२० दिनको बिचमा आमाबाबुको मृत्यु भएपछि तीन वर्षकी विमला सहाराविहिन

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ फाल्गुन २५, आईतवार) ०७:३२

किरण लोहनी
गोरखाको शहिद लखन गाऊँपालिका वडा नम्वर १ बक्राङको पन्त गाउंका गुरुप्रसाद पन्तको घर कुर्न आएका तनहुँको पुर्कोट घर बताउने ४० वर्षका नन्दुलाल श्रेष्ठ र उनको श्रीमती मायाको मृत्यु भएपछी तीन वर्षिया एक बालिका सहाराबिहीन बनेकी छिन।

बाबु माइला भनिने नन्दुलाल श्रेष्ठ र आमा मायाको २० दिनको अन्तरमा मृत्यु भएपछी तीन वर्षिया बालिका बिमला सहाराबिहीन बनेकी हुन्।

२०७५ सालको मंसीरमा पन्तगाऊँ छिरेका माइला भनिने नन्दुलाल श्रेष्ठलाई त्यही वर्षको माघे संक्रान्ति लगत्तै श्रीमतीले साथको छोरो सहित लिएर भागिन। श्रीमती र छोराले छाडेर गएपछि एक्लो जीवन बिताई रहेका माइलाले २०७६ सालको भदौमा मकवानपुरको हेटौडातिर घर बताउने साथमा तीन वर्षकी छोरी भएकी ३१ वर्षिया माया तामाङलाई दोश्रो श्रीमतीका रुपमा बिहे गरे। उनले श्रीमती मायालाई मात्र हैन, उनीसंगै ल्याइएकी झड्केली छोरी बिमलालाई पनि औधी माया गर्थे।

श्रीमतीको बेस्सरी माया गर्ने माइलाले ‘श्रीमतिले काटेको बारीको घाँस समेत घरसम्म आफैं बोकेर ल्याउँथे , मेलापात पनि जान दिएनन।

आमाको साथमा बिमला
आमाको साथमा बिमला

२०७६ साल माघ २७ गते पन्त गाऊँ पारिपट्टीको गैरीगाऊँमा भएको एक बिहेभोजमा निम्तो मान्न गएका माइलाका बुढाबुढी मध्ये माइला एकछिन रमाउन लागे, छिमेकीहरु सहित माया घर फर्किइन् । तर, राति अबेरसम्म माइला फर्केनन्, सोधीखोजी शुरु भयो । छिमेकीहरुको सहयोगमा खोज्दै जाँदा पन्तगाऊँ नजिकैको साउनेखोलामा माइला लडिरहेको भेटिए । टाउकोको पछाडीपट्टिको भागबाट हल्का रगत बगिरहेको थियो, उनी अर्धचेत थिए । छिमेकीहरुलाई हारगुहार गर्ने र गाडी जुटाउने गर्दैमा रातिको दुई बज्यो, घाइते माइलालाई उद्धार गरेको गाडी काठमाण्डौंतिर बत्तियो । भोलीपल्ट माघ २८ गते बिहान साढे १० वजेतिर काठमाण्डौंको ट्रमा सेन्टरमा माइलाको प्राण गयो ।

श्रीमानको  निधन भएको खबरले विक्षिप्त बनेकी माया घर बाहिर निस्किन छोडिन् । छरछिमेकले सम्झाई बुझाई गरे, सामान्य दिनचर्यामा फर्काउने प्रयास जारी नै राखे ।

२०७६ को फागुन १८ गते बिहानतिर छिमेकीहरुले मायाको बच्चा खेर गएको थाहा पाए । ‘भदौमा माइलासँग आएकी हो, त्यस्तै दुई तीन महिनाको बच्चा हुँदो हो, खेर गएछ’ छिमेकी भगवतीले भन्नुभयो, ‘रगत बगेको बग्यै रहेछ, हामीले एम्बुलेन्स खोजेर गोरखा अस्पताल पठायौं ।’

फागुन १८ गते दिउँसो ३ वजेतिर गोरखा अस्पताल आइपुग्दा मायाको अवस्था निकै जटिल थियो । ‘शरीरमा रगतको मात्रा एकदमै कम थियो, हेमोग्लोविनको सूचक ३ को विन्दुमा थियो जुन निकै क्रिटिकल मानिन्छ’ अस्पतालका मेडिकल अधिकृत डाक्टर बिनोद दुवाडीले भन्नुभयो, ‘यस्तो अवस्थामा रिफर गर्दा बाटोमै जटिल अवस्था आउन सक्ने भएकाले सकेको उपचार थाल्यौं ।’

डाक्टर दुवाडीले मायालाई आवश्यक पर्ने बि पोजेटिभ रगतको खोजी शुरु गर्नुभयो, २ जना दाता तत्काल अस्पताल आएर रगतदान गर्नुभयो, अरु धेरैजना तयारी अवस्थामा थिए । ‘कम्तिमा ५ पिन्ट जति रगत चाहिन सक्थ्यो, हामी रगत दिँदै अरु उपचार गर्दै थियौं, तर राति साढे १२ वजेतिर उहाँको निधन भयो ।’ माइलाको प्रेमको निशानीको रुपमा रहेको ३ महिनाको शिशु खेर गएको २४ घण्टा नबित्दै मायाको पनि प्राण गयो ।

छरछिमेक रोहबर बसेर अस्पतालबाट शव उठाए, लुदी खोला र दरौंदी खोलाको दोभानमा अन्तिम संस्कार गरे । अन्तिम संस्कारमा आफन्त कोही जुट्न सकेनन्, अहिलेसम्म पनि कुनै आफन्तले खोजखबर गरेका छैनन् ।

र, तीन वर्षकी बिमला जो मायाको पहिलो श्रीमान्तर्फकी छोरी हुन्, उनका अवोध वालसुलभ प्रश्नको जवाफ छिमेकीहरुसँग छैन । आमालाई एम्बुलेन्समा राखेर लगेको देखेकी बिमला छिमेकीहरुलाई सोध्छिन्, मेरो आमा खै ? छिमेकीहरु जवाफ दिन्छन्, ‘तिम्रो आमा देउताको घरमा जानु भएको छ, एक दुई दिनमा आउनुहुन्छ ।’ एक दुई दिनमा आमा आउँछिन् भनेर बालिकालाई ढाँटनु पर्दा छिमेकीको मन कुँडिन्छ, कति दिन यसरी अल्मल्याउने हो, उनीहरुलाई नै थाहा छैन ।

मायाको संस्कार गरेकै साँझ तीन वर्षकी बिमलाले सबैलाई रुवाइन् । ‘मायाले पालेका दुईवटा बाख्रा किलैमा कराइरहेका थिए, कोही नभएको घरमा किन बाँधी राख्नु भनेर मेरो गोठतिर ल्याउन लागेको थिएँ, हाम्रो बाख्रा किन लगेको भनेर डोरीमै तान्नँ आई’ छिमेकी रुक्मणि कडुवालले भावुक हुँदै भन्नुभयो, ‘त्यो अबला उसको बाख्राको मायाले रोई होला, हामी चाहिँ त्यसको मायाले रोयौं ।’

बिमला अहिले छिमेकी बाबुराम पन्तको रेखदेखमा छिन् । त्यसो त छिमेकका सबैले उनलाई उत्तिकै माया गर्छन् । ‘हाम्रो गाऊँमा ४ घर छ, ऊ हामी सबैका लागि उत्तिकै हो’ रुक्मिणी भन्नुहुन्छ, ‘जसको घरमा पहिले खानेकुरा पाक्छ उसैकोमा खान्छे, सबैलाई आफ्नै ठानेर ब्यवहार गर्छे ।’ तीन वर्ष पूरा भएकी बिमलाको अब विद्यालय जाने बेला भएको छ । पन्त गाऊँबाट सबैभन्दा नजिकको महेन्द्रशक्ति माध्यमिक विद्यालय पुग्न झण्डै एक घण्टा लाग्छ, गाऊँबाट उक्त स्कुल जाने कोही पनि छैनन् ।

गाऊँलेलाई बिमलाको पढाईको चिन्ता छ । ‘उसलाई हामी सँधै हामीसँगै राख्न चाहन्छौं, आजभोलीको जमानामा पढाउनै प¥यो तर यहाँ स्कुल टाढा छ’ बिमलाको संरक्षण गरिरहेका बाबुराम पन्त भन्नुहुन्छ, ‘बच्चीको लालनपालन गर्ने विश्वासिलो कोही भएमा राम्रै हुन्थ्यो ।’ विचमै छिमेकी रुक्मणि कडुवालले थप्नुभयो, ‘साथीहरुले तिम्रो घर कहाँ भनेर सोध्दा बक्राङ पन्तगाऊँ भन्न पाउँछिन्, दशैं तिहार जस्ता पर्व उत्सवमा सबै साथीहरु आ आफ्नो घर जाँदा उसले पनि मेरो घर यहीँ हो भनेर आउन सक्छिन्, हामी जाँदा भेट्न पाउनुप¥यो ।’ यही शैक्षिक सत्रबाट बिमलाको पढाई लेखाई शुरु गराउन पाए हुन्थ्यो भन्ने पन्तगाऊँका बासिन्दाको इच्छा छ ।


(२०७६ फाल्गुन २५, आईतवार) ०७:३२ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना