थाइल्यान्डका राजाको राज्याभिषेक

संबाददाता : बुद्धि हमाल     प्रकाशित मिति: (२०७६ बैशाख २१, शनिबार) २३:५३

थाइल्यान्डका राजा महा वजिरालंगकर्णले शनिबार राज्याभिषेक गरेका छन् । बैंककस्थित ग्रान्ड प्यालेसमा जलसेचन गरेर राज्याभिषेक गराइएको दरबारका अधिकारीहरुले जनाएका छन् ।

थाइल्यान्डमा राज्याभिषेकलाई राज्य सन्चालनको पूर्ण अधिकारका लागि गरिने एउटा महत्वपूर्ण सांस्कृतिक प्रक्रियाकारुपमा लिइन्छ ।

पवित्र जल राजाको शीरमा छर्केर शुद्ध बनाएर राज्याभिषेक गराइने धार्मिक तथा संस्कृतिक परम्परा रहेको छ ।

स्थानीय समयानुसार शनिबार बिहान ९ बजेदेखि सुरु भएको राज्याभिषेक समारोहको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । दिउँसो १ बजेसम्म समारोह चलेको थियो ।

राज्याभिषेक समारोहमा राज्याभिषेकका लागि राजा वजिरालंगकर्ण रानी सुथिडासहित उपस्थित भएका थिए । थाइ नरेश वजिरालंगकर्णले केही दिनअगाडिमात्रै आफ्नै सुरक्षामा खटिएकी महिलासँग विवाह गरेका हुन् ।

६६ वर्षीय नरेशले ४० वर्षीया महिलासँग तेस्रो बिहे गरेर उनको नाम रानी सुथिडा राखिएको छ । अहिले बिहे गरेकी महिला राजा वजिरालंगकर्ण युवराज छँदै सन् २०१४ मा अंगरक्षकको समूहमा प्रवेश गरेकी थिइन् ।

सुथिडाले राजाको विशेष सुरक्षा दस्तामा रहेर लामो समय काम गरेकी छन् । शाही सुरक्षामा जोडिनुअघि उनी थाइ एअरलाइन्समा परिचारिका थिइन् ।

राजा वजिरालंगकर्णको यसअघि तीनजनासँग विवाह भएपनि तीनैजनासँग सम्बन्धबिच्छेद भइसकेको छ ।

थाइ नरेशले तेस्री श्रीमतीसँग पाँच वर्षअघि १३ वर्ष लामो वैवाहिक सम्बन्धलाई बिच्छेद गरेका थिए । पहिलेका तीन विवाहबाट थाइ नरेशका सात सन्तान छन् ।

थाइल्यान्डमा लामो समय राज्य गरेका भूमिवोल अदुल्यादेजको सन् २०१६ मा निधन भएपछि उनका छोरा वजिरालंगकर्ण राजा बनेका हुन् ।

थाइल्यान्डमा संवैधानिक राजतन्त्र छ । राजपरिवारलाई थाइहरूले निकै श्रद्धा गर्छन् र उनीहरूसँग शक्ति पनि छ ।

थाइल्यान्डमा राजपरिवारको आलोचना गर्न मनाही गरिएको कडा कानुनी व्यवस्था छ । रासस/सिन्ह्वा


(२०७६ बैशाख २१, शनिबार) २३:५३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

थुनुवाको मृत्यु भएपछि स्थानीय बासिन्दाद्वारा प्रहरी कार्यालय अगाडि प्रदर्शन

रौतहटमा गाडी दुर्घटना भएर दुई थुनुवाको मृत्यु भएको विरोधमा स्थानीयले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रहरीको लापरबाहीले थुनुवाको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय.....

लोकप्रिय देशभक्त, क्रान्तिकारी स्रष्टा रसुवाली कवि फेरि गिरफ्तार

लोकप्रिय, देशभक्त, क्रान्तिकारी स्रष्टा,  युवा जनकवि ठाकुरप्रसाद तिम्सिना "रसुवाली कवि"लाई प्रहरीले आज फेरी गिरफ्तार गरेको छ । उनीसंगै पक्राउ परेका नयाँ पत्रिका दैनिकका पत्रकार एबम कबि.....

नेपालमा गणतन्त्र उल्टाउने प्रयास भैरहेको प्रधानमन्त्रीका सल्लाहकारको खुलासा

प्रधानमन्त्री केपी शर्माका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनताको असन्तुष्टिलाई 'सके (राजनीतिक) व्यवस्था नभए सरकारविरूद्ध प्रयोग' गर्न 'बाहिरका र भित्रका शक्ति सक्रिय' रहेको.....

Exchange Rate

Nepali Patro