पहेंलो गुलाफ @ प्रेमा शाह

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ पुष ६, बिहीबार) १३:५१

दुई महिनादेखि मैले केही लेख्न सकेकी छैन। डायरीका यी रित्ता पृष्ठहरू जति पल्टाउँछु उत्ति मनभित्रको खाली झन् झन् बढ्दै गएजस्तो लाग्छ।कस्तो खाली हो म आफैं पनि जान्दिन। म दुब्लाइसकें, थूकसित कहिलेकाहीं रगत मिसिएर आउँछ, रातो आँखै तिरमिराउने कालो रगत।
मलाई टी.बी. भएको रहेछ। हुन त कहिलेदेखि भएको हो, तर थाहा भएको भने आठ महिना भइसक्यो, तबदेखि यही सेनेटोरियाममा छु। धेरै भइसक्यो मेरो छातीको एक्स-रे गरेको, डाक्टरले भन्थ्यो, मेरो दायाँ फोक्सो ज्यादै खराब भइसकेको छ रे। साँच्चै मलाई पनि यस्तै लाग्छ, मेरो फोक्सो अब कुहिएर फतफती र्झन मात्र बाँकी छ।
मैले उहाँसित मेरो एक्स-रे फोटो हेर्न मागेकी थिएँ, तर उहाँले हुन्छ हुन्छ भन्दै अझसम्म मलाई त्यो देखाउनुभएको छैन। उहाँ भन्नुहुन्छ, मलाई केही भएको छैन, चाँडै नै निको हुन्छ रे। ओह, मलाई आश्चर्य लाग्छ, किन उहाँ मलाई यसरी छकाउन खोज्नुहुन्छ, अब के बाँकी छ र ! छकिनेजति म पहिले नै छकिइसकेकी छु नि !
यो थूकसित लत्पतिएको रगत, यो कुहिएको, फोक्सो सबै मेरा आफ्नै कमजोरीका उपलब्धि त हुन्, अझ कति म छकिउँ, कति घाटा परूँ! उहाँले मलाई कति माया देखाउनुहुन्छ, कति स्याहार गर्नुहुन्छ, सधैं मेरा अगाडि आएर घन्टौं घन्टमैं बसिरहनुहुन्छ। मलाई कत्रो भयंकर सरुवा रोगले च्यापेको छ, यो उहाँलाई थाहा छैन र – तैपनि उहाँ डराउनुहुन्न, घिनाउनुहुन्न। झन् एकै पलङमा मसित च्यापिएर बस्नुहुन्छ।
मलाई उहाँको ज्यादै पीर लाग्छ, कतिचोटि उहाँलाई मैले आफ्नो नजिकबाट हटाइसकें, उहाँ मान्नुहुन्न, म के गरूँ ! हिजै पनि उहाँले कस्तो काम गर्नुभयो, सम्झँदैमा मेरो मुटु अझै थर्र थर्र काम्छ। उहाँ मेरो अगाडि हुनुहुन्थ्यो, बस्दा बस्दै मलाई एकतमासको खोकीले च्याप्यो, मुटु थर्केर बाहिर निस्किएला जस्तो भएको थियो मेरो, अनि उहाँ कति डराउनुभएको थियो त्यस बेला।
खोक्दा खोक्दै रगतको सानो ढिका थुक र र्यालसँग लटपटिएर मेरो चिउँडोभरि पोतियो, मलाई आफ्नै शुर थिएन, पछि पो थाहा पाएँ उहाँले आफ्नै रेशमी रुमालले त्यो थुक र र्याल थाप्नुभएछ। म छक्क पर्छु उहाँको लापर्वाही देखेर कस्तो केटाकेटी जस्तो मान्छे ! अघि दिउँसो उहाँको कोटको खल्तीमा हात पर्दा त्यही रुमाल निस्कियो, फोहरले कट्कटिएको।
त्यही रुमाल किन चलाउनुपर्थ्यो, मेरै मुख पुछ्ने भुवादारी रुमाल पलङनिरै स्ट्याण्डमा झुण्डिएकै थियो नि। कति राम्रो थियो त्यो रुमाल, प्याजी रङको प्योर सिल्कको, मैले नै एकचोटी उहाँलाई किनेर दिएको, कति खुशी हुनुभएको थियो त्यो रुमाल पाएर। मलाई प्याजी रङ चौपट्टै मन पर्छ, मेरो बाकस र दराजभित्रका सबै लुगा धेरैजसो प्याजी रङकै छन्। प्याजी रङ देख्यो कि मलाई असाध्यै प्रशन्नता लाग्छ, त्यसै उहाँ जिस्क्याउनुहुन्थ्यो – तिमीलाई त प्याजी रङको टबभित्रै पो संधै डुबाइराखुँ कि ! त्यतिमात्रै होइन, उहाँ मेरो प्रसन्नता र रुचिको ज्यादै कदर गर्नुहुन्छ।
रमा मेरो ड्राइङरुमअगाडि दूवोको चउरभरि उहाँले प्याजी रङका जर्भेराहरू लगाइदिनुभएको छ, म घण्टौं घण्टौं ती प्याजी फूलहरूको बीचमा बसेर साँझका रमाइला बादललाई हेरिरहन्थें। कति आनन्द लाग्थ्यो त्यो गर्न मलाई। अहिले आठ महिना भइसकेको छ। म यहाँ छु, ती फूलहरूको स्याहार कसले गरिदिँदो हो। ती प्याजी जर्मेरा ! प्याजी रुमाल ! ओह ! कसरी फोहरमा कक्रिएका।
मेरो फोक्सोका किराहरू सबै उहाँको कोटभरि सल्बलाइरहेका होलान। छि : धोएर पनि के गर्नु त्यो रागी रुमाल, त्यसैले मैले फोहर मिल्काउने भाँडोमा हालिदिएँ। उहाँ मलाई कति माया गर्नुहुन्छ, म परि लगाउन सक्तिन। मलाई थाहा छ त्यो माया मभित्र व्याप्त छ, मेरो एकएक नसामा त्यसले जरा गाडिसकेको छ, त्यसबाट मुक्त हुन म कहिल्यै सकुँला म खुशी छैन, अझै पनि यो कस्तो माया हो जसमा सन्तोषको सानो लेश पनि म भेट्न सकिँन।
यतिको माया पाएर पनि म खाली-खाली छु। यो खाली सायद कहिल्यै भरिँदैन। दुई मपिनासम्म म ज्यादै थलिएँ, अहिले अलि सञ्चो छ, तर के ! टी.बी. का कीराले खानुसम्म मेरो फोक्सोलाई खाइसकेका छन्, त्यहाँ त खाली झ्वाङप्वालमात्रै होलान्।
कहिलेकाहीं मलाई छातीभरि मुटुभरि बतास छिरेजस्तो लाग्छ, त्यसैले मभित्र हावै हावामात्र छ, हावा भरिएको बेलुन। मेरो फोक्सोको झ्वाङप्वाल च्यातिएर ठूलो प्वाल भइसक्यो, सिंगै आकाश अटाउन सक्छ यहाँ, एउटा रित्तो आकाश। के गर्नु रित्तिनुमात्र त रहेछ नि, जति भर्यो उति रित्तियो।
९ असार
उहाँ आउनुभयो। सधैंको जस्तो आज पनि आफैंले अनार छोडाउनुभयो र रस निचोरेर गिलासमा खन्याउनुभयो। मलाई खान मन थिएन, गिलासतिर मैले हेर्दै हेरिँन, उहाँको कुरामा पनि साथ दिइनँ। मेरो मन हिजोदेखि उदास उदास थियो, चल्न बोल्न मन थिएन। केही बेरसम्म हातमा अनारको रस लिएर उहाँले मलाई फुल्याइरहनुभयो। मैले सुन्दै सुनिनँ। आखिर उहाँले नै जवरजस्ती मेरो टाउको समातेर गुलाफी झोल मेरो मुखभित्र खन्याइदिनुभयो।
मुखमा लागेको अनारको च्याप-च्याप झोल मैले राम्ररी पुछ्न पनि पाइन एक्कासी गोहीका तिखा दाह्राले मेरो ओठलाई पर्याम्म चपाए, रन्थनिएँ, ओठबाट कति रगत र किराहरू निस्के मैले थाहा पाइँन, म बेहोश भइछु। अहिले दुई घण्टाअगाडिमात्रै पो म बिउँझें, खोइ, उहाँ त गइसक्नुभएछ – पानी परेकोले हो कि ! ऊ अझै पानी दर्कदैछ। यो पानी अब रातभर थामिदैन।
ऐया : यो मेरो पाखुरा किन यसरी दुखेको, बेस्सरी बटारेको जस्तो भइरहेको छ। ए, बिहान डाक्टरले पनि यसैमा इन्जेक्शन दिएको थियो क्यारे। त्यहाँ स्ट्याण्डमा के त्यो – मेरो चोलोमाथि कोट उहाँले छोडेर जानुभएछ।
यस्तो पानीमा वर्षाती पनि लगाउनभएको थिएन। यो कोट मेरो चोलोमाथि; मेरो सेतो चालो मेरै रगत हराएको मुखजस्तो सेतो थाङ्नो, तैपनि उहाँ मलाई उत्तिकै माया गनुहुन्छ; पहिलेको जस्तै होइन, अझ बढ्ता, पहिलेकाभन्दा पनि बढ्ता। ओह, उहाँको सुम्सुम्याइमा कति तत्परता छ, त्यो चटाइमा कति लोलुपता छ। मेरो ओठभरि अघि उहाँल लगाइदिएर जानुभएको थूक अझै लपक्क भिजेको छ।
१२ असार
दुई दिनदेखि केही लेख्न सकिनँ। लेख्न सकिनँ के भन्नु लेख्न पाइनँ, फुर्सतै भएन। यी तीन दिन उहाँले एक मिनेटको लागि पनि मलाई कहीं छोड्नुभएन, म बाँधिएर बसिरहें उहाँको जब्बर अँगोलोभित्र। म रोगी, त्यही पनि क्षयका कीराले ध्वस्त पारिसकेका, त्यति उम्कन सक्ने बल कहाँ पाउनु मैले।
यो गुलाफको बोट, पातहरू कति चम्केका ! हिजो बिहानभरि र रातभरिको पानीले निखार ल्याइदिएछ। म यहाँ बस्न आएदेखि नै यो गुलाफको बोट यहीं छ, तल पोर्टिकोदेखि पस्रेर आएका यसका दुई लहरा मेरो कोठाको झ्यालमा संधैं यसैगरी तत्रिरहन्छन्। मजस्तै रोगी छ यो गुलाफको बोट, पहेंला फूलमात्रै फूल्छन्।
त्यसैले यसको मलाई माया लाग्छ, म यसको पातमा एउटा झुसिल्कीरा पनि बस्न दिन्नँ, देखेको बेला एक दुई वटा झुसिल्कीरा सधैं टिपेर फ्याँकिदिन्छु। अहिले त धेरै नै पहेंला कोपिलाहरू बोटमा लागेका छन्। फक्रेपछि झ्याल पहेंलै हुन्छ। पहेंलो हाम्रो एउटै समवेदना।
अहिलेसम्म उहाँ आउनुभएन। मेरोझर्को लाग्ने बानी, अलिकति अबेर भए पनि पट्याइ लाग्छ। अब त मलाई उहाँकै प्रतीक्षा छ, खाली उहाँकै।उहाँको अत्तरमा भिजेको चिसो बास्ना आउने हात, चिसो ओठ मेरो रोगको एउटै सान्त्वना। त्यसैबाट त उहाँले मलाई सन्तोष दिन खोज्नुहुन्छ। यही यस्तै हात र ओठको सन्तोष चारवर्षेखि उहाँले मलाई दिँदै आउनुभएको छ।
म थाकिसकेकी छु, बिल्कुलै थाकिसकेकी छु, यी सन्तोष्हरूबाट। उहाँ भने अझै थाक्नुभएको छैन। उहाँभित्रको अर्को पुरुष अझ उहाँभन्दा पनि बलियो र सशक्त छ उहाँ मलाई माया गर्नुहुन्छ। उहाँ मलाई माया गर्नुहुन्छ, मेरो हरेक इच्छा र चिन्ताको उहाँलाई फिक्री छ। उहाँ मलाई चाट्नुहुन्छ, बिरालोले बच्चालाई चाटेजत्तिकै, तर उहाँलाई पत्तै हुँदैन।
उहाँभित्रको सशक्त पुरुष ढाडे बिरोलो जत्तिकै निर्दयी भएर मलाई लर्छार्छ, पर्छार्छ, भुत्ल्याउँछ। हाम्रो विवाहको चार वर्षेखि एक सरह एकनासले विभिन्न तरीकाले उहाँले मलाई माया गर्दै आउनुभएको छ, तर उहाँलाई के पत्तो उहाँको त्यस सुमसुम्याइमा म कति बिथोलिएकी छु, कति नाङ्गिएकी छु। विवाहको पहिलो रातमै आफूलाई उहाँमा समर्पित गरिदिएँ। त्यस बेला मेरो आँखामा कति सपना भरिएका थिए।
उहाँलाई पाएर मलाई सर्वस्व पाए जस्तो लागेको थियो। उहाँको त्यस निर्लिप्त मायामा मैले बाँध भएर फुट्न होइन बरु पोखरीझैं आफूभित्रै जमेर बस्न खोजेकी थिएँ। उफ्, उहाँ त बेगवान पुरुष हुनुहुन्थ्यो। एउटै जोसमा बग्नुभयो, मलाई पनि बगाउनुभयो।
माया गर्दै उहाँले मेरो अन्तर वाह्य दुवैलाई मथेर पानीजस्तै पातल्याउनुभयो। म बगें। मलाइ बग्न कर लाग्यो – बाटो उहाँले खोलिदिनुभएकै थियो। उहाँ लोग्नेमानिस हुुनुहुन्छ, म स्वास्नीमान्छे, यो बाहेक अरु सबै उहाँले बिर्सनुभयो, किनभने म एउटी लोभलाग्दी सिंगै मासुको डल्ला त उहाँको अगाडि छँदै थिएँ नि ! त्यतिकैमा उहाँ सन्तुष्ट हुनुभयो।
उहाँ लोभी स्यालजत्तिकै ममाथि खनिनुभयो र मेरो आदर्शको तहलाई उप्काइदिनुभयो। त्यहाँदेखि म कागतीझैं उहाँको मुठीभित्र बरोबर निचोरिँदै आएकी छु, चुइङगमजत्तिकै उहाँको तातो थूकमा पग्लिएकी छु। अब त के छ र मसित ! खालि राम्रो रबड मात्रै न हो, जति चुसे पनि, टोकेर क्याच-क्याच पारे पनि एक थोपा रस निस्कने होइन।
ओह ! गुलाफको पातमो फेरि झुसिल्कीरा आएछ। जति फ्याँके पनि कता कताबाट रगरगाउन आइहाल्छ। यी कोपिलाहरू फक्रन नपाउँदै झुसिल्कीराले पातलाई चलनी पारिदिने हुन् कि ! दुई दिनपछि त फक्रलान्। मेरो औषधि खाने बेला भएछ, डाक्टर आउँछ अब। ऊ डाक्टर ! छि कति खानु औषधि पनि एउटामात्रै हो र तरह तरहका। डाक्टर गयो रित्तो औंस लिएर, अर्को कोठमा पुगेपछि उसले फेरि त्यो औंसलाई औषधिले भर्छ, फेरि रित्याउँछ।
म पनि त्यही रित्तो औंस हुँ, खाली, केही नभएको रित्तो। भएको जति सबै उहाँले नै सिध्याउनुभइहाल्यो। यताउता लागेको खारखुर पनि सोहोरिइसकेको छ। साँच्चै यी चार वर्षभत्रमा उहाँ अलिकति पनि घाटामा पर्नुभएको छैन।
घाटा म पो परेकी छु, भएको जति सबै सिध्याएर आखिर क्षयका कीरालाई आफ्नो जीवभरि पालेर मृत्युलाई कुरिरहिछु। उहाँलाई त के छ र ! झन् नाफै नाफा छ, लोग्नेभन्दा पनि बढी उहाँ एउटा चतुर घिउपसले सावित हुनुभएको छ, तै पनि उहाँलाई ममाथि दया उठ्दैन। मसित यो झिनो जी र कुहिएको फोक्सोबाहेक अरु के छ र, अझै के लिन आउनुहुन्छ यहाँ –
टी.बी. भएको सुनेर मलाई दुःख लागेन बरु खुशी लाग्यो। मैले सोचेकी थिएँ कमसे कम यो यतनाबाट छुटकारा त पाइयो। त्यसै दिनर् इश्वरको नाउँमा एउटा धूप सल्काएँ, मेरो मन ढुक्क भयो एउटा दुःखमा अर्को दुःखलालाई बिर्सने गरें तर यहाँ आएर मलाई उत्तिकै कष्ट खप्नुपरेको छ।
दुई महिना थला परेको बेलाबाहेक छ महिना मैले नर्कको कीरा झैं उहाँको थूकभित्र लटपटिएर काटेकी छु। त्यो थूक कहिल्यै सुक्तैन, घट्तैन। मेरा हात खुट्टा सबै यसैमा टाँस्सिएका छन्, न आँखा उर्घार्न सक्छु म। मेरा परला यही प्याच-प्याच परेको थूकमा जमेको छ। कहाँ छ र्स्वर्ग – त्यही प्याजी जर्नेरामा, अनि नर्क यो थूकमा – कस्तो घीनलाग्दो जीवन ! कहिले त लाग्छ त्यो प्वाइजन लेखेको शीशी स्वात्तै घाँटीभित्र खन्याइदिउँ, तर नाइँ, म त्यसो गर्न पनि सक्तिनँ। यो तातो भतभती पोल्ने नर्कमा अझ कति यसै गरी जीवनलाई घिच्याइरहनुपर्ने हो। भन्छन् टी.बी.ले खाएकाहरू झन् धेरै बाँच्छन् रे !
हिजोको एउटा घटना पनि लेखिहालुँ। सम्झन पनि सक्तिनँ, लाज लाग्छ। अहिले औषधि ख्वाउन आउँदा डाक्टरलाई सोझो मुखले हेर्न पनि सकिनँ, उसलाई पनि सबै कुरा थाहा। थाहा किन नहोस् उसलाई, म उसैको हातको प्राइभेट पेसेन्ट।
हिजो राती पनि त्यसबेलासम्म उहाँ पलङमा मेरै छेउमा पल्टिरहनुभएको थियो। डाक्टर के कामले हो झ्वासझ्वास्ती कोठाभित्र पस्यो, फेरि ठाडै खुट्टाले ऊ फर्कियो। एकछिनपछि उहाँलाई डाक्टरको काल आयो, उहाँ हाँस्तै कोठाबाट निस्कनुभयो र फेरि हाँस्तै र्फकनुभयो।
सिल्ली डाक्टर ! मेरो मुख रन्न तात्यो, मैले उहाँलाई हेरें। उहाँको अनुहार निर्वाकार थियो। मलाई ज्यादै थक्थकी लाग्यो, के गर्नु सबै कुरा बुझेर पनि लाज पचाएर बसें।उहाँ आउनुभयो, ऊ मोटरको आवाज हाम्रै क्याडिलक हो। सेनेटोरियमजस्तो ठाउँमा लाखौं मोटर आउँछन्, तैपनि आफ्नो क्याडिलकलाई म राम्ररी चिन्छु।
१४ असार
गुलाफ फूलिसकेछ। कति राम्रो दुई वटा मात्र फूलेछ। कहिलेदेखि पर्खेको मैले यो पहेंलो गुलाफलाई अझ अरु त फुलेकै छैनन्। यी नफक्रेका कोपिलालाई कति आनन्द छ अहिले, एउटा प्रगाढ न्रि्रा, अनन्त शान्ति। यी फक्रेका फूल कठै !
फेरि झुसिल्कीरा लागेछ। मेरो कामै झुसिल्कीरा टिपेर फ्याँक्ने भइसक्यो। सानुचा आयो ऊ ढोकामा, पाँच वर्षो ख्याउटे केटो। चम्पा यसकी आमा काली भएपनि राताराता गाला भएकी। ऊ यहाँ कुचो लाउने काम गर्छे रोगीका कोठा-कोठामा डुलेर फोहर बेड-प्यानहरू उठाउँछे। उसको आफ्नै जिन्दगी छ।
सानुचा मेरो बिस्कुटमा पल्किएको छ, अहिले ऊ जंगारमा एउटा खुट्टा बाहिर एउटा खुट्टा भित्र हालेर ङिच्च हासिरहेछ। त्यसले दाँत देखायो कि म कुरा बुझिहाल्छु, बिचरो ! छिः कहिले त घीन लाग्छ त्यसको नमाझेको दाँत र नाकमा कटकटिएको सिंगान देख्ता वाक्क वाक्क आउँछ। अहिले पनि बिस्कुट लिन आएको त्यो। एउटा क्रीमक्रेकर झिकेर ढोकातिर मिल्काइदिएँ, हत्तपत्त टिपेर खुर्र दौड्यो, बुद्धु केटो।
हिजो केही लेख्न सकिनँ। राती एक बजे लेख्न बसेकी लेख्न मन लागेन। न्रि्रा पनि परेन। आज पनि के लेखूँ खैं ! ठूलो चट्टान उखेलिएर छातीमा झुण्डिएको छ। एउटा निर्जीव शताब्दी, अघिको फसिलसित जोडिन म पुगेकी छु।
हिजो उहाँले सताउनसम्म सताउनुभयो। चीलले मुसालाई झुण्ड्याए झैं झुण्ड्याएर मलाई माथि-माथि आकाश सबै घुमाउनुभयो। कहिल्यै नसकिने आकाश रहेछ। त्यहाँबाट कति तल देखिन्छ, तर जति गयो उति माथि कहाली लाग्ने पो रहेछ। अहिले भर्खर फेरि डाक्टर मलालाई इन्जेक्शन दिन आयो। इन्जेक्शन दिने ठाउँ थिएन, दुवै पाखुरा सियोले छिया छिया पारेको छ, त्यसैले निर्धक्कसँग फिला खोलिदिएँ। डाक्टरले हातमा सिरिञ्ज लिएर मेरो फिलालाई हेरि मात्रै रहृयो। त्यहाँ चिमोटेका र बोक्सीले चुसेजस्ता निकै नीला डामहरू रहेछन्। मैले डाक्टरलाई भनें –
सपनामा मलाई आकाशमाथिमाथि उडेर घुमेजस्तो लागेको थियो। पछि अकस्मात् जमीनमा पछारिएँ। आकाश त के हुन्थ्यो र – न्रि्रामा पलङबाट पो खसेकी रहिछु। डाक्टरले केही भनेन, चुपचाप त्यही नीलो फिलामा इन्जेक्शन दियो र कस्तो कस्तो आँखाले मलाई हेरेर गयो।
अस्तिदेखि मेरो छाती दुख्न थालेको छ। पहिले त अलिअलिमात्रै दुखेको थियो, मैले वास्ता पनि गरिनँ। हिजोदेखि त दुखेको झन् झन् बढ्न थाल्यो, मैले उहाँलाई हिजो पनि कति पञ्छाएँ, बोलिन पनि। म नबोलेर हुन्छ र ! उहाँ त आफ्नै धुनमा बौलाहाजतिकै फतफताइरहनुभयो, सनकीजस्तै हललल हाँसिरहनुभयो। उफ्, आजित पारिसक्यो यो झुसिल्कीराले मलाई ! हेरन, फूलसितै कसरी लपक्क टाँसिएको।
हिजो आउँदा आउँदै एक गुच्छा प्याजी फूल मेरो हातमा थमाइदिनुभयो उहाँले। मैले त्यसै टेबुलमाथि राखेकी थिएँ त्यो फूलको गुच्छा। उहाँ घर जानुभएपछि त्यसलालाई उठाएर हेरें, प्याजी फूल धेरै पछि खेलाउन पाएको, त्यसैले हेरिरहें, खेलाइरहें, एकएकवट गरी गनें। मेरो हातमा छ्यास्स झुस लाग्यो, त्यति राम्रो फूल, त्यहाँ पनि एउटा झुसिल्कीरा रहेछ।
हातभरि चिलउने डाबरहरू उठे अनि कता कता उहाँको हललल हाँसो मेरो बिरामीको प्राइभेट कोठाभरि घन्क्यो। कालो झुसिल्कीराका टल्ल परेका आँखामा दुई वटा चम्किला आँखाले चियाए। म तर्सिएँ, उहाँले मलाई दुःखै दिन खोज्नुभएको रहेछ। त्यो प्याजी फूल मैले पर-पर मिल्काउन पठाइदिएँ नत्र त्यो झुसिल्कीरा फेरि मेरो पहेंलो गुलाफको बोटमा उक्लन्थ्यो।
ओह ! कस्तो खोकीले च्यापेको मलाई। ल, रगत पनि निक्कै पो आयो। सेतो थूक त पटक्कै देखिन्न। डाक्टरले यसरी बढ्ता रगत आउनु खराबी हो भनेको थियो। छाती झन् चस्किन थाल्यो, तकियाले थिचे पनि दुख्न छोड्दैन। उहाँ पनि आउनुुहुने बेला भयो। हिजोको जस्तै एक गुच्चछा प्याजी फूल दिएर मेरो छातीमा अझ दुख्ने थपेर जानुहुनेछ।
चस्कियोस् यो छाती पनि, कति चस्किन पर्ने हो। यसै गरी छाती चस्कँदा चस्कँदै रगत ओकल्दा ओकल्दै म सकिन्छ। मलाई उहाँले सक्नै खोज्नुभएको हो। केी छैन, म सकिइसकेकी छु, फेरि सकिनुमा मलाई के चिन्ता। सपूर्णता चाहन्न, थाहा छ अब म निको हुन्न, हुँदै हुन्न। अहिले फेरि अघिको भन्दा बढ्ता रगत आयो। उहाँ अहिले फेरि आउनुहुन्छ, ठट्टै ठट्टामा एकै डल्लो पारी मलाई बेसरी निचोरेर जानुहुन्छ।
रगत झन् चुहिन्छ। झ्यालमा गुलाफको लहरापछाडि त्यो परपरसम्म फैलेको आँखाले नभेट्टाइसक्नु हरियो फाँट सल्लाघारीसित टम्म मिल्न पुगेको छ। दुवै हरिया एकाकार। फाँटमा को होलान् ती एक जोडी। घुम्न आएका हुने क्यारे, त्यत्रो फाँट स्वात्ते चहारिसके। टाढाबाट उनीहरू कति राम्रा देखिन्छन्। आइमाईको जुरोमा गुलाफको रातो फल छ, त्यो लोग्नेमान्छेचाहिं आइमाईको कुममा हात राखेर हिंडिरहेछ।
उनीहरू सल्लाघारीसम्म पुगिसेक। लौ, त्यो गुलाफको रातो फूल र कुममाथिको हातलाई सल्लाघारीको बाक्लो छायाँले घप्लप्पे ढाक्यो। अब अग्लो होचो तरेली परेको रित्तो फाँटमात्रै छ। रातो गुलाफ मेरो आँखाभरि तिर्मिराएर आयो। उफ् ! म सहनै सक्तिनँ, मेरो मुटु किन यसरी हल्लिन थालेको ! यो फलामको पलङ्ग पग्लेर मेरो जीउभरि टाँस्सिइसक्यो। कस्तो भत्भत् पोल्ने डाह !
आकाश किन हल्लिन्छ यसरी, हेर आम्मे नि ! सुर्य पनि खस्न लागि सक्यो, हल्लेको हेर ! ओह ! सुर्य पनि टुक्रिन्छ अब मेरो टाउकोमा। एकैचोटि आगो खनिन्छ, म डढ्छु, यी पहेंला गुलाफ पनि डढ्छन् मसित। हेर, झुसिल्कीरा गुलाफको पातमा यति चाँडै कत्रो लाभ्रे भइसकेछ।
मरोस् यो पनि डढेर, फाल्दै फाल्दिन टिपेर अब यसलाई, मरोस्। मेरो छाती चक्र्यो, मुटु हल्लेको कसरी, भित्रभित्रै भूइँचालो छुटेजस्तो छ। छाती पनि फुट्छ कि क्या ! छाती फुटेपछि त रगतको मुस्लो निस्कन्छ, रगत त्यहाँ सल्लाघारीभित्र पसेको रातो गुलाफजस्तै। फुट्न लाग्यो मेरो छाती, फुट्न लाग्यो, अब रगतको छेलोखेलो बग्छ। उहाँ पनि आइपुग्नुहुने बेला भयो, आउनुहुन्छ, मेरो छाती…………….।
म पनि टोकिदिन्छ, म पनि माया गर्न थाल्छु उहाँलाई। म पनि बिरालो हुन्छु, खस्रो काँढा उम्रेको ज्रि्रोले चाट्छु, उहाँको कमलो आङ्भरि। उहाँको गुलाफी आङ गाडेर एक एक चोक्टा मासु झिक्छु र मेरो फोक्सोका जम्मै कीरा त्यसमा भरिदिन्छ। मलाई माया गर्ने त्यो गुलाफी आङ पनि मेरो आङजस्तै कत्ला परेको साह्रो फसिल हुनर्ुपर्छ। उहाँका ती दूध निस्लान् जस्ता ओठ कति लोभलाग्दा छन्, खै मेरो त्यस्तो !
उहाँ आइपुग्नुहुने बेला भयो, तयार भएर बस्नुपर्यो। ती ओठलाई मुखभरि च्यापेर तनतन पिइदिन्छु। त्यसभित्रको आलो रगतमा मेरो कुहिएको रगत जति सप्पै खन्याइदिन्छु। उहाँको मायाको प्रतिदान मेरो पनि उहाँलाई माया गर्छु उहाँ मलाई माया गर्नुहुन्छ त्यसैले म पनि उहाँलाई माया गर्छु यसरी दिनदिनै मलाई घरदेखि भेट्न आउन उहाँलाई कत्रो मुस्किल पर्छ, त्यसैले उहाँलाई पनि यहीं यस्तै सेतो पलङमा बाँधेर राख्न पाए कस्तो हुन्थ्यो !
आज त म उहाँलाई छोड्दै छोडि्दन। उहाँको फोक्सोमा पनि मेरो फोक्सोकोजस्तै झ्याङप्वाल ; सिंगै आकाश अटाउन सक्ने झ्याङप्वाल। हाम्रो फोक्सोको झ्याङप्वाल बढ्दै एकै ठाउँमा गएर मिल्छ, हामी ठूलो शून्य बन्छौं अनि तिनीहरूमाथि दुई वटा कत्ला परेका साह्रा फसिलहरू समयलाई गुमाइसकेका हुनेछन्।
च्व : मेरो पहेंलो गुलाफ, एउटा एउटा पातमा एउटा एउटा लाभ्रे। सबै फूल खाएर सकिन लागिसके ; यी लाभ्रेहरू कति चाँडो-चाँडो पातलाई सक्दा रहेछन्। पानी छिट्यो, ऊ आकाश हल्लिरहेछ खस्नलाईमात्रै बाँकी छ। गुलाफ! पहेंलो गुलाफ एक एक पत्र हराउँदैछ।


(२०७४ पुष ६, बिहीबार) १३:५१ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना