जिल्ला घुमघाममा मन्त्री रबिन्द्र अधिकारीले चार महिनामा तीन लाख सके

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ कार्तिक १७, शनिबार) १०:०३

जिल्ला घुमघाम गर्नेमा अन्य मंत्री भन्दा अघि रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बिगत चार महिनामा करीब तीन लाख रुपियाँ सकेका छन् । उनले जिल्ला भ्रमणमा २ लाख ९६ हजार ९७० रुपैयाँ सकेका हुन् ।

प्रधानमन्त्रीसहित हाल २५ मन्त्री छन् । उनीहरूले असारदेखि असोज मसान्तसम्ममा जिल्ला भ्रमण र अनुगमनका नाममा ४० लाख ४० हजार ८ सय ३७ रुपैयाँ बुझिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रेकर्डमा उल्लेख छ ।

स्रोतका अनुसार अधिकांश मन्त्रीको अनुगमन प्रतिवेदनसमेत विश्वासयोग्य छैन । कतिपय मन्त्रीले घरायसी, व्यक्तिगत र पार्टीको काममा खर्च गरेको रकमसमेत सरकारी अनुगमनमा गएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भुक्तानीका लागि निवेदन दिएका छन् ।

मन्त्रीले सरकारी खर्च लिएर साथीको छोरीको जन्मदिनसमेत मनाउने गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोेतको दाबी छ । प्रधानमन्त्री कार्यालयमा अझै दर्जन बढी मन्त्रीको भ्रमण भुक्तानीको निवेदन दर्ता छ । पछिल्लो समयमा मन्त्रीहरूले जिल्ला भ्रमणको क्रमलाई तीव्रता दिएको पाइएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार यो अवधिमा मन्त्रीको इन्धनमा मात्रै ४१ लाख ८ हजार ३७३ रुपैयाँ सकिएको छ ।

यस्तै, मन्त्रीको तलबमा १ करोड ७१ लाख ४७ हजार १ रुपैयाँ र सञ्चार महसुलमा २ लाख ३१ हजार ४८२ रुपैयाँ सकिएको छ ।

मन्त्रीहरूले जिल्ला भ्रमण सकेर फर्केपछि अनुगमनको उपलब्धिसहितको प्रतिवेदन अनिवार्य रूपमा प्रधानमन्त्री कार्यालयमा बुझाउनुपर्ने प्रावधान छ । तर, अधिकांश मन्त्रीको प्रतिवेदन झारा टार्ने खालको रहेको कार्यालय स्रोतले जनाएको छ ।

मन्त्रीहरूले भ्रमणपूर्र्व प्रधानमन्त्रीसँग स्वीकृति लिनुपर्ने प्रावधान छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल यो अधिकार प्रधानमन्त्री कार्यालयकै सचिवलाई प्रत्यायोजन गरेका छन् । प्रत्यायोजित अधिकारवालाको बेवास्ता गर्दै अधिकांश मन्त्रीले भ्रमण सकेर आएपछि ‘ब्याक डेट’मा भ्रमण स्वीकृति र भुक्तानी लिने गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार सबैभन्दा बढी जिल्ला भ्रमणमा जाने र बढी खर्च गर्नेमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ छन् । उनले जिल्ला भ्रमण र अनुगमनको नाममा चार महिनामा ४ लाख ५७ हजार ३१० रुपैयाँ सरकारी कोषबाट खर्च गरेका छन् ।

जिल्ला भ्रमणमा बढी रकम खर्च गर्नेमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव पनि छन् । उनले २ लाख ५ हजार ४ सय र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले २ लाख १० हजार २५० रुपैयाँ सकेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २ लाख २४ हजार ८५ रुपैयाँ जिल्ला भ्रमणमा सकाएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले २ लाख ६१ हजार ५२० र उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले १ लाख ५१ हजार ५ सय रुपैयाँ भुक्तानी लिएका छन् ।

सहरी विकासमन्त्री इस्तियाक राईले १ लाख ८१ हजार ८५०, खानेपानीमन्त्री विना मगरले १ लाख ५४ हजार ९५०, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले १ लाख २८ हजार ५० रुपैयाँ जिल्ला भ्रमणमा खर्चेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार भ्रमण भन्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ८८ हजार ६५०, अर्थमन्त्री युवराज खतिवडाले ९९ हजार ७ सय, कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले ९८ हजार २५० रुपैयाँ खर्च गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भ्रमण र अनुगमनको नाममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ९० हजार १ सय रुपैयाँ खर्चेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ६२ हजार १ सय रुपैयाँ र स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले ५३ हजार १५० रुपैयाँ खर्चेका छन् ।

यो अवधिमा प्रधानमन्त्री ओलीको जिल्ला भ्रमणमा हवाई खर्च र सुरक्षाकर्मीको दैनिक भ्रमण भत्तामा ७ लाख ९१ हजार ६३२ रुपैयाँ सकिएको छ ।

चार महिनाको अवधिमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको भने जिल्ला भ्रमणको खर्च शून्य छ । न्यून खर्च गर्नेमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल पर्छन् ।

उनले यो अवधिमा २३ हजार ४५०, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले २३ हजार ४५०, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ३५ हजार ६५० रुपैयाँ खर्चेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले पछिल्लो समय मन्त्रीको जिल्ला भ्रमणलाई व्यवस्थित बनाउन विभिन्न नियम ल्याइएको बताए । उनका अनुसार मन्त्रीहरू कुनै जिल्लामा भ्रमणमा जाँदा दुई दिनभन्दा बढी बस्न पाउँदैनन् ।

तर, अधिकांश मन्त्रीले यो नियम पालना गरेका छैनन् । भ्रमणका क्रममा मन्त्रीले सरकारी गेस्ट हाउसमा नै बस्नुपर्ने प्रावधानसमेत लत्याएका छन् ।

मन्त्रीहरूले भ्रमण गर्दा दैनिक भत्ताबापत ३ हजार रुपैयाँ पाउने गरेका छन् । भ्रमण टोलीमा पाँच जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधानसमेत मन्त्रीहरूले पालना नगरेको पाइएको छ ।


(२०७५ कार्तिक १७, शनिबार) १०:०३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

बन्दुक जनताले नलिई हुँदै हुँदैन : सुदर्शन, स्थायी कमिटी सदस्य, ने.क.पा.

(रातोपाटीको लागी पत्रकार फणिन्द्र नेपालले नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’संग लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ । यो अन्तर्बार्ता रातोपाटी डटकमबाट लिएका हौं ।) नेपालमा.....

प्रहरीले बरामद गरेको चार किलो सुन किन तामा बन्यो ?

प्रदेश ३ प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले पुस १९ गते धादिङको गजुरीबाटबरामद गरी सार्वजनिक गरेको चार किलो सुनलाई करीब तीन हप्तापछि राजस्व अनुसन्धान.....

दुई महिनासम्म दलाल सरकार अस्तित्व रक्षाको संकटमा पुग्ने दाबी

राजकुमार योगी /कालीकोट - नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य नवीन बि,क 'हितमान' ले आफ्नो पार्टीले शुरवात गरेको संगठन सुदृढ तथा विस्तार अभियान २ बाट आतंकित र भयभित भएको वर्तमान दलाल.....

Exchange Rate

Nepali Patro