सुदुरपश्चिमका ९८ स्थानीय तहका कार्यालयहरुमा ने.क.पा.द्वारा तालाबन्दी, १३ कार्यालयको ताला प्रहरीले तोड्यो

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार २३, सोमबार) ०४:५२

सुरक्षा चुनौती रहेको भन्दै गाउँ गाउँमा ब्यापक प्रहरी परिचालित हुन् थालेपछि आक्रोशित बनेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय तह केन्द्रित गरेर आफ्ना आन्दोलनका कार्यक्रमहरुलाई तिब्रता दिन शुरु गरेको छ  ।  यसै क्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गरी  एकैरातमा ९८ स्थानीय तहका कार्यालयहरुमा  नेकपाका कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् ।

प्रदेश कार्यालय रहेको धनगढी उप–महानगरपालिकासहित कैलाली, कञ्चनपुर, अछाम, डडेल्धुरा, डोटी, दार्चुला र बैतडीका स्थानीय तहमा तालाबन्दी गरेका हुन् । आइतबार बिहानसम्म कैलालीका ४५, कञ्नपुरका २०, डडेल्धुराका १०, अछामका १२, डोटी १, दार्चुला र बैतडी गरी ९८ स्थानीय तहमा ताला लगाइएको नेकपाले जनाएको छ ।

नेकपाका कार्यकर्ताहरुले शनिबार राति एकै समयमा सबै कार्यालयमा तालाबन्दी गरेको बताइएको छ । ताला लगाइएका स्थानहरुमा नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले गरेको अपील पनि छरिएको छ । विकासे खर्चमा भ्रष्टाचार गरेको, जनतालाई सेवा नदिएर घुस लिएर मात्रै सेवा दिने गरेको, आर्थिक वर्षको अन्तिममा कामै नगरी बिल भुक्तानी गर्न लागेको भन्दै नेकपाले स्थानीय तहमा ताला लगाएसो अपिल पत्रमा उल्लेख छ ।

तालाबन्दीमा संलग्न एक नेतालाई उद्दृत गर्दै काठामाडौंस्थित एक संचार माध्यममा आएको समाचार अनुसार,  ‘पहिलो चरणमा छानिएका स्थानीय तहमा ताला लगाएका छौं र अब बाँकी भ्रष्ट र जनतालाई दुःख दिने तथा राष्ट्रको ढुकुटीमा मस्ती गर्नेलाई छोड्दैनौं । त्यस्ता कथित जनप्रतिनिधि र कर्मचारीबारे अनुसन्धान भइरहेको छ’ । उनले आफ्नो पार्टीले जनसत्ता गाउँगाउँमा स्थापना गरिसकेको भन्दै भ्रष्टहरुलाई लखेट्ने चेतावनीसमेत दिए ।

यस्तै कञ्चनपुर इन्चार्ज अर्जुनले जिल्लाका नौवटै नगरपालिका र १३ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको बताए । उनले स्थानीय तहमा व्याप्त भ्रष्टाचार र पार्टीका कार्यकर्ताको धरपकडसँगै र जनप्रतिनिधि र कर्मचारीले सुराकीको काम गरेको पाइएकोसमेत अर्जुनले बताए ।

यसैबीच डडेलधुराको परशुराम नगरपालिकाका विभिन्न वडामा बम भेटिएको छ । परशुराम नगरपालिका– ९ को गाइबाधे र १० को कुर्मुल्ले वडा कार्यालयमा आइतबार बिहान शंकास्पद बस्तु छाडेर अज्ञात समूहले तालाबन्दी गरेको हो । सोही वडाको ७ र ८ मा तालाबन्दी गरिएको छ ।

उता अछामका मंगलसेन नगरपालिकाको १ कुन्ती बण्डाली, १३ बस्ती, ढकारी गाउँपालिकाको वडा नं. २, तुर्माखाद गाउँपालिकाको वडा नं. २ भुलु र ७ तोषीसहित, रामारोशन गाउँपालिकाको वडा नं. ३ शान्तडा, ४ बाटुलासैन र ६ भटाकाटिया, पञ्चदेवल विनायक नगरपालिकासहित १२ कार्यालयमा तालाबन्दी गरिएको हो ।

ताला तोड्ने व्यक्ति जिम्मेवार हुने लेखिएको पर्चासमेत भेटिएको मंगलसेन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गोपाल थापाले बताएका छन् ।

यसै बीच प्राप्त जानकारी अनुसार,  भित्रि मधेस क्षेत्रका स्थानीय तह र वडा कार्यालयमा लगाइएका ताला तोडिएका छन्। शंकास्पद वस्तु हटाउन भने सकिएको छैन। आलिताल गाउँपालिका तथा ८ वटै वडा कार्यालय र परशुराम नगरपालिकाका चार वटा वडा कार्यालयमा लगाइएका ताला तोडिएका हुन्। आइतबार बिहान आलिताल गाउँपालिकाको कार्यालयसंगै आठ वटै वडा कार्यालय र परशुराम नगरपालिकाका चार वटा वडा कार्यालयमा तालाबन्दी गरेको भेटिएको थियो। परशुराम नगरपालिकाका दुई वटा वडा कार्यालयमा बोरामा बेरिएर राखिएका शंकास्पद वस्तु समेत फेला परेको थियो।

भित्रि मधेस क्षेत्रमा पर्ने आलिताल गाउँपालिका र परशुराम नगरपालिका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पकड रहेको क्षेत्र हो।

दुइटै स्थानीय तहमा बहुमत नहुँदा जनप्रतिनिधिबीच विवाद समेत हुँदै आएको छ। परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसबाट चुनिएका छन् भने वडा अध्यक्षमा नेकपाबाट निर्वाचित भएका छन्। बेलाबेलामा जनप्रतिनिधिबीच विवाद हुने  गरेको छ ।


(२०७६ असार २३, सोमबार) ०४:५२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वार्ता शुरू भएको भन्ने कुरा सरकारले चलाएको हल्ला मात्र हो : अनिल शर्मा “बिरही”

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच केही दिनयता वार्ता प्रयास भइरहेको खबर सञ्चारमाध्यमहरूमा आइरहेका छन्।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले विप्लवको पार्टीसँग विभिन्न.....

कोट र टाई नलगाएको भन्दै कुटिएका शिक्षक न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग हारगुहार

कोट र टाई नलगाएको भन्दै प्रिन्सिपल रमेशकुमार आलेबाट कुटिएका भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक अतित अधिकारी न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग.....

ने.क.पा. कास्कीका चार नेता फेरी अदालत परिसरबाट पक्राउ

कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको उरीमा बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट.....

Exchange Rate

Nepali Patro