता मात्र भूमिगत गतिविधिमा संलग्न छन् । पार्टीका ११ केन्द्रीय नेता जेलमा छन् । अहिले पनि पार्टी केन्द्रीय सचिबालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ केन्द्रिय सदस्यहरु चन्द्रबहादुर चन्द ‘बीरजंग’, उमा भुजेल ‘शिलु, माइला लामा, बन्धु चन्द, नबिन बिक जेल या प्रहरी हिरासतमा बन्दी जीवन बिताइरहेका छन्।  सरकारको नियन्त्रणमा रहेका अधिकांश सबै केन्द्रीय नेता सर्वहारावर्गको राज्यसत्ता प्राप्त नभएसम्म लडाई जारी राख्नुपर्ने भन्ने महासचिव बिप्लवको पक्षका रहेका छन्।

भूमिगत राजनीतिमा सक्रिय २० मध्ये बहुमत केन्द्रीय सदस्य विप्लवनिकट मानिन्छन् । नेकपाका प्रवक्तासमेत रहेका विश्वकर्मा पार्टीभित्र अल्पमतमा छन् । उनी आफू केन्द्रीय कमिटीमा बहुमत जुटाएर मात्र वार्तामा बस्न चाहन्छन् ।

प्रवक्ता प्रकाण्ड पार्टीको आर्थिक विभाग प्रमुखसमेत हुन् । उनी पक्षधर नेताको बाहुल्य रहेका जनवर्गीय संगठनहरू पछिल्ला दिन विवादमा परेपछि पार्टीभित्र विप्लव थप शक्तिशाली बन्दै गएको नेताहरू बताउँछन् ।

राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग सरकारले वार्ताको पहल थालेपनि पार्टीभित्रको आन्तरिक किचलोका कारण विप्लवले वार्ता समिति बनाउन सकेका छैनन् ।

सरकारले विप्लवसँग वार्ताका लागि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई जिम्मेवारी दिए पनि पार्टीभित्रको आन्तरिक कहलकै कारण विप्लवले वार्ता समिति बनाउन नसकेका हुन् ।

वार्ता गर्ने जिम्मा पाएका मन्त्री ढकालले विप्लव नेतृत्वको नेकपाका केन्द्रीय नेतालाई भेटेर वार्तामा बस्न आग्रह गरे । तर, पार्टी महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मावीचको टक्करका कारण वार्ता समितिसमेत बन्न नसकेको पार्टीकै नेताहरू स्वीकार गर्छन् ।

‘मन्त्री ढकालले पछिल्लो समय तीन पटक उच्च नेतृत्व भेटेर वार्तामा बस्न अनुरोध गर्नुभएको छ तर हाम्रै आन्तरिक कारण वार्तामा बस्ने कि नबस्ने भन्नेसम्मको निर्णय पनि गर्न सकेका छैनौँ,’ विप्लव नेतृत्वको नेकपाका एक केन्द्रीय सदस्यले  भने ।

सरकारसँग वार्ता गरेर सहज राजनीतिक अवतरणको दाउमा रहेका विश्वकर्मालाई रोक्ने विप्लव नीतिका कारण वार्ताको वातावरण बन्न नसकेको सरकारको पनि बुझाइ छ ।

सरकारका तर्फबाट वार्ताको प्रयास भए पनि पार्टीका दुई नेताबीचको टक्करका कारण ‘रेस्पोन्स’ नआएको सरकारको बुझाइ छ ।

स्वाथ्यमन्त्री ढकालले प्रबक्ता प्रकाण्ड र अर्का एक जना केन्द्रीय सदस्यलाई तीन पटक भेटेर वार्ताको प्रस्ताव गरेका थिए । दुई नेताबीच तीन पटकसम्म भेट भएको विप्लव नेतृत्वको नेकपाका एक सदस्यले बताए । ती सदस्यले नेताहरूबीच गत चैतदेखि जेठसम्ममा काठमाडौंमा तीन पटक भेट भएको बताए । त्यसपछि पनि पटक पटक फोनसंवाद र भेटघाट भए पनि विप्लव नेतृत्वको ने.क.पा.ले वार्ताको विषयमा निर्णय दिन नसकेको सरकारी अधिकारीको दाबी छ ।

मन्त्री ढकाल र विप्लव नेतृत्वको ने.क.पा.का नेतासँग बूढानीलकण्ठस्थित एक रिसोर्टमा भएको भेटपछि गत ६ असारमै वार्ता मिति तय भएको थियो । तर ५ असारमा पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको भन्दै वार्ता भाँडिएको थियो ।

गत वर्ष पनि सत्तारुढ नेकपाका नेता सोमनाथ पाण्डेको संयोजकत्वमा राजनीतिक दलहरूसँग वार्ता गर्न समिति बनेको थियो । उक्त समिति अहिले निष्क्रिय छ । पाण्डेले एक दुई पटक नेकपाका केन्द्रीय सदस्यलाई भेटे पनि वार्तामा बसाउन सकेनन् ।

सरकारले गत वर्ष २८ फागुनमा  विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो । सरकारले प्रतिबन्ध लगाएपछि विप्लव नेतृत्वको ने.क.पा.ले भूमिगत रूपमा पार्टीका गतिविधि सञ्चालन गर्दै आएको छ । प्रतिबन्ध लगाएको एक महिनामा उसका सबै गतिविधि निस्तेज गर्ने सरकारले घोषणा गरेको थियो ।

ने.क.पा.का अहिलेसम्म १ हजारभन्दा बढी नेता कार्यकर्ता जेलमा छन् भने नेता कार्यकर्ता धमाधम पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गरिरहेका छन् । विप्लव ने.क.पा.का तत्कालीन पोलिटब्यूरो सदस्यहरु मोहन कार्की जिवन्त, पदम राई लगायतले समेत पार्टी छाडिसकेका छन् ।


(२०७६ फाल्गुन २६, सोमबार) १०:४७ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना