विप्लव नेतृत्वको ने.क.पा.को राजनीतिक समाधानका उपायहरु : राजेन्द्र किराँती

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७५ चैत्र १९, मंगलवार) २०:४८

सरकारले गैरसंवैधानिक र गैरकानुनी हर्कत गरेको भन्दै विप्लव नेकपालाई प्रतिबन्ध लगाएको छ । यसपछि विप्लव नेकपा एकाएक चर्चामा आएको छ । प्रतिबन्ध लगाउनुपर्छ र पर्दैन भन्ने मुद्दाले सिङ्गो राजनीति नै विभाजित भएको छ । उसले भ्रष्टाचार र दलालीविरुद्ध भन्दै जताततै बम विस्फोट, आगजनी, चन्दाको उर्दी र नेपाल बन्दसम्मका कार्यक्रम गरिरहेको छ । अधुरो क्रान्तिलाई पूरा गर्न अर्को क्रान्तिको ऐतिहासिक आवश्यकता भनेर दाबी गरिहेका छन् । कतिपयले दस वर्षे जनयुद्धको दोस्रो भाग भनेर टीकाटिप्पणी गर्दैछन् । अर्थात आम नागरिकमा चिन्ता, चासो र संशय बढेको छ । यही मर्मको अभिव्यक्तिको रूपमा यसको समाधान राजनीतिक सुझबुझको साथ गर्नुपर्ने चौतर्फी दबाब बढिरहेको छ ।

नेपालमा यतिखेर एकातिर सत्तारुढ र अर्कोतिर विद्रोही नेकपा छ । सत्तारुढ नेकपा निर्वाचन आयोगमा दर्ता छ भने विद्रोही नेकपा दर्ता छैन । अझ रोचक यथार्थ त के छ भने दुवै नेकपा हिजो सँगसँगै जनयुद्ध लडेका सहयात्री हुन् । यो अनौठो संयोग जस्तै भएको छ । कतिपयले यसलाई नेकपा नेकपाबीचको अनौठो अन्तरविरोध भनेर संज्ञा दिइरहेका छन् । मूलतः कम्युनिस्ट पार्टीको लक्ष्य, उद्देश्य र गन्तव्य एउटै हुन्छ । दुवैले समाजवाद र साम्यवादकै कुरा गर्छन् । समानता र न्यायकै वकालत गर्छन् । मुक्ति र स्वतन्त्रताकै सवाल उठाउँछन् । विभेद र अन्याय अन्त्यको कुरा गर्छन् । सबै वर्ग, जाति, क्षेत्र र लिङ्गको बराबरी अधिकारको नारा लगाउँछन् । यद्यपि उनीहरू किन फरक राजनीतिक पद्धति र प्रक्रियामा छन् ? यो गम्भीर राष्ट्रिय राजनीतिक बहसको विषय हो ।

खास गरेर विद्रोही ने.क.पा.ले सत्तारुढ नेकपा माथि थुप्र्रै सैद्धान्तिक राजनीतिक विचलन, विकृति र विसङ्गती रहेको आलोचना छ । कम्युनिस्ट आन्दोलनबाट विचलित र पथभ्रष्ट भएको दाबी छ । उसले जनताको जनवादी अधिनायकत्वसहितको केन्द्रीय राज्यसत्ताका लागि लडेको सहयात्री कमरेडहहरू एकाएक दलाल पुँजीवादी संसदीय दलदलमा फसेको आरोपछ । दस वर्षे जनयुद्धको रणनीतिक लक्ष्य, उद्देश्य, गन्तव्य र मर्मलाई बाटोमै अलपत्र पारेको भनाइछ । बहुसङ्ख्यक उत्पीडित जनता, सहिद, घाइते, अपाङ्ग र बेपत्ता नागरिकहरूको सपनामाथि कुठराघात गरेको जिकिर छ । कम्युनिस्ट मूल्य र मान्यताबाट च्यूत भएको निष्कर्षछ । बरु उल्टै कम्युनिस्ट पार्टी नै अरू संसदीय लोकतान्त्रिक दलहरू जस्तै भ्रष्टाचार, कमिसन, ठेक्का, नाफाखोरी र तस्करी जस्ता दलाल पुँजीवादी कमाउ धन्दामा लिप्त भएको आरोप छ । यसकारण उनीहरूको निष्कर्ष के छ भने, साँचो कम्युनिस्ट पार्टी गठनको ऐतिहासिक आवश्यकता छ, अर्को आन्दोलन जरुरी छ, रूपान्तरण अनिवार्य छ अनि विद्रोह अवश्यंभावी छ ।

यता सत्तारुढ नेकपाले भने दस वर्षे जनयुद्ध लगायतका परिवर्तनकारी आन्दोलनहरूले एकहदसम्म राजनीतिक समस्या समाधानभइसकेको दाबी छ । हाल गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक लगायतका राजनीतिक एजेन्डाहरू स्थापित भएको जिकिर छ । वर्तमान प्रतिकूल विश्व परिस्थितिलाई मध्यनजर राख्दै प्राप्त उपलब्धिको जगमा टेकेर विकास र समृद्धिको प्रक्रियामार्फत समाजवाद हुँदै साम्यवादतर्फ जाने योजना छ । समृद्ध नेपाल र सुखी नेपाली भन्ने मूल नारासहित देश निर्माणको राष्ट्रिय अभियानमा छ । यस्तो अनुकूल राजनीतिक परिवेशमा अझै कुनै किसिमको विद्रोह र आन्दोलनको अपरिहार्यता छैन भन्ने सत्तारुढ नेकपाको ठहर छ । क्रान्तिको नाममा अझै सङ्घर्ष गर्नुपर्ने वस्तुगत अवस्थामा नरहेको भनाइ छ । हाल कार्यान्वयनको प्रक्रिया र पहुँचमा रहेको राजनीति नै प्रयाप्त हुने निष्कर्ष छ ।
मुख्यतः एकातिर दुई तिहाइको कम्युनिस्ट पार्टीको सरकारसँग जनताको आशा अपेक्षा धेरै रहेका छन् । उपभोगवादी संस्कृति हावी भएको समाजमा सीमाहीन शीघ्र अपेक्षा अत्यधिक हुन्छ । ताकि कसैका लागि पनि जनअपेक्षा पूरा गर्नु त्यति सजिलो हुँदैन अर्थात् जनताको व्यापक अपेक्षा बमोजिम प्रतिबद्धता र सपनाहरू बाँडिन्छ । तर सैद्धान्तिक प्रतिबद्धता अनुरूप व्यावहारिक कार्यान्वयन सहज छैन । यही वस्तुगत असन्तुलनकै कारण जनअपेक्षा पूरा हुँदैन । तब स्वभावतः एबीसीडी कुनै पनि सरकारको आलोचना भइ नै रहन्छ ।

अर्कोतिर कम्युनिस्ट सरकारले आफ्नो आधारभूत सिद्धान्तअनुसार नीतिगत र पद्धतिगत कार्यक्रमहरू लागू गर्न नसक्नु पनि जिम्मेवार देखिन्छ । वस्तुतः कम्युनिस्ट सरकार भनेको औषत संसदीय सरकारभन्दा सारभूतरूपमै भिन्न हुन्छ र हुनुपर्दछ । सैद्धान्तिक राजनीतिक पद्धति, मूल्यमान्यता, रणनीतिक तथा कार्यनीतिक उद्देश्यहरू फरक हुन्छ । नीति तथा कार्यक्रम, जीवनशैली, कार्यशैली र आचरण नै भिन्न हुन्छ । अर्थराजनीतिक तथा सांस्कृतिक पद्धति नै आकाश धरती अन्तर हुन्छ । बाटो र गन्तव्य मात्र फरक हुँदैन हिडाइको तरिका नै अर्को हुन्छ । काम र श्रम संस्कृतिलाई प्रोत्साहन गरिन्छ । आम मनोविज्ञान, सोच, चिन्तन मनन्, बुझाइ र व्याख्या गराइ नै फरक हुन्छ । हरेक घटना, घटना प्रक्रिया र सत्तालाई निरन्तर आन्दोलनको ऐतिहासिक प्रक्रियामार्फत परिवर्तन हुने सार्वभौम सच्चाइलाई आत्मसात गर्दछ ।

तर किन किन यो सरकार पनि औसत परम्परागत सरकारभन्दा भिन्न हुनसकेको छैन । पार्टी, पात्र र माहौल परिवर्तन भए पनि राज्यसत्ताको सारभूत वर्गीय चरित्रमा परिवर्तन भएको छैन । यो सामन्य औसत संसदीय विचारद्वारा निर्देशित सरकार जस्तो मात्र देखिन्छ । विगतदेखि गरिँदै आएको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विरासतको रूपान्तरण हुनसकेको छैन । अझ स्पष्ट गर्दा उत्पादनमुखी काममा भन्दा अति औपचारिकता, आडम्मर, ढोङ र पाखण्डीपन बढिरहेको छ । काम र परिणामभन्दा भाषण र वक्तव्यबाजी परम्परागत नै छ । भ्रष्टाचार, कमिसनतन्त्र र नाफाखोरीतन्त्र, तस्करी, विसङ्गती र विकृती उस्तै छ । कार्यदिशा, कार्यक्रम, जीवनशैली, कार्यशैली र आचरण पुरानैछ । आम मनोविज्ञान, सोच्ने तरिका, चिन्तन पद्धति र हरेक राजकीय अङ्गहरूको काम गर्ने शैली यथावत छ । काम वा श्रम संस्कृति आम थितिको रूपमा छैन । हामी कम्युनिस्टहरू काँगे्र भन्दा यो मानेमा फरक छौँ भनेर दाबी गर्ने ठोस र स्पष्ट सैद्धान्तिक, राजनीतिक र आचरणगत आधार छैन । तब जनता कसरी हामीबाट सन्तुष्ट हुन्छन् ?

यस्तो पुरातनवादी शासकीय कार्यशैली र जीवन व्यवहारको रटानवाट मात्र जनअपेक्षा पुरा हुँदैन भन्ने कुरा सत्य हो । तब कम्युस्टि सरकारप्रति वितृष्णा जाग्दछ । जनताको अपेक्षा र चाहनाहरू मर्दछन् । कम्युनिस्ट र कम्युनिस्टइत्तर बीचमा कुनै सैद्धान्तिक राजनीतिक पर्खालहरू रहँदैन । साना हल्ला र घटनाकै कारण पनि सरकार विरोधी मनोविज्ञान भाइरल हुनजान्छ । यही कमलो, कमजोर र संवेदनशील स्थितिमा अग्रगामी, यथास्थितिवादी र पश्चगामी शक्तिहरू सतहमा देखापर्छ । आआफ्नो राजनीतिक स्वार्थको दाउ थापेर अघि बढ्दछ । यस्तो बेला सरकारलाई गम्भीर अप्ठ्यारो पर्दछ । त्यसैले सरकार सवल र सफल हुनका लागि रणनीतिमा दृढता र कार्यनीतिमा लचकता अनिवार्य हुन्छ । सिद्धान्त, विचार र व्यवहारमा दृढता र स्पष्टता जरुरी हुन्छ । कमी कमजोरी र गलत संस्कृतिहरूलाई स्वार्थ मिल्यो भन्दैमा सम्झौता गर्नु हुँदैन । निहीत स्वार्थ र लेनदेनमा फस्नु हुँदैन । राजनीतिलाई पुस्तेउलो विरासत, व्यापार र व्यवसाय जस्तो बनाउनु हुँदैन ।

भर्खरै विप्लव नेकपालाई सरकारले प्रतिबन्ध लगाएको छ । तर इतिहास सिद्ध तथ्य के हो भने प्रतिबन्ध र दमनबाट समस्याको समाधानभएको छैन । बरु उल्टै भीषण द्वन्द्वमा मुलुक फसेको पाइन्छ । यसकारण विप्लव नेकपाको राजनीतिक समाधानबाहेक अर्को विकल्प छैन । सामन्यतय राजनीतिक समाधानभन्नाले वार्ता र संवादलाई बुझाउँछ । तर यसले मात्रै पूर्ण समाधानदिनसक्दैन । सैद्धान्तिक तथा राजनीतिक दृष्टिकोण नै फरक भएपछि दुवै पक्षहरूको जित जितको अवस्थामा राजनीतिक सम्झौता हुनै सक्दैन । यो सार्वभौम नियम हो । यसमा एउटा पक्ष हाबी हुनैपर्छ । त्यसैले विप्लव नेकपाको राजनीतिक समाधानभनेको उसले जुनजुन जनसरोकारका मुद्दाहरू उठाएर भावनात्मक समर्थन र साहनुभूति पाइरहेको छ सरकार त्योभन्दा एक कदमअघि बढ्नुपर्छ । उसले जेजे आरोप लगाइरहेको छ त्यसलाई नीतिगतरूपमै चिरेर खाँटी कम्युनिस्ट चरित्र देखाउनुपर्छ । तब उसको गतिविध स्वतः निस्तेज हुँदैजान्छ ।

वस्तुतः वर्तमान सरकार पनि कम्युनिस्ट सरकार हो । यता विद्रोही पनि कम्युनिस्ट नै हो । यिनीहरू दुवैको रणनीतिक उद्देश्य भिन्न छैन र हुँदैन । त्यसकारण विप्लव नेकपाको पहिलो दीर्घकालीन राजनीतिक समाधानभनेको कम्युनिस्ट विचार सिद्धान्तमा जोड र लोकतान्त्रिक औसत गतिविधिमा ध्यान दिने सवाल हो । राष्ट्रिय औद्योगिक पुँजी निर्माणमा जोड र दलाल निगम र वित्तीय पुँजीलाई दुरुत्साहन गर्ने हो । उत्पादनमूलक कृषि तथा औद्योगिक अर्थतन्त्रमा जोड र सेवामूलक अर्थतन्त्र विकासमा ध्यान दिने विषय हो । सरकारी पुँजी विकासमा जोड र उदार निजी पुँजीमा ध्यान दिने सवाल हो । राष्ट्रिय पुँजी निर्माणलाई जोड र राष्ट्रघाती, जनघाती र असमान स्वार्थमा आधारित परियोजनाहरूलाई निस्तेज गर्नुपर्छ । कम्युनिस्ट आचरण र जीवनव्यवहारमा जोड र वुर्जुवा उपभोगवादी संस्कृतिमा ध्यान दिनुपर्छ । सामूहिकतमा जोड र निजीमा ध्यान दिने हो । दुःखी गरिब वा विपन्नलाई जोड र सम्पन्नलाई ध्यान दिने कुरा हो ।

त्यस्तै सामूहिक तथा सामाजिक स्वामित्व र स्वार्थलाई जोड र निजी स्वामित्व र स्वार्थलाई ध्यान दिनुपर्छ । गाउँलाई जोड र सहरलाई ध्यान दिने कुरा हो । अशिक्षित र अनपढलाई जोड र शिक्षितलाई ध्यान दिनुपर्छ । पहुँच नहुनेलाई जोड र हुनेलाई ध्यान दिनुपर्छ । शक्तिहीनलाई जोड र शक्तिशालीलाई ध्यान दिने तरिका हो । दुर्गमलाई जोड र सुगमलाई ध्यान दिने नीतिमा आधारित हुन्छ । तत्कालका लागि लोपोन्मुख, दलित, महिला र जनजाति समुदायहरूलाई जोड अरू समुदायलाई ध्यान दिनुपर्छ । शारीरिक श्रममा जोड र मानसिक श्रममा ध्यान दिनुपर्छ । कम्युनिस्ट पद्धतिमा जोड र आचरणमा ध्यान दिनुपर्छ । उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गको पनि सबभन्दा उत्पीडितहरूलाई जोड र बाँकीलाई ध्यान दिनुपर्छ । समग्र देश विकासमा जोड र व्यक्तिगत आर्जनमा ध्यान दिनुपर्छ । यही जोड र ध्यानको द्वन्द्वात्मक ऐतिहासिक समायोजन प्रक्रियाबाट मात्र समाजवाद निर्माणको लामो र कष्टसाध्य अभियान फत्ते गर्न सकिन्छ ।

तसर्थ, विप्लव नेकपाको वस्तुवादी वैठान भनेको राजनीतिक समाधाननै हो । तर राजनीतिक समाधानभन्नाले वार्ता र सहमतीलाई मात्र जनाउँदैन । भिन्न विचार र दृष्टिकोण भएपछि सबै राजनीतिक सवालहरूमा सम्झौता भइहाल्ने वस्तुगत स्थिति रहँदैन । यसको स्थायी हल भनेको विप्लव नेकपाले सरकारप्रति लगाइरहेको आरोपहरूको व्यवहारतः स्पष्ट जवाफ दिनु हो । कमीकमजोरी सच्याउँदै रूपान्तरण हुनु हो । कम्युनिस्ट सरकारले कम्युनिस्ट सिद्धान्त, चरित्र, संस्कृति र चिन्तनलाई आचरणमा बदल्नु हो । भ्रष्टाचार, कमिसन, नाफाखोरी, ठेकेदारी र तस्करीलाई नीतिगत तथा आचरणगत रूपमा दुरुत्साहन गर्नु हो । कम्युनिस्ट कार्यशैली र जीवनशैलीलाई व्यावहारिक जीवनमा लागू गर्नु हो । वैज्ञानिक समाजवादतर्फको यात्रा तय गर्नु हो । राजनीतिलाई व्यापार नभएर ऐतिहासिक प्रक्रियागत आन्दोलन, त्याग र सेवाको रूपमा आत्मसात गर्नुपर्छ । अर्थात विप्लव नेकपाले उठाएको जायज मुद्दाहरूलाई अझ एक कदम अघि बढेर सम्बोधन गर्नुपर्छ । तब मात्र अरू आन्दोलन बेकार हुनुको साथै विप्लवप्रतिको औचित्य र सद्भाव कमजोर हुनेछ । यही विन्दुबाट राजनीतिक समाधानको ढोका पनि खुल्नेछ ।


(२०७५ चैत्र १९, मंगलवार) २०:४८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित ,पोखरामा बम डिस्पोज हुँदा एक सैनिक घाइते

नेत्र बिक्रम चन्द "बिप्लव" समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । पोखरामा पनि बन्दको प्रभाव परेको छ । निजी सवारी साधन फाट्टफुट्ट चलेको देखिए पनि सार्वजनिक गाडी गुडेका छैनन् । पोखरा बाट.....

विरोधी समाप्त गर्न ल्याइएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विद्युतीय अपराध ऐन खारेज गर ।

विरोधी समाप्त गर्न ल्याइएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विद्युतीय अपराध ऐन खारेज गर.....

के दियो लगानी सम्मेलनले ? : गुणराज लोहनी

नेपालमा विदेशी लगानी भित्र्याई देशको विकास गर्ने भन्दै केपी शर्मा ओलीको सरकारले गत मार्च २९ र ३० मा काठमाडौँस्थित नेपालकै सबैभन्दा महँगो सोल्टी होटेलमा लगानी सम्मेलनको आयोजना गरेको थियो.....

Exchange Rate

Nepali Patro