समाजमा वर्ग र वर्ण : प्रदिप गिरी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ बैशाख २९, आईतवार) ०६:५३

सन १९६० को दशकमा हिन्दुस्तानमा पढाइ गर्दा दुईजना नेताले मेरो पुस्तालाई बडो प्रभावित गरिरहेका थिए– डा. राममनोहर लोहिया र डा. भीमराव अम्बेडकर । लोहियाको चर्चित पुस्तकमध्ये एउटा ‘जातिप्रथा’ थियो । हामी राजनीतिक कार्यकर्ताका लागि त्यो पाठ्यपुस्तक थियो । सोही पुस्तकमा लोहिया बारम्बार अम्बेडकरको कुरा गर्छन् ।

डा. अम्बेडकर जीवनको उत्तराद्र्धमा लोहियासँग मिलेर पार्टी बनाउने प्रयत्नमा हुनुहुन्थ्यो, तर अम्बेडकर चाँडै बिते । जातिप्रथा यथावत् रहुन्जेल कुनै पनि समाजले सभ्यताको दावा गर्न सक्दैन, सम्पन्नता र समानताको कुरा त टाढाका भए । कुनै रोगलाई ठीकसँग नबुझी उपचार हुन सक्दैैन । हाम्रो बाल्यकालमा गाउँमा उपचार गर्ने हकिम हुन्थे । डाक्टरी नपढीकनै अभ्यासको भरमा एलोपेथीमार्फत उपचार गरिरहेका हुन्थे, हकिम । ज्वरो आयो भनेपछि एकपछि अर्को उपचार विधि चलाउँदै गयो, औषधिकै कारण बिरामी मर्न पनि सक्थ्यो– यस्तै हुन्थ्यो, हकिमको उपचार । हामीले समस्याको जडमा नपुगी समाधानको प्रयास थाल्नु भनेको तिनै गाउँले हकिमको उपचारजस्तै हुनेछ ।

अम्बेडकरजस्ता गहन अध्येता पनि जातिप्रथाबारे अनेक प्रयास गरेर अनेक बिन्दुबाट थालेर अनेक निष्कर्षमा पुग्ने गर्छन् । सहकर्मीको अम्बेडकरप्रति कति धेरै हिन्दू धर्मका ग्रन्थ, पुराणमा घोरिएको भन्ने गुनासो रहने गथ्र्यो । उनका एन्नाहिलेसन अफ कास्ट (सन् १९३६), हु वेयर द सुद्रास ? (सन् १९४६), ह्विच वे टु इमान्सिपेसन ? (सन् १९३६), द अनटचेबल्स : हु ह्वेर दे आर ह्वाइ द विकम अलटचेबल्स (सन् १९४८) जस्ता विभिन्न प्रकारका पुस्तकमा पुराणदेखि यावत् हिन्दू ग्रन्थबारे विश्लेषण गरिएको भेटिन्छ । लेखक आहूति पनि ‘वर्णाश्रम र वर्ग संघर्ष’ पुस्तकमा द्वन्द्वात्मक भौतिकवादमै केन्द्रित हुनुहुन्छ । पुस्तकको भूमिकामा जातिप्रथाको खोज गर्दाखेरि एक समयमा भारतीय उपमहाद्वीपमा बडो सूक्ष्म किसिमको व्यावसायिक विविधीकरण भएकाले जाति व्यवस्था उत्पति भएको भन्नुहुन्छ ।

वर्णव्यवस्थाको अध्येताहरूका अनुसार प्रत्येक समाजमा वर्ग हुन्छ, वर्ण पनि । भारतीय उपमहाद्वीपको अभिशाप के भइदियो भने यहाँ वर्ण जातिमा परिवर्तन हुन्छ । मुख्य समस्यै यही हो । जातिप्रथाको उन्मूलनविना समाज साँच्चै प्रगतिशील हुँदैन । हामीलाई लाग्छ, अमेरिकामा त जातिप्रथा छैन । अथवा बेलायत, जर्मनी नै भन्नुस् । हाम्रो जमानामा एउटा फिल्म खुब चलेको थियो– लभ स्टोरी । अर्बपतिको छोराले सामान्य परिवारकी कन्यासँग प्रेम गर्छन् । विवाह गर्न मान्दैनन् । त्यस्तै, अमेरिकामा डोनाल्ड ट्रम्पकी छोरी अथवा बाराक ओबामाकै छोरीले सामान्यजनस“ग सामान्यतया विवाह गर्दैनन् । नेपालमै पनि मारवाडी समुदाय एउटै जाति हो, तर त्यहाँ अलिकति धन कमाउनेबित्तिक्कै उसले न्यून आय भएका अन्य सहजातीयभन्दा आफूलाई भिन्न ठान्न थालिहाल्छ ।

जात मिल्या छ । दुवै बाहुन हुन् वा दुवै क्षेत्री हुन् । दुवै दलित हुन् वा दुवै जनजाति हुन् । तर, तीमध्ये धनीले आफूलाई सजातीयमै बेग्लै व्यवहार गर्न थाल्छ । एउटै जातिमा मान्छे सम्पन्न हुँदै गएपछि उसले आफूलाई वर्गको रूपमा हेर्न थाल्छ । वर्ग जो छ, अलिकति प्रभाव पायो भने त्यसले जातिको रूपमा व्यवहार गर्न थाल्छ । यसैले विद्वान्हरू भन्छन्, ‘प्रत्येक वर्गले वर्ण हुने लक्ष्य राख्छ, वर्णले वर्ग हुने लक्ष्य राखेको हुन्छ ।’ समाजमा अलि विशिष्टता हासिल गर्नेबित्तिक्कै म विशेष अधिकार खोज्छु । यदि कोही लेखपढ गर्ने मान्छे छ भने ‘उहाँ पढ्नुहुन्छ, बत्ती बाल्न दिऔँ भनिन्छ । जेलमा हामी १०–२० जना सँगै बस्थ्यौँ । तर, लेखपढ गर्ने बहानामा मलाई अबेरसम्म बत्ती बाल्ने, पढ्ने छुट थियो ।

मानव समाजमा दुईवटा चाहना छ– समानताको चाहना र न्यायको चाहना । न्यायको पक्षधरले भन्छ, त्यसले पढेर हुन्छ ? मलाई निद्रा लाग्दैन, बत्ती निभा । अर्कोले भन्छ म पढ्दै छु । वर्ग र वर्णलाई न्याय र समानताको चाहनाको द्वन्द्वको रूपमा समाजशास्त्रीले हेर्छन् । हामीले यी दुईको द्वन्द्वात्मक सम्बन्धलाई हरदम ख्याल राख्नुपर्छ । मान्छे विशिष्ट क्षेत्रमा योगदान पाउनेबित्तिक्कै आफूलाई छुट्टै देख्न थाल्छ– चाहे ती सांसद हुन्, विद्वान् हुन् वा पत्रकार । ‘क’ श्रेणीको पत्रकारले आफूलाई ‘घ’ श्रेणीको पत्रकारभन्दा छुट्टै देख्न थालिहाल्छ ।

वर्ग र वर्ण इतिहासमा सधैँ द्वन्द्वरत छन् । समाजमा वर्ग संघर्ष मात्रै छैन– वर्ग छ र वर्ण पनि छ । वर्ग र वर्ण सतत लडिरहन्छन् । वर्ग वा वर्ण स्थिर भएपछि वर्णबाट वर्गमा जाने सम्भावना समाप्त हुन्छ । त्यसपछि जातीयताको निर्माण हुन्छ । वर्ण के कारणले स्थिर भयो भन्ने कुराको सन्तोषजनक जवाफ मैले पाएको छैन । अब जे कारणले भए पनि हाम्रो समाजमा जातिप्रथा छ, भेदभाव छ । भेदभावले गर्दा अनेक कमी–कमजोरी र विकृति छन् । दक्षिण एसिया क्षेत्र यसै यत्तिको पिछडिएको छैन । आहूतिले लेखेको पुस्तक घोत्लिएर पढेँ, त्यसमा चैतन्य मिश्रले लेखेको भूमिका पनि पढेँ ।

मिश्र १६औँ–१७औँ शताब्दीमा यो भूभाग युरोपका कुनै पनि शक्तिभन्दा उत्पादक शक्तिका हिसाबले र उत्पादक सम्बन्धका हिसाबले निम्सरो थिएन लेख्छन् । त्यसो भए किन यति सजिलै अंग्रेजले शासन गरे, फ्रेन्चले सजिलै हराउन सके वा किन पुर्तगाली हावी भए त ? सजिलो हिसाबले व्याख्या गर्ने हो भने उत्पादन शक्ति र सम्बन्धका कारण समाज बाह्य आक्रमणसामु हार्ने हो भने यो क्षेत्रलाई पराजित गर्ने बेलायत, फ्रान्स, पोर्चुगलभन्दा हामी न्युन उत्पादन क्षमतामा थिएनौँ ? यो क्षेत्र पछाडि पर्नुको कारणमा कुनै चिज छ भने जातिप्रथाको जकड हो । जातिप्रथा अभिशाप हो । स्थिर वर्ण व्यवस्था नै त्यो अभिशाप हो, जसले मुस्लिमको आक्रमणसामु वा अंग्रेजको आक्रमणसामु भारत बारम्बार हा-यो । पानीपतको युद्धमा भन्नुस् वा महाराणा प्रतापको शासनमा भन्नुस् सबैमा यसैले भूमिका खेलेको छ ।

प्रगतिशील भनौँदो दाजु पनि भाइ राति १२ बजे आए पनि पिर मान्दैन, बहिनी १० बजेसम्म नआए ‘कता गई, के गरी ?’ भनिरहेको हुन्छ । आमा–बुवामा पनि यही हुन्छ– बहिनी, छोरी, नातिनीले प्रेम गर्ली भन्ने होइन कि कुजातसँग प्रेम गर्ली भन्ने चिन्तामा हुन्छन् ।

अब जस्तै अयोग्य भए पनि युद्धको नेतृत्व क्षेत्रीको हातमा हुनुपर्ने । एउटा फुटबल टिम त बनाउने, तर त्यसमा सबै खेलाडी एउटा जात विशेषको राख्नुपर्ने भयो भने कसरी त्यो टिम राम्रो हुन सक्छ ? समाज विविधताले भरिएको छ, तर सेनाको नेतृत्व विशुद्ध क्षेत्रीको हुने गथ्र्यो । शूद्रलाई नजिक आउन पनि नदिने । ब्राह्मणको लास भुइँमा लडिरहेको छ भने पनि शूद्रले छुन हुन्थेन । छुँदा ब्राह्मणलाई नि पाप लाग्ने, दलितलाई पनि पाप लाग्ने मान्यता थियो । यो क्षेत्रमा भएका सबै युद्धलाई यस्ता कुराले प्रभावित गरेका छन् । एउटा घाइते सिपाही छटपटाउँदै पानी मागिरहेको हुन्छ, छेउमा एउटा दलितसँग पानी छ । अब दलितले भन्छ– तपाईंलाई पानी दिँदा मलाई पाप लाग्छ । अवस्था यस्तो थियो । सेना पनि जाति व्यवस्थाका कारण जर्जर थियो ।

हाम्रो समाजको अर्को सबैभन्दा खराबी, महिलालाई प्रतिबन्ध । एकदम प्रगतिशील भनौँदो दाजु पनि भाइ राति १२ बजे आए पनि पिर मान्दैन, बहिनी १० बजेसम्म नआए ‘कता गई, के गरी ?’ भनिरहेको हुन्छ । आमा–बुवामा पनि यही हुन्छ– बहिनी, छोरी, नातिनीले प्रेम गर्ली भन्ने होइन कि कुजातस“ग प्रेम गर्ली भन्ने चिन्तामा हुन्छन् । जात मिलेको छ, डाक्टर/इन्जिनियरसँग प्रेममा भए आपत्ति छैन । जुन कारणले जातिप्रथा जड भयो, त्यही कारणले नारी स्वतन्त्रता पनि जड भयो । युरोप, अमेरिकामा नारी अपेक्षाकृत स्वतन्त्र छन् । जातिप्रथाको जडता अपेक्षाकृत कम छ । जातिप्रथा हु“दै नभएको होइन, यहाँ जति कडा र क्रुर छैन । यो सबमा भूमिव्यवस्था पनि जोडिएको छ ।

राजनीतिक परिवर्तनपछि जग्गा खोस्ने, वितरण गर्ने आदि क्रान्तिकारी कुरा हुन्छन् । खासगरी मधेसमा वर्षौं होइन, पुस्तौँदेखि एउटै भूमिमा बसिरहेको दलितको नाममा पनि लालपुर्जा छैन । २०६२/०६३ को आन्दोलन सफल भएपछि प्रचण्ड र बाबुराम भट्टराई त माओवादीले कब्जा गरेको जग्गा फिर्ता होइन, वितरण गर्नुपर्छ भन्थे । कांग्रेसका गिरिजाप्रसाद कोइराला वा शेरबहादुर देउवालाई चाहिँ माओवादीले कब्जा गरेको जग्गा कसरी फिर्ता गराउने भन्ने पिर थियो ।

मैले पटक–पटक र प्रस्टसँग भनेको छु– जग्गा बाँड्ने र फिर्ता गर्ने कुरा पछि गर्दै गर्नुहोला, पहिला बसोवास गरेको ठाउँमा बसोवास गर्नेकै स्वामित्व कायम रहोस्, एउटा अध्यादेशमार्फत यति गर्दिनुस् । मेरो अनुरोध स्विकारिएको भए बहुसंख्यक दलित लाभान्वित हुन्थे । कम्तीमा आफू बसिरहेको जमिन तिनको हुन्थ्यो, तर नेताले गर्दिएनन् । दलित आन्दालनले उठाउनुपर्ने प्रमुख माग, जो दलित जहाँ बसिरहेको छ, अब त्यसमा १० वर्षदेखि बसिरहेको होस् अथवा ५० वर्षदेखि बसिरहेको हुन सक्छ– स्वामित्वका लागि आन्दोलन गरिनुपर्छ । कुनै दलको दायरामा बसेर होइन, सबै दलका दलित अझ दलबाहिरका दलितलाई पनि समेटिने गरी हुनुपर्छ । यो किन आवश्यक भने भोलिका दिनमा कुनै एउटा दलले यसलाई मतका लागि प्रयोग गर्न नसकोस् । मेरो एउटा चिन्ता यसमा छ ।

वर्ग र वर्ण इतिहासमा सधैँ द्वन्द्वरत छन् । समाजमा वर्गसंघर्ष मात्रै छैन– वर्ग छ र वर्ण पनि । वर्ग र वर्ण सतत लडिरहन्छन् । वर्ग वा वर्ण स्थिर भएपछि वर्णबाट वर्गमा जाने सम्भावना समाप्त हुन्छ । त्यसपछि जातीयताको निर्माण हुन्छ । वर्ण के कारणले स्थिर भयो भन्ने कुराको सन्तोषजनक जवाफ मैले पाएको छैन ।

दोस्रो शिक्षाका बारेमा भन्छु । अम्बेडकरले पनि यसबारेमा धेरै भनेका छन् । त्यस्तै, आहूतिजी वैचारिक क्षेत्रमा एक्लोजस्तो देखिनुहुन्छ । उहाँले यत्रो गर्नुभएको छ । आजको दिनमा नेपालको शिक्षाको कुरा गर्ने हो भने सरकारी स्कुल लगभग गाउँ–गाउँमा छन् । वडा–वडामै छन् । कुनै पनि सरकारी स्कुलमा किन पढाइ हुँदैन ? कुनै पनि हुने–खानेको छोराछोरी सम्पन्नका छोराछोरी सरकारी स्कुलमा पढ्दैनन् । किनकि त्यहाँ कहीँकतै जान नसक्ने दलित पढ्छन् । त्यो स्कुलको अवस्था सुधार नभइन्जेल दलितको अवस्था सुधार हुँदैन । दोस्रो बिन्दु यो हो । मलाई के लाग्छ भने दलितका बच्चाहरू पढ्छु भन्दाभन्दै घरको वातावरणले गर्दा पनि गाह्रो देखिन्छ । त्यसैले प्रत्येक स्कुलमा दलितको लागि छात्रावासको व्यवस्था गरिनुपर्छ ।

तेस्रो, चुनावको विषयमा भन्नुपर्नेछ, दलितले एउटा दलितवादी आन्दोलन र पार्टीको माध्यमबाट चुनावमा भाग लिनुपर्छ । जस्तो भारतमा मायावती र काशिरामले गरे । तर, यसरी बन्ने पार्टीले चुनावको समयमा बडो उदारतासाथ संयुक्त मोर्चा बनाउनुपर्छ । तिनले संयुक्त मोर्चा बनाउँदा जनजाति, मधेसी र अरू विभिन्न प्रकारका पीडित वर्ग र सबैभन्दा बढी महिलालाई समेटेर, यो आन्दालन तिमीहरूको पनि हो भनेर चिनाउन सक्नुपर्छ । चौथो, चुनाव प्रणालीमार्फत भइरहेको दलीयकरणको विषयमा बोल्छु, आफू नेपाली कांग्रेसबाट निर्वाचित सदस्य हुदाँहुदै पनि यसबारे मेलै बोल्नुपर्छ ।

समानुपातिकको नाममा हरेक दलले केही दलितलाई केही सिट दिन्छन् । त्यो दलित आन्दोलनका लागि सबैभन्दा घातक विषय भएको छ । यदि दलितलाई सिट दिने हो भने दलितले दलितका माझबाट डा. अम्बेडकरले गान्धीसँग मागे गरेजस्तै एउटा अलग ‘इलेक्टोरेट’को माग गर्नुपर्छ । सबै पार्टीका उम्मेदवार नेताको कृपा पात्र भएर सांसद हुन पाइने स्थिति हुँदा सधैँ गाउँमा बसिरहेका मेरै पार्टीका दलित नेताले गाउँ जान छाडेका छन् । त्यसैले दलितलाई प्रतिनिधित्व गराउने निर्वाचन प्रणालीलाई बदल्नुपर्नेछ ।

(दलित रीडर र मार्टिन चौतारीले संयुक्तरुपमा आयोजना गरेको दलित बहस शृंखलाको तेस्रो भागमा गिरिले दिएको मन्तव्यको सम्पादित अंश)


(२०७६ बैशाख २९, आईतवार) ०६:५३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नवसामन्त, नवधनाढ्य र हुकुमवासी : सुशीला कार्की

पशुपतिनाथ, जानकी मन्दिर, सुदूरपश्चिमको उग्र तारा, प्युठानको स्वर्गद्वारीलगायतका मन्दिर, मठ तथा बालुवाटारको सरकारी जग्गा कब्जा गरी हड्पिएका समाचार पत्रपत्रिकामा प्रकाशित छन्। रकम कलम मिलाई गैरकानुनी.....

तिर्थराज घिमिरेको हत्याविरुद्ध ने.क.पा.द्वारा संघर्षको घोषणा, हत्याको बदला जनताले उचित समयमा लिने बिप्लवको उद्घोष

सरकारले दोहोरो भिडन्तमा भोजपुरका तिर्थराज घिमिरेको मृत्यु भएको दाबी गरे पनि बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता घिमिरेलाई "नियन्त्रणमा लिएर हत्या गरेको" आरोप लगाएको छ.....

ने.क.पा. भोजपुरका जिल्ला सदस्य घिमिरेको गोली हानि हत्या, पार्टी केन्द्रीय सदस्य एबम भेरी ब्युरो इन्चार्ज शीतलसहित चार नेता गिरफ्तार

पार्टीलाई प्रतिबन्ध लगाएर ब्यापक दमनमा उत्रिएको सरकारद्वारा परिचालित प्रहरीले पहिलो पटक विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक नेताको गोली हानि हत्या गरेको छ । भोजपुर र.....

Exchange Rate

Nepali Patro