सत्तारुढ नेकपाको बिकल्प : सत्यानाश कि समाजवाद ? – घनश्याम भुसाल

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ पुष १५, आईतवार) १६:२७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थाथी कमिटी बैठक झन्डै दुई साता चल्यो, जहाँ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रतिवेदनमा निकै बहस भयो । अन्तिममा परिमार्जनसहित प्रतिवेदन पारित भयो । पूर्व एमाले र नेकपा गठनयता पार्टीमा विधि र पद्धतिको विषय तथा अहिलेको आवश्यकताअनुसार नयाँ कार्यदिशाको माग गर्दै आएका घनश्याम भुसाल यो बैठकमा भएको बहस र निर्णयपछि उत्साही छन् । तर, कार्यान्वयनमा शीर्ष नेतृत्वदेखि सचिवालय र स्थायी कमिटीका सदस्यसम्मले इमानदारितापूवर्क काम गर्नुपर्ने भुसालको तर्क छ । त्यसैले उनी अहिले पर्ख र हेरको अवस्थामा छन् । नेकपाको स्थायी कमिटी बैठकको अनुभव, उपलब्धि, निर्णय र यसको कार्यान्वयनबारे स्थायी कमिटी सदस्य भुसालले रातोपाटीकर्मी बबिता शर्मासँग आफ्नो अनुभव सुनाएका छन् ।

पूर्व एमालेका समस्या जसरी बैठकमा आए

पार्टी एकता भएको लामो समयपछि हामी बैठक बस्यौँ, यस्तो गर्नु हुँदैनथ्यो । समस्या असाध्यै थुप्रिएपछि बैठक बस्यौँ । लामो समयदेखि थुप्रिएका समस्याका विषयमा चर्चा पर्याप्त भयो । त्यस हिसाबले यो राम्रो भयो । लामो अन्तरालपछि बसेको बैठकमा छलफल मात्रै होइन, एकले अर्कालाई चिन्ने, जान्ने अवसर भयो । स्पष्टसँग भन्दा पूर्व एमालेका केही आन्तरिक समस्या बैठकमा अलि बढी आए । पूर्व एमालेभित्रको समूहबन्दी, गुटबन्दीका कारणले थुप्रिएका समस्या अलि बढी आए । त्यो हेर्दा पूर्व माओवादीका साथीहरूलाई अलि रोमान्चकारी लागे होला भन्ने लाग्छ । समयको हिसाबले भन्ने हो भने संसद बैठकको ठीक अगाडि, सरकारको टिप्पणी धेरै भैरहेको समय स्थायी कमिटीको बैठक बस्यो । यसले सामान्यता ठिकै निर्णयहरू गरेको छ । समग्रमा यो बैठकमा भएका निर्णय, समझदारी, अपेक्षाहरूमा नेतृत्व गम्भीर भइदियो भने क्रमशः पार्टी र सरकारका समस्याहरू समाधान हुँदै अगाडि जान्छन् ।

अध्यक्ष प्रचण्डको भूमिका अपेक्षित नै पाएँ

बैठकमा अध्यक्ष प्रचण्ड कमरेड आफँैले पनि भन्नुभयो, पूर्व माओवादीका साथीहरू अलि मौन अथवा पर्ख र हेरको अवस्थामा रहनुभएको हो कि जस्तो पनि लाग्यो । लिडरको हिसाबमा मेरा लागि अध्यक्ष प्रचण्ड कमरेडको भूमिका अपेक्षित नै लाग्यो । किनभने हरेक मामलामा विवादहरूलाई सकेसम्म साँघुरो बनाउन पाए हुन्थ्यो, मनमुटावहरू नभए हुन्थ्यो भन्ने सोचाइ देखियो उहाँमा । त्यस हिसाबले पूर्व माओवादीको झन्डै पाँच हजारको केन्द्रीय कमिटीलगायत अन्य कमिटीहरूमा हामीले देख्दा जुन खालको अराजकता थियो, त्यहाँ प्रचण्ड कमरेडको व्यक्तित्वले सम्पूर्ण सङ्गठनहरू टिकाएको रहेछ भन्ने अनुभव भयो ।

‘जादुको छडी’ घुमाएर पार्टी बन्दैन

मान्छेले कल्पना गरे जसरी पार्टी त बन्दैन तर हामी त्यसतर्फ गएका छाँै कि छैनौँ, त्यो मुख्य कुरा हो । एकता प्रक्रियाको चरणमा पूर्व एमालेमा जुनखालको संगठनको अभ्यास थियो, त्योभन्दा धेरै नराम्ररी खलबलिएर गएको छ । यो एक हिसाबले धेरै नकारात्मक छ । तर सधैँ यस्तो रहन सक्दैन । मैले बेला–बेला भन्ने गरेको छु, अब हाम्रा अगाडि या त ‘समाजवाद’ या ‘सत्यानास’ भन्दा अरू विकल्प छैन । मैले सोचेजस्तो समाजवादतर्फ जाने हरेक मान्छे दुःख सुख बराबरी भनेर लागेको नहोला । तर, पार्टीको नेतृत्व, मुख्य कमिटी र त्यसको मुख्य हिस्सा त्यतातर्फ हिँडेको छ कि छैन भन्ने विषय प्रमुख हो । त्यसकारण अहिले हामी त्यसतर्फ हिँडिसक्यौँ भनेर झुटो बोल्न कठिन हुन्छ । यो पार्टीमा असाध्यै ठूलो क्षमताका मान्छेहरू छन् । अहिलेको नेपालको समसामयिक राजनीतिमा यो असाधारण शक्ति हो । एकातिर लामो समय संसदीय संघर्ष, अन्य खुला संघर्ष, अन्तर्राष्ट्रिय सम्पर्क, सम्बन्ध, कूटनीतिबाट हुर्केर आएको कार्यकर्ता र नेतृत्वको पङ्क्ति छ । अर्कोतर्फ, दश वर्षको जटिल युद्धलाई व्यवस्थापन गरेर आएको कार्यकर्ता र नेतृत्वको पङ्क्ति छ । हामीले यसलाई एक ठाउँमा मिलाएका हौँ । हाम्रा शैली, तरिकाहरू फरक छन् । वैचारिक र सैद्धान्तिक रूपले एकै ठाउँमा रह्याँै भने हाम्रो कार्यशैली, तौरतरिका र राजनीतिक मुद्दाहरूलाई मिलाएर लैजान सकिन्छ । त्यसलाई हेर्दा हामी दुवैतर्फबाट आएका साथीहरू जटिल परीक्षामा छौँ । हिजोका दुई पार्टीकै पहिलो पुस्ता जुन छ, त्यो पुस्ता एक्लै सफल हुँदैँन । कहिँलेकाहीँ हाम्रा लिडरहरूलाई हेर्दा उहाँहरूले ‘जादुको छडी’ हल्लाएपछि सबै हुन्छ भन्ने ठान्नुभएको छ कि जस्तो लाग्छ । यथार्थमा त्यस्तो हुँदैन ।

अब दोस्रो तेस्रो पुस्ताको उत्तिकै जिम्मेवारी छ । हाम्रो पुस्ताको उत्तिकै जिम्मेवारी छ । त्यसकारण यो एकतालाई बचाउन, अझै सुदृढ बनाएर लैजान हाम्रो अघिल्लो पुस्तालाई त्यसैखालको जिम्मेवारी छ । पार्टीको एकताको पक्षमा, हाम्रो भविष्यको पक्षमा, हाम्रा सन्तानहरूको भविष्यको पक्षमा, हाम्रा उत्तराधिकारीहरूको भविष्यको पक्षमा लैजान हामीले पनि अझै मिहिनेत गर्नुपर्ने लाग्छ ।

नेतृत्वले हैकम लादेर हुँदैन

सङ्गठनमा सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको ‘आन्तरिक लोकतन्त्र’ हो । हामी एउटा लोकतान्त्रिक समाजको नेतृत्व गर्दैछाँै । बाहिर लोकतान्त्रिक राजनीतिको नेतृत्व गर्दैछाँै । त्यो क्षेत्रमा बलियो हुनका लागि त्यसमा हाम्रो सफलता स्वयम् हामीभित्र हामी कति लोकतान्त्रिक छाँै भन्ने कुराले निर्धारण गर्छ । हामीभित्र हैकम लादेर, हामीभित्रको लोकतन्त्रलाई खुम्च्याएर बाहिरको लोकतान्त्रिक आन्दोलनमा, प्रक्रियामा, लोकतान्त्रिक प्रतिस्पर्धामा सफल हुन सक्दैनौँ । त्यसकारण हामी आफै सक्षम हुनका लागि ‘आन्तरिक लोकतन्त्र’लाई फराकिलो पार्नुपर्छ । मैले उल्लेख गर्नुपर्ने कुरा के हो भने, यो एकता प्रक्रियाका दौरानमा हामीले धेरै नै ‘कम्प्रमाइज’ गरेका छाँै ।

मलाई मन नपर्ने कुरा, सात जना, नौ जना वा दुई जनामा जिम्मा नदिएको भए एकता असम्भव थियो, देशी विदेशी प्रतिक्रियावादीहरूले फुटाइदिन्थे भन्ने खालका वक्तव्यहरू आउने गर्छन् । यो अति अनाँैठो लाग्छ । हामीभित्र त्यस्तो के चीज छ, जो अरूले फुटाउँदा फुट्छौैँ ! मुख्यतः लिडरहरूको कार्यशैलीमै समस्या हो भन्ने कुरामा ख्याल गरेनौँ भने र खालि नेताहरूको हिम्मत, विवेक अथवा दुरदर्शिताले मात्रै एकता सम्भव भयो भन्ने ठाउँमा हामी पुग्यौँ भने हाम्रो राजनीति, सिद्धान्त, त्यसको इतिहासको आवश्यकता गौण हुँदै जान्छ । यसो गर्न सकियो भने मात्रै सजिलैसँग अहिलेका चुनौतीहरू हामी पार गर्न सक्छाँै ।

लिडरसिपले पनि हामीबाट गल्ती भएको छ, हुन सक्छ भन्ने कुरामा हरबखत तयार हुन पर्यो । हिजो र आजको बैठकमा अलि फरक पाएको छु । किनभने एक्लेले सोचेर हुँदैन । एउटा अध्यक्षमा केही कमी छ भने अर्को अध्यक्षले त्यसलाई पूरा गर्नु होला ।
अर्को, हिजोको एमाले लामो समय सत्तामा रह्यो र एकखालको राजनीतिक अस्थिरताले गर्दा सिद्धान्त, विचार गौण हुँदै गयो । हिजोको माओवादीले छोटो समयमा लामो दूरी पार गर्नुपर्ने भयो । यस क्रममा धेरै परिवर्तनहरू आए । ती परिवर्तनले सैद्धान्तिक, वैचारिक कुरा औपचारिक रूपमा ल्याएका छन् । त्यसमा अझै गम्भीर हुन आवश्यक छ । पार्टीको तल्लो पङ्क्तिसम्म राजनीतिक, सैद्धान्तिक रूपले ओतप्रोत गर्नु अर्को मुख्य कुरा हुनेछ । यी दुईवटा कुरा गर्न सकियो भने नेकपा धेरै लामो समय असाध्यै लोकप्रिय भोटका साथ मुलुकको राजनीतिक नेतृत्व गरिरहनेछ ।

बहस र फरक मतबाट डराउने पार्टी अब टिक्दैनन्

बहस, भिन्न मतबाट डराउने पार्टी अब टिक्दै टिक्दैनन् । ‘डेमोक्रेसी’मा त झन् टिक्दैनन् । बहस हुन सक्ने वातावरण जति फैलाउँछाँै, त्यत्तिकै सङ्गठन र विचार मजबुत हुँदै जान्छ । तर यसो भनिरहँदा बहसमा निजी आकाङ्क्षाहरू थोपर्ने कुरा गर्नु हुँदैन, एकअर्कामा । ‘म संसारमा कसैभन्दा सानो छैन, किनभने कसैभन्दा ठूलो पनि छैन’ – यो चेतना गणतान्त्रिक चेतना हो । ठ्याक्कै यो चेतना पार्टीमा बनाउन सक्यौँ, म स्थायी कमिटीको सदस्य, अर्को पोलिटब्युरो सदस्य, अर्को केन्द्रीय सदस्य मात्रै भनेर मैले उसलाई होच्याउने वा तल देख्ने गरिनँ, मभन्दा माथि अध्यक्षहरू छन्; मैले तिनलाई भगवान मानिन वा ती अध्यक्षहरूले हामीलाई होच्याउने काम गरेनन् भने हामी हरेक कम्युनिस्ट पार्टीका सदस्यको हिसाबले हामी सबै एउटै पङ्क्तिमा छौं, यहाँ त हाम्रो जिम्मेवारीले मात्रै तलमाथि छाँै भन्ने कुराको ग्यारेन्टी गर्न सक्ने स्थिति पैदा हुनेछ । अबको कम्युनिस्ट पार्टीको लागि यो महत्त्वपूर्ण कुरा हो ।

हामीले आत्मालोचनाको तत्परता खोजेका हौँ

बैठकमा आत्मालोचनाको निकै चर्चा चल्यो । एउटा खास घटनामा आत्मालोचना हुने फरक कुरा हो । हामीले त आत्मालोचनाको तत्परता खोजेका हौँ । मैले जे भन्छु, त्यसमा नेतृत्वले आत्मालोचना गरोस् भन्न थाल्यौँ भने त्यो डेमेक्रेटिक भएन । तर, मबाट गल्ती भएको छ, हुन सक्छ भन्ने कुरामा म हरबखत तयार हुन पर्यो । लिडरसिपले पनि हामीबाट गल्ती भएको छ, हुन सक्छ भन्ने कुरामा हरबखत तयार हुन पर्यो । हिजो र आजको बैठकमा अलि फरक पाएको छु । किनभने एक्लेले सोचेर हुँदैन । एउटा अध्यक्षमा केही कमी छ भने अर्को अध्यक्षले त्यसलाई पूरा गर्नु होला । अर्को अध्यक्षमा एउटा कमी छ भने त्यसलाई अर्को अध्यक्षले पूरा गर्नुहोला । ती दुई अध्यक्षमा भएका कमजोरीलाई हामीले पूरा गरौँला । हामीमा भएका कमजोरी दुई अध्यक्षहरूले पूरा गर्नुहोला । यसरी हामीले कमिटी प्रणाली राम्रो बनाएर लैजाने होला । म त्यो अपेक्षा गर्छु । यसपछि पनि हामीले हाम्रा अध्यक्षहरूलाई यो कुरा भनिरहन पर्छ जस्तो लाग्छ ।

जनताको चित्त दुख्यो भनेर सरकारले महशुस गर्नुपर्छ

एसिया प्यासिफिक समिटमा सरकार र पार्टीका नेताहरू सहभागिताको विषयमा धेरै गम्भीर कुराहरू आए । त्यो प्रसङ्गको जवाफ दिनेक्रममा प्रधानमन्त्रीले ‘हाम्रो संविधान र पार्टीका मान्यताअनुसार हामीले त्यस्तो गल्ती गरेका छैनौँ’ भन्ने जवाफ थियो । उहाँको जवाफलगत्तै भीम रावल, मलगायत अन्य साथीहरूले ‘यसमा सरकारको कमजोरी भएकै हो’ भन्यौँ । ‘जनताको चित्त दुख्ने काम हामीले गर्यौँ । त्यसमा कतिपय धर्मनिरपेक्ष राज्य र सरकारका पदाधिकारीले गर्न हुने नहुने काम भए होलान् । एनजीओसँग सरकारले सहकार्य गर्न हुन्थ्यो कि हुँदैनथ्यो ? एनजीओको कार्यक्रममा, त्यो रामरमिताका (दुनियाँलाई सुन्न पनि गाह्रो हुने) काममा तीन तीन दिनसम्म प्रधानमन्त्री बस्न हुन्थ्यो कि हुँदैनथ्यो ? यी तपसिलका कुरा हुन् । तर यी सबै कुराले जनताको चित्त दुख्यो । अब यसो गर्दैनौँ भनेर जनतालाई फेरि बताउनुपर्छ । जनतालाई अब चित्त दुखाउने काम गर्दैनौँ भन्नुपर्छ । ज–जसको चित्त दुखेको छ, चिन्ता नगर, अब हामी त्यसरी अगाडि जादैँनौँ, फेरि चित्त दुखाउँदैनौँ भन्नुपर्छ । केही कमी–कमजोरी छन् भने त्यसलाई स्वीकार गर्नुपर्छ’ भन्ने कुरा हामीले उठाएका हौँ ।

पार्टी एकताले पूर्णता नपाउँदै कार्यकर्तामा निराशा उत्पन्न भयो । यसमा हामीले गल्ती गर्यौँ । मैले देख्दा सचिवालयले गल्ती गर्यो । सचिवालयलाई सबै हामी गर्न सक्छौँ भन्ने लाग्यो तर गरेन । अध्यक्षहरूलाई लागेको थियो भने पनि उहाँहरूले गल्ती गर्नुभयो ।
यिनै कुराहरु प्रतिवेदनमा समावेश गर्ने गरी नेतृत्वसँग समझदारी गरेका छौँ । भीम रावलले यी विषयहरू हामीले प्रष्ट देखिने गरी उल्लेख गर्नुपर्छ भन्नुभएको थियो । यदि यो कुरामा छलफल नै नगर्ने र गल्ती महशुस नै नगर्ने हो भने मेरो पनि ‘नोट अफ डिसेन्ट’ छ । यो संवेदनशील मुद्दा हो । यो मुद्दालाई जनताको चित्त नदुख्ने गरी समाधान गरेर जानुपर्छ भन्ने कुरा मलगायत रावल कमरेडले अध्यक्ष प्रचण्ड कमरेडलाई पहल गर्न अनुरोध गर्यौँ । उहाँसँगको छलफलपछि प्रतिवेदनमा ती विषय उल्लेख गर्ने कुरा भएको छ ।

कार्यदलले विगतका निर्णयलाई पुनर्विचार गर्नसक्छ

विधानमाथि नै समीक्षा गर्न सक्ने गरी ९ सदस्यीय कार्यदल बनेको छ । त्यो कार्यदललाई धेरै ठूलो जिम्मेवारी छ । हिजो सचिवालयले गरेका निर्णयमा कुनै कमजोरी भए, त्यसले भोलि असर गर्छ कि गर्दैन ? हिजो एउटा मापदण्ड, भोलि अर्को मापदण्ड भन्न सकिँदैन । कुनै एउटा मापदण्ड बनाउँदा हिजो गरिएका काम त्यही मापदण्डभित्र पर्छन् भने त्यसलाई स्वीकार गर्न सक्ने भयो । तर कुनै मापदण्ड आज बनाउँदा हिजो भइसकेका निर्णयहरू यो मापदण्डअनुसार भएन भने त्यसमा पुनर्विचार गर्नुपर्छ । त्यसकारण पार्टी एकीकरण भएपछि समायोजनका प्रक्रियामा जे भएको छ र जे गर्नुपर्ने काम छन्, ती सबै साङ्गठनिक कामका लागि त्यसले प्रस्ताव ल्याउने हो ।

प्रतिवेदनमा के–के समेटिन्छ, हेर्न बाँकी छ

बैठकमा धेरै विषयहरू उठेका छन् । ती विषयहरू मध्ये प्रतिवेदनमा के–के कुरा समेटिन्छन् भन्ने कुरा अब हेर्नुपर्छ । हामीले पनि विश्वास गर्ने हो । बैठकको अन्तिममा अध्यक्ष केपी ओलीले रुलिङ् गर्दा सबैले भन्नु भएका कुराहरूलाई हामीले नोट गरेका छौँ । कतिपय इस्युहरूमा अलि धेरै छलफल भएको छ, त्यो पनि हामीले नोट गरेका छौँ । दुई अध्यक्षले ‘यसलाई परिमार्जन गर्छौं । त्यो परिमार्जित प्रतिवेदन सचिवालयमा ल्याउँछाँै । सचिवालयले हेरिसकेपछि प्रकाशित गर्छौं’ भनेपछि हामी कसैको निजी कुरा मात्रै त्यहाँ आउँदैन, स्वभावैले सचिवालयमा छलफल गर्नुहुन्छ । अध्यक्षहरूका नाममा अरू कसैले गरिराखेको थियो भने अब कमसेकम सचिवालयमा आउने भयो भनेर स्थायी कमिटीले यसलाई स्वीकार गरेर गएको छ ।

बैठकमा धेरै कुराहरू आएका छन् । हामीले कुनै कुरा फिर्ता लिएका हैनौँ । हामीले उठाएका ‘एकता प्रक्रियाको समय हुलमुल भयो, अनावश्यक पदहरू सिर्जना गरियो, भिन्दाभिन्दै विधानहरू छापिए’ लगायतका सबै कुराहरु त्यो कार्यदलले हेर्छ । त्यसले गर्दा राजनीतिक र पद्धतिगत क्षेत्रभित्र हुने विरोधाभास, सङ्गठन, विधानभित्रै हुने विरोधाभासलाई उहाँहरूले समाधान गर्नुहुन्छ भन्ने लाग्छ ।

सचिवालयबाट गल्ती भयो

पार्टी एकताले पूर्णता नपाउँदै कार्यकर्तामा निराशा उत्पन्न भयो । यसमा हामीले गल्ती गर्यौँ । मैले देख्दा सचिवालयले गल्ती गर्यो । सचिवालयलाई सबै हामी गर्न सक्छौँ भन्ने लाग्यो तर गरेन । अध्यक्षहरूलाई लागेको थियो भने पनि उहाँहरूले गल्ती गर्नुभयो । अब यो स्थायी कमिटीको बैठकले गरेका मुख्य दुईवटा निर्णयहरूलाई राम्रोसँग पक्रेर अगाडि जानुपर्छ । हिजो भएका क्षतिलाई अब तीव्रताका साथ काम गरेर पूरा गर्नुपर्छ ।

पार्टीभित्रका विचार समूहहरूलाई म एकदमै स्वाभाविक ठान्छु । हिजो एमालेभित्रका समस्या अहिलेको बैठकमा देखिए । यो कुरा अध्यक्ष प्रचण्ड स्वयम्ले भन्नुभयो । पूर्व एमालेभित्र पनि दुई समूहको विवाद छँदैथियो, त्यो विवाद यो बैठकमा पनि देखियो । फलतः पूर्व एमाले र पूर्व माओवादी भनेर टिमहरू देखिने अवस्था रह्यो । तर बैठकमा जुन तहमा कुराकानी भएको छ, त्यही तहको निर्णयमा पनि पुगेका छौँ । यसलाई इमानका साथ लागू गर्ने हो भने पुराना गुटबन्दी अन्त्य गर्दै जान सक्छौँ ।
सरकारका काम जनतामा पुगेका छैनन्

सामान्य जनताको नजरबाट हेर्दा, उनीहरूका उर्लेका अपेक्षाहरू, भोट माग्न जाँदा हामीले खाएका कसमहरू सबैलाई एउटा सामान्य मतदाताले हेर्यो भने असाध्यै असफल देखिएला । अर्कोतर्फ प्रधानमन्त्रीले दिनहुँ बीसवटा निर्णयहरू गर्नुभएको छ । उहाँ दिनहुँ काममा व्यस्त हुनुहुन्छ । त्यसकारण उहाँले सय प्रतिशत सफल देख्नु होला । हामीले हेर्ने भनेको सरकारले गरेका कामहरू जनतामा पुगेका छन् कि छैनन् ? यस हिसाबमा जनताका जे अपेक्षा थिए, ती पूरा भएका छैनन् । त्यसकारण अझ धेरै मिहिनेत गर्नुपर्छ ।

हामीले हामीलाई नै व्यवस्थित गर्न आवश्यक छ । त्यसका लागि जनताका आँखाले सरकारलाई हेर्दा पुग्छ । सरकार आफैले मात्रै त्यो काम गर्न सक्दैन । सरकार सफल बनाउन पार्टीलाई सक्रिय बनाउनुपर्छ । त्यसका लागि पार्टीभित्रै लोकतान्त्रिक अभ्यास हुनु जरुरी छ । यो मेरो सरकार, प्रधानमन्त्री वा मन्त्री हो; सरकार असफल हुँदा म असफल हुन्छु, यसले भेदभाव गर्दैन, जे गर्छ, त्यो राम्रो गर्छ भन्ने गरी सरकार देखिनुपर्छ । पार्टीले निर्णय गरेकै कुराहरू हो, पार्टीको सरकार हो, पार्टीको जे उद्देश्य हो, त्यसलाई यसले पालना गर्छ भन्ने कुरा सम्पूर्ण कार्यकर्तालाई लाग्नुपर्छ । यसो भयो भने दश लाख सङ्गठित सदस्य र २५ लाख अन्य सदस्यहरूले जुरुक्कै बोक्दा सरकारलाई ६ महिनामा धेरै राम्रो गरी चलाउन सकिन्छ । यो सम्भावनालाई नेतृत्वले राम्ररी बुझ्नुपर्छ र सहीअनुसार काम गर्नुपर्छ ।

अब पार्टीले सरकार चलाएन भने दुर्भाग्य हुन्छ

पार्टीले सरकार चलाएको छ भन्ने अनुभूति अब पनि भएन भने दुर्भाग्य हुन्छ । मैले अघि पनि भनेँ, अब नेकपाका अगाडि दुई विकल्प छन् ः सत्यानाश या समाजवाद । हामीले यस्तै झगडा गर्यौँ, अहंकारले ग्रस्त भयौँ, गुटबन्दीले ग्रस्त भयौँ, मेरै मान्छे चाहिने, त्यसमा पनि आफ्नै नश्लको मान्छे चाहिने भन्नेतर्फ गयौँ भने हामी सत्यानाश हुन्छौँ, कसैले बचाउन सक्दैन । पार्टी पङ्क्तिलाई एकताबद्ध गर्दै निर्दिष्ट दिशामा अगाडि लिएर जान सकियो भने समाजवादको दिशामा जान्छाँै । त्यसमा नेतृत्वको भूमिका अनि हाम्रो भूमिका मुख्य हुन्छ । म स्थायी कमिटीको सदस्य छु । यसबाहेक तलका कमिटीहरू छन् । यी सबैले यो सरकारलाई जुरुक्कै बोक्ने स्थिति पैदा गरिनुपर्छ ।

दोहोरो जिम्मेवारी ?

सम्भवतः कार्यदलको रिपोर्ट आएपछि र सचिवालयले राजनीतिक प्रतिवेदन प्रकाशित गरेपछि पार्टी र सरकारले गति लिन्छ कि । पुस मसान्तसम्ममा सबै साङ्गठनिक एकीकरणका काम सक्ने भनेका छौँ । काम सुरु गरेपछि धेरै समय लाग्दैन । विभिन्नले आआफ्ना अनुकुलका मापदण्ड बनाउदा नै धेरै समय लागेको हो । कहीँ मुख्यमन्त्रीको जिम्मेवारी भएकालाई थप प्रदेश प्रमुखको जिम्मा दिने, कहीँ कसैले काम नै नपाउने । सबैलाई आफ्नो आफ्नो मापदण्ड बनाएर हेर्ने ? यही दृष्टिकोणले सबै विग्रिएको हो ।

तल्लो कमिटीमा मापदण्ड लागू हुने, माथि नहुने ? दुनियाले के भन्छ हामीलाई ? मैले पनि माफी गरौँला, सारा कार्यकर्ताले माफी गर्लान्, बहुमतले माफी गर्ला तर यो दोहोरो मापदण्ड टिक्ने कुरा होइन । यो गलत हो । बाहिर बाटोमा अथवा चौरमा हिँड्दा हामीले यो ठिकै गरेका छौँ है भनेर भन्न पनि नसकिने काम गर्नु हुन्छ ?

कार्यदलले ल्याएको रिपोर्टले सम्भवतः यी सबै समस्यालाई समाधान गर्छ ।

गुटबन्दीलाई नङ्ग्याउनु पर्छ

पार्टीभित्रका विचार समूहहरूलाई म एकदमै स्वाभाविक ठान्छु । हिजो एमालेभित्रका समस्या अहिलेको बैठकमा देखिए । यो कुरा अध्यक्ष प्रचण्ड स्वयम्ले भन्नुभयो । पूर्व एमालेभित्र पनि दुई समूहको विवाद छँदैथियो, त्यो विवाद यो बैठकमा पनि देखियो । फलतः पूर्व एमाले र पूर्व माओवादी भनेर टिमहरू देखिने अवस्था रह्यो । तर बैठकमा जुन तहमा कुराकानी भएको छ, त्यही तहको निर्णयमा पनि पुगेका छौँ । यसलाई इमानका साथ लागू गर्ने हो भने पुराना गुटबन्दी अन्त्य गर्दै जान सक्छौँ । विचार मिल्ने मानिसहरू एक ठाउँमा उभिएर बोल्दा वा कुनै दुई तीनवटा बैठकसम्म सँगै रहेर बोल्दैमा त्यसलाई गुटबन्दी भन्न मिल्दैन । नभएकोलाई गुटबन्दी छ भनेर चिन्ता गरेर हिँड्न हुँदैन, भएको गुटबन्दीलाई चाहिँ नङ्ग्याउनुपर्छ ।

घनश्याम भुसाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य हुन् ।


(२०७५ पुष १५, आईतवार) १६:२७ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता-कार्यकर्ता गिरफ्तारी जारी, पोलिटब्युरो सदस्य जिवान्तलाई सात दिन म्याद थप

सरकारले प्रतिबन्ध लगाए यता बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता तीब्ररुपमा गिरफ्तार हुन थालेका छन् भने केही हिरासतमुक्त पनि भएका छन् । गिरफ्तारीकै क्रममा पोखराबाट एकजना मजदुर.....

एफएम रेडियो भित्रैबाट घेरा हाली पत्रकार बिक गिरफ्तार, बिरोधमा एफएम बन्दको घोषणा, गिरफ्तारीको सर्वत्र निन्दा

कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले स्टुडियोमै प्रवेश गरी पक्राउ गरेको छ। प्रहरीले कालिकोट सदरमुकाम मान्मास्थित.....

काभ्रेबाट ने.क.पा.का को को नेता पक्राउ परे ? (हेर्नुस नामावली )

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता-कार्यकार्ताहरु खोजी गर्न काभ्रे पुगेको प्रहरीटोलीले चारजना ने.क.पा.काकार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । प्रहरीको गिरफ्तारीमा.....

Exchange Rate

Nepali Patro