दलित-दलितभित्रै विभेद : पानी छोइने भन्दै बिक र दमाईका छुट्टाछुट्टै इनार

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ पुष १६, सोमबार) ०९:३६

कैलालीको गोदावरी नगरपालिका–१२, ओलानीको बांगेसाल बस्तीमा दलित परिवारका डेढ दर्जन घर छन् । ती मध्ये आधा दर्जन जति दमाईका घर हुन्  भने बाँकी विश्वकर्माका । तर बस्तीका विश्वकर्मा र दमाईं जातिले एक–अर्काले छोएको पानी नचल्ने भन्दै खानेपानीका लागि वर्षौंदेखि फरक–फरक इनार प्रयोग गर्दै आएका छन् ।

दमाईंले विकको इनार र विकले दमाईंको इनारमा पानी भर्दैनन् । विकले आफूलाई दमाईंभन्दा माथिल्लो जातिको ठान्छन् । उनीहरूलाई आफ्नो इनार दमाईंलाई प्रयोग गर्न दिँदैनन् । दमाईं पनि विकको इनारमा पानी भर्न जाँदैनन् ।

दलितभित्रकै विक, सुनार, कामी थर भएकाहरूले दमाईं, आउजी, ढोली, नेपाली र सार्कीलाई अछुत मान्ने संस्कार गाउँमा व्याप्त छ । स्थानीय विमला सेरालाले दलितभित्रकै जातीय विभेदले गर्दा गाउँमा दुई जातिले छुट्टाछुट्टै इनार प्रयोग गर्दै आएको बताइन् । ‘सय मिटरको दूरीमा विक र दमाईंका अलग–अलत इनार छन् । तर, एक जातिले अर्को जातिको इनार छुँदैनन्,’ सेरालाले भनिन् ।

चुरेको फेदीमा पर्ने गोदावरी नगरपालिकाको ११ र १२ नम्बर वडाको ओलानी क्षेत्रमा खानेपानीको चरम समस्या छ । केही वर्षअघिसम्म इनारबाहेक खानेपानीको अन्य विकल्प थिएन । अहिले केही खानेपानी योजना बने पनि सबैको पहुँचमा छैन । करिब २० प्रतिशत स्थानीयले अझै इनारको पानी प्रयोग गर्छन् । गाउँमा दमाईं, विक र माथिल्लो जातिका छुट्टाछुट्टै इनार छन् । वर्षौंंअघि राज्यकै लगानीमा जातिअनुसार छुट्टाछुट्टै इनार बनाइएको हो । ११ नम्बर वडाका प्राविधिक चन्द्रसिंह कामीका अनुसार ०५८ सालसम्म तत्कालीन गाविस कार्यालयले नै जातीय कुवा निर्माणमा बजेट छुट्याउने गरेको थियो ।

इनार प्रयोगमा सार्वजनिक रूपमै छुवाछुत हुने गरेको भन्दै दलित समुदायले विरोध गर्न थालेपछि सक्नेले निजी इनारसमेत बनाएका छन् ।

तयति मात्र हैन, एउटै बस्तीमा बस्ने दुई दलित समुदाय एक–अर्काको घरमा खानपानसमेत गर्दैनन् । उनीहरूबीच बिहेवारी पनि चल्दैन । एक समुदायको घरमा हुने भोजभतेरमा अर्को समुदायको सहभागिता  हुँदैन ।

दमाईंले विकको इनार प्रयोग गरेको भन्दै असारमा गाउँका दमाईं र विक जातिबीच विवाद भएको थियो । स्थानीय शंकर नेपाली (दमाईं)को घरमा भएको वैवाहिक कार्यमा पानीको अभाव भएपछि नजिकै रहेको विकको इनारबाट पानी भर्न खोज्दा विवाद भएको थियो । तल्लो जातिले आफ्नो इनार छोएको भन्दै विक जातिका केही व्यक्तिले दमार्इं समुदायका मानिसलाई हातपातसमेत गरेका थिए । वडासदस्यसमेत रहेका स्थानीय चन्द्र नेपालीले त्यतिवेला कुटपिट गर्नेले माफी मागेपछि घटना गाउँमै मिलाइएको बताए ।

‘एउटै बस्तीमा बस्ने भएकाले घटना किन लम्ब्याउनु भनेर गाउँमै मिलाएका हौँ,’ नेपालीले भने, ‘दलित–दलितबीच नै गाउँमा चर्को छुवाछुत छ ।’ उनले आफूले पनि विकको इनार प्रयोग नगर्ने बताए ।

संविधानले जातीय विभेदलाई दण्डनीय अपराध भनेको छ । तर, दलितभित्रकै छुवाछुतले जातीय विभेद अन्त्य गर्न थप चुनौती रहेको अध्यक्ष विकले बताए । आजको नयापत्रिका दैनिकमा खबर छ l

 

 


(२०७५ पुष १६, सोमबार) ०९:३६ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना