वर्तमान परिस्थितिमा जनमुक्ति सेनाको दायित्व र भूमिका : निर्मल

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ जेष्ठ १६, बिहीबार) १२:१५

नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्वमा एकीकृत जनक्रान्तिको प्रक्रिया अघि बढेसँगै प्रचण्डमण्डलीद्वारा विघटित जनमुक्ति सेना पुनगर्ठन भई क्रियाशील छ । क्रान्तिकारी विचार र आदर्शबाट स्खलित भएका प्रचण्ड–बाबुरामले क्रान्तिलाई विसर्जन गरेसँगै सात डिभिजनको सङ्ख्यामा रहेको जनमुक्ति सेना विघटन गरेका थिए । उनीहरूको यसप्रकारको धोका र गद्दारीविरुद्ध विद्रोह गर्दै सच्चा कम्युनिस्ट क्रान्तिकारीहरूद्वारा पार्टीको पुनर्गठन भई अधुरो क्रान्तिलाई नयाँ ढङ्गले पूरा गर्ने प्रक्रिया अघि बढेसँगै जनमुक्ति सेना नेपालको पनि पुनगर्ठन भएको थियो । अहिले पार्टीले जनमुक्ति सेना निर्माण, व्यवस्थापन र परिचालनको विषयलाई प्राथमिकता दिने निर्णय गरेको छ । यो निर्णय कार्यान्वयन हुन थालेसँगै जनमुक्ति सेना सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले सबल बन्ने दिशातर्फ अघि बढेको छ । यो सान्दर्भिक देखिन्छ ।

१. राजनीतिक/वैचारिक

हरेक सेना राजनीतिक सत्ता हासिल गर्ने उद्देश्यद्वारा गठन गरिएको हुन्छ । जनमुक्ति सेना नेपाल नेपालमा एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्य पूरा गर्न निर्माण गरिएको सशस्त्र सङ्गठन हो । मूल रूपमा राजनीतिक सेना भएकाले जनमुक्ति सेनामा राजनीतिक तथा विचारधारात्मक कार्यलाई प्राथमिकता साथ लागू गर्न जरुरी छ । राजनीतिक–वैचारिक स्पष्टता र एकरूपता कायम नगरीकन क्रान्ति सफल बनाउन सकिन्न ।

विगत दसबर्से जनयुद्धकालमा प्रचण्ड–बाबुरामले जनमुक्ति सेनाको राजनीतिक–वैचारिक चेतना स्तर विकासका बारेमा सैद्धान्तिक कुरा प्रशस्त गरे । तर व्यवहारमा कहिल्यै लागू गरेनन् । एक दर्जन युद्धमोर्चाको नेतृत्व गरेको कमान्डले जनयुद्धकालभरि एउटा पनि स्कुलिङ कार्यक्रममा सामेल हुन नपाएको बताउनुले यसको पुष्टि गर्छ । प्रचण्ड–बाबुरामले जनमुक्ति सेनालाई ‘प्रतिक्रान्ति रोक्ने’ सेना बताए पनि व्यवहारमा साँच्चिकै प्रतिक्रन्ति रोक्न सक्ने सेना निर्माण गर्नेतर्फ ध्यान दिएनन् । व्यवहारतः उनीहरूले जनमुक्ति सेनालाई तलबका निम्ति लड्ने प्रतिक्रियावादी सेनाभन्दा माथि सोचेनन् । त्यही कारण सयौँ मोर्चामा प्रतिक्रियावादी सेनालाई धुलो चटाउन सफल जनमुक्ति सेनाको ठूलो हिस्साले प्रचण्ड–बाबुरामको धोका र गद्दारीविरुद्ध जेहाद छेड्न सिकेन, बरु कयौँ होनहार कमान्डरहरू नै शान्तिप्रक्रिायमा आएपछि पार्टीको सम्पत्ति हिनामिना गर्ने, व्यभिचार गर्ने, रक्तचन्दनको तस्करी गर्ने, स्यालको सिङ, बनमान्छेको हड्डी, बल्ने ढुङ्गा, हनुमनि पैसा, एकमुखे रुद्राक्ष, सुनगोहोरो, गनगुवाली सर्पको खोजी गर्ने कार्यमा पतीत हुन पुगे ।

पुनर्गठित जनमुक्ति सेना सबल बन्दै गइरहेको कुरा यसअघि उल्लेख भइसकेको छ । यहाँ आमरूपमा नभए पनि छिटफुट रूपमा सेनाको काम लड्ने हो, पढ्ने–पढाउने कार्य गर्नु हुन्न । पढेको सेनाले धेरै तर्क–बितर्क गर्छ र अराजक बन्छ । अनि कमान्ड गर्न कठिन हुन्छ भन्ने सोचाइ देखापर्ने गरेको छ । यो गलत सोचाइ हो । यसलाई सच्याउन जरुरी छ । पढ्नु र पढाउनुमा समस्या होइन, बरु सही कुरा सही तरिकाले नपढ्नु र नपढाउनुचाहिँ समस्या हुन्छ । सही कुरा नपढीकन सही ज्ञान हासिल हुन्न र सही ज्ञानबिना क्रान्तिको कार्यभार पूरा गर्न सकिन्न । यहाँ कार्ल माक्र्सले आफ्नो पढाइको विषयलाई लिएर आलोचना गर्ने वाइटिलङ नाम गरेको व्यक्तिलाई जबाफ दिँदै ‘अज्ञानताले कहिल्यै क्रान्ति हुन्न’ भनेको कुरालाई विशेष मनन गर्न जरुरी छ ।

ठोस रूपमा जनमुक्ति सेनाको बुझाइमा स्पष्ट र एकरूपता बनाउँदै राजनीतिक–वैचारिक चेतनास्तर माथि उकास्न योजनाबद्ध र निरन्तर कार्यक्रमको विकास गर्न जरुरी छ । यसका लागि माक्र्र्सवादका सङ्घटक अङ्गहरू– दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादबारे स्पष्ट पार्न व्यवस्थित प्रकारको स्कुलिङ कार्यक्रम सञ्चालन गर्नुपर्छ । त्यस्तै पार्टीले लिएको एकीकृत जनक्रान्तिको राजनीतिक–फौजी कार्यदिशा, वैज्ञानिक समाजवादको कार्यक्रमका विषयमा स्पष्ट पार्न प्रशिक्षण सञ्चालन गर्नुपर्छ ।

२. जनशक्ति आपूर्ति र व्यवस्थापन

जनमुक्ति सेनामा संरचनाको विस्तार गरेसँगै जनशक्तिको आवश्यकता पनि बढ्न जान्छ । क्रान्तिको आवश्यकताअनुसार संरचनाको विकास गर्दै जानुपर्छ भने संरचनामा आवश्यक जनशक्ति आपूर्ति गर्दै जानुपर्छ । जनशक्ति आपूर्ति हुन नसकेमा संरचना आफैँले केही गर्न सक्दैन । तसर्थ जनशक्तिको आपूर्तिलाई प्राथमिकता दिनुपर्छ । यसका लागि पार्टीको अगुवाइमा योजनाबद्ध रूपले व्यापक युवाहरूका बीचमा राजनीतिक र सङ्गठनात्मक अभियान सञ्चालन गर्नुपर्छ । उनीहरूलाई दलाल संसदीय पुँजीवादी व्यवस्थालाई समाप्त पारेर वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्न विद्यार्थीहरूको बीचमा जानुपर्छ । उद्योग र कारखानाका मजदुरहरूका बीचमा पुग्नुपर्छ । ग्रामीण क्षेत्रका युवाहरूका बीचमा पनि जानुपर्छ । यसरी विद्यार्थी, मजदुर र युवाहरूका बीचमा पुगेर राजनीतिक र साङ्गठनिक कार्यलाई घनीभूत पारेपछि धेरै जनतालाई पूर्णकालीन बनाउन सकिन्छ । त्यसरी पूर्णकालीन बन्ने जनशक्तिलाई जनमुक्ति सेनामा भर्ती गर्न सकिन्छ ।

अर्कोतिर जनशक्तिको सङ्ख्या बढ्दै जाँदा त्यसलाई व्यवस्थापन गर्ने चुनौती पनि थपिँदै जान्छ । रासनपानी, लत्ताकपडा, हतियार, गोलाबारुदजस्ता कुराको आपूर्ति व्यवस्थापनअन्तर्गत पर्छ । रासनपानी, लत्ताकपडाजस्ता कुराको सही व्यवस्थापन गर्न सकिएन भने जनशक्ति टिकाउन मुस्किल पर्छ भने हतियार, गोलाबरुद र अन्य प्राविधिक वस्तुहरूको सही व्यवस्थापन गर्न सकिएन भने दुस्मनका विरुद्ध युद्धमोर्चामा निर्णायक विजय पाउन मुस्किल पर्दछ । व्यवस्थापनको विषय आर्थिक व्ययभारसित सम्बन्धित हुन्छ । जतिबेला जनमुक्ति सेनाको सङ्ख्या थोरै हुन्छ, क्रान्तिको चाप कम हुन्छ, त्यतिबेला जनमुक्ति व्यवस्थापनमा आर्थिक व्ययभार कम हुन्छ र त्यसलाई पूरा गर्न तुलनात्मक रूपले सहज हुन्छ । तर सङ्ख्या बढ्दै जाँदा र क्रान्तिको चाप घनीभूत हुँदै जाँदा व्ययभार बढ्दै जान्छ र त्यसलाई पूरा गर्न कठिन बन्दै जान्छ ।

आर्थिक व्ययभार हल गर्नका लागि बजेट प्रणालीको विकास गर्नुपर्छ । एकजना जनसेनाका निम्ति वर्षभरिमा न्यूनतम् कति खर्च हुन्छ भन्ने हिसाब निकाल्नुपर्छ । अनि उक्त बजेट जुटाउने स्रोतको खोजी गर्नुपर्छ । दीर्घकालीन रूपमा आर्थिक व्ययभार धान्नका लागि जनमुक्ति सेनालाई उत्पादनकार्यमा पनि संलग्न गराउनुपर्छ ।

३. स्तर उन्नति

जनमुक्ति सेनाको स्तर उन्नतिका लागि सैद्धान्तिक प्रशिक्षणका साथसाथै भौतिक र प्राविधिक प्रशिक्षण व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्छ । स्पष्ट दृष्टिकोण र उच्च नैतिक बल हासिल गर्नका लागि सैद्धान्तिक प्रशिक्षण आवश्यक पर्छ भने लडाइँमा सशक्त तरिकाले लडेर विजयी बन्नका लागि भौतिक र प्राविधिक प्रशिक्षण आवश्यक पर्दछ । एकीकृत सैन्य कार्यदिशाअनुसार ग्रामीण र सहरी इलाकामा साथसाथै फौजी सङ्घर्ष सञ्चालन गर्नुपर्छ । सङ्घर्षको प्रकृति छापामार, चलायमान, मोर्चाबद्ध जुनकुनै हुन सक्छ । ती सबै एकीकृत सैन्य कार्यदिशाअन्तर्गत नै सञ्चालित हुन्छन् । जुनकुनै प्रकृतिको सङ्घर्षमा पनि सहज ढङ्गले लड्नसक्ने दक्ष जनशक्ति निर्माण गर्ने कुरामा जोड दिएर लाग्नुपर्छ ।

प्रशिक्षण वा तालिम तत्कालीन र दीर्घकालीन प्रकारको सञ्चालन गर्नुपर्छ । तालिमलाई विभिन्न भागमा वर्गीकरण गरेर सञ्चालन गर्दा प्रभावकारी हुन्छ । युद्धकलामा पारंगत बन्न र शारीरिक रूपमा दुरुस्त बन्न भौतिक तालिम गर्नुपर्छ । त्यस्तै हतियार र प्रविधिको निर्माण र प्रयोगमा दक्ष बन्न प्राविधिक तालिम गर्नुपर्छ । भौतिक तालिमलाई साधारण र विशिष्ट गरी दुई भागमा बाँडेर सञ्चालन गर्न सकिन्छ । नयाँ भर्ती भएकालाई साधारण तालिम दिनुपर्छ । त्यस्तै हतियार र प्राविधिक तालिमलाई पनि वर्गीकरण गरेर सञ्चालन गर्न सकिन्छ । पहिलो, हतियारसँग सम्बन्धित । दोस्रो, गोलाबारुदसँग सम्बन्धित र तेस्रो विद्युतीय साथै सूचना प्रविधिसम्बन्धी दक्ष जनशक्ति निर्माणका लागि सूचना प्रविधिबारे पनि तालिम सञ्चालन गर्नुपर्छ । यी कार्यहरू योजनाबद्ध रूपमा सञ्चालन गर्न सकेमा जनमुक्ति सेनालाई सक्षम र सबल बनाउन सकिन्छ ।

४. परिचालन

जनमुक्ति सेनालाई फौजी कार्यमा मात्र सीमित गर्नु हुँदैन । उसलाई फौजी कामका अतिरिक्त प्रचार, सङ्गठन, उत्पादन र जनसेवाका काममा पनि परिचालन गर्नुपर्छ । क. माओले भन्नुभएको छ, ‘लालसेना लड्नका लागि मात्र लड्दैन, बरु आमजनतामा प्रचार गर्न, उनीहरूलाई सङ्गठित पार्न, उनीहरूलाई शस्त्र–सुसज्जित बनाउन र क्रान्तिकारी राजनीतिक सत्ता कायम गर्नमा उनीहरूलाई सघाउनका लागि पनि लड्छ । यी उद्देश्यहरू नभएमा लड्नुको कुनै अर्थ रहँदैन र लालसेनाको अस्तित्वका लागि कुनै आधार रहँदैन ।
(माओका सङ्कलित सैन्य रचनाहरू, खण्ड १)

जनमुक्ति सेनाका सदस्यहरू व्यापक जनताको माझमा पुगेर एकीकृत जनक्रान्ति र वैजानिक समाजवादका विषयमा प्रचार कार्य गर्नुपर्छ । उनीहरू दलाल संसदीय पुँजीवादी व्यवस्थाको भण्डाफोर तथा वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको आवश्यकता र औचित्यका विषयमा जनतालाई बुझाउन सिपालु बन्नुपर्छ । उनीहरूले जनतालाई सङ्गठित गर्नुपर्छ । जनसत्ताहरू निर्माण गर्न र सञ्चालन गर्न सहयोग गर्नुपर्छ । जनतालाई परेका समस्या समाधान गर्न सहयोग गर्नुपर्छ अर्थात् जनसेवाका कामहरू गर्नुपर्छ । साथै कतिपय जनतासँगको सहकार्यमा त कतिपय आफ्नो मात्र संलग्नतामा उत्पादनकार्य पनि गर्नुपर्छ । यसका लागि पार्टीले निर्धारण गरेका चार सङ्गठनात्मक इलाकामा दुरुस्त तरिकाले परिचालन गर्न ध्यान दिनुपर्छ ।


(२०७६ जेष्ठ १६, बिहीबार) १२:१५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro