सत्तारुढ नेकपामा जन्म्यो नयाँ धार, नेतृत्व गर्दै माधव नेपाल र नारायण काजी श्रेष्ठ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ कार्तिक २५, आईतवार) ०८:३६

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया नटुंगिँदै त्यसभित्र नयाँ धारको जन्म भएको छ। पछिल्लो सचिवालय बैठकपछि नेकपाभित्र नयाँ धारको जन्म भएको हो।

सत्तारूढ दल नेकपाको असोज ५ गते बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गरेपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्ने पार्टीका दुई नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ धारको जन्म भएको हो।

पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपाल र प्रवक्ता श्रेष्ठले पछिल्लो सचिवालय बैठकमा ५ असोजको मनोनयन निर्णयप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेर नयाँ धारको नेतृत्व गर्न खोजेका हुन्। पछिल्लोपटक सचिवालय बैठक कात्तिक ५ गते बसेको थियो।

नेता नेपाल र प्रवक्ता श्रेष्ठले प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन विधि, प्रक्रिया र पद्धतिप्रति असहमति जनाउदै पछिल्लो सचिवालय बैठकमा नोट अफ डिसेन्ट लेखेका थिए। बैठकमा दुवै नेताहरुले मनोनयनको विषयलाई लिएर पार्टी नेतृत्वको चर्को आलोचना गरे पनि सुनुवाइ भएन। अर्को बैठकमा यस विषयमा टुंगोमा पुग्ने भनिए पनि बैठक बस्ने सकेको छैन।

सचिवालयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, श्रेष्ठ, रामबहादुर थापा, महासचिव विष्णुप्रसाद पौडेल छन्। ५ असोजको सचिवालय बैठकमा नेपाल र श्रेष्ठ अनुपस्थित थिए। त्यसबेला नेपाल दक्षिण अफ्रिकी राष्ट्र घानाको भ्रमणमा थिए भने श्रेष्ठचाहिँ चीन गएका थिए। दुवै नेता नभएका बेला सचिवालय बैठकले बहुमत सदस्य उपस्थित भएको भन्दै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गरेको थियो।

एकीकृत पार्टीले पूर्णआकार ग्रहण गरिनसक्दै विधि र प्रक्रियासमेत मिचेर प्रदेशमा मनोनयन गरिएको विषयमा नेपाल र श्रेष्ठले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

स्थायी कमिटी बैठक कात्तिक १२ र १३ गते बस्ने भनिए पनि अन्तिम अवस्थामा आएर तयारी नपुगेको भन्दै स्थगित गरियो। अब स्थायी कमिटीको बैठक कहिले बस्छ भन्ने टुंगो छैन। प्रदेश कमिटी गठन र केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न दुई सदस्यीय कार्यदल गठन गरिए पनि त्यसले काम नसकेको भन्दै स्थायी कमिटीको बैठक स्थगित गरिएको ती नेताले बताए। दुई सदस्यीय कार्यदलमा सचिवालय सदस्य थापा र महासचिव पौडेल छन्।

एक केन्द्रीय सदस्यका अनुसार ४४१ सदस्यीय केन्द्रीय कमिटीमा नेताद्वय नेपाल र श्रेष्ठले करिब एकतिहाइ सदस्यको नेतृत्व गरेका छन्।

 

 


(२०७५ कार्तिक २५, आईतवार) ०८:३६ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

भाजपाको पूर्ण बहुमतवाला चुनावी परिणाम र यसको सन्देश :

भारतमा भक्ति वा नायक–पूजाले राजनीतिमा जे भूमिका तय गर्छ, त्यसै भूमिकाको परिणाम जस्तै संसारको कुनै अरु देश भारतको बराबरी गर्नै सक्दैनन् । धर्मको क्षेत्रमा भक्ति आत्माको मुक्ति हुनसक्छ तर राजनीतिमा भक्ति वा.....

धर्मबारे कम्युनिष्ट धारणा : अनिल शर्मा “बिरही”

मानवसभ्यताको प्रातःकालमा मानिस दैविक ज्ञानको निकट थिएन । प्राकृतिक घटना र प्रकृतिका रहस्यहरू देखेर उसमा कुतुहल तथा भय सिर्जना हुनु स्वाभाविक थियो । प्रकृतिका रहस्यहरूको वैज्ञानिक कारण.....

नवसामन्त, नवधनाढ्य र हुकुमवासी : सुशीला कार्की

पशुपतिनाथ, जानकी मन्दिर, सुदूरपश्चिमको उग्र तारा, प्युठानको स्वर्गद्वारीलगायतका मन्दिर, मठ तथा बालुवाटारको सरकारी जग्गा कब्जा गरी हड्पिएका समाचार पत्रपत्रिकामा प्रकाशित छन्। रकम कलम.....

Exchange Rate

Nepali Patro