गत चैत १ गते मधेसी मोर्चाले गराएको बन्दका क्रममा प्रहरी र मोर्चाका कार्यकर्ताबीच भएको झडपमा घाइते भएका सोनपुर गाविस–८, गोदहानाका ७२ वर्षीय जमिल भाटको उपचारको क्रममा मृत्यु भएको छ । झडपपछि आन्दोलनकारीलाई लखट्ने क्रममा प्रहरीले घरमै बसिरहेका भाटलाई लाठी चार्ज गर्दा घाइते भएका थिए ।
उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको संयुक्त मधेसी मोर्चाले जनाएको छ । तर, बाँके प्रहरीले भाटको मृत्यु प्रहरीको लाठी चार्जबाट नभएको बताएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्धा फाँट इन्चार्ज वीरबहादुर थापाले भाट पहिले देखि नै दमको रोगी भएको र त्यही रोगका कारण मृत्यु भएको जिकिर गरे ।
प्रहरीको लाठी लागेर सामान्य घाइते भएका भाट उपचारपछि घर फर्किएको र दम रोगले च्यापेपछि परिवारले शुक्रबार दिउँसो १२ वजे शिक्षण अस्पतालमा भर्ना गरेको थापाले जानकारी गराए । उनले भाटको मृत्यु दमकै कारण भएको दावी गरे । ‘लामो समयदेखि दमको विरामी रहेका भाटको प्रहरीले प्रहार गरेको लाठिले नभई दम रोगबाट भएको मृत्यु भएको हो ।’ उनले भने ।
यता, मधेसी मोर्चाले भने प्रहरीले प्रहार गरेको लाठिले घाइते भएका भाटको मृत्यु उपचारको क्रममा भएको जनाएको छ । ‘प्रहरीको लाठीले घाइते भएका भाटको उपचारकै क्रममा मृत्यु भएको छ,’ संघीय समाजबादी फोरमका अध्यक्ष कमरुद्धिन राईले भने । झडपका क्रममा ७२ वर्षीय भाटलाई प्रहरीले नियन्त्रणमा लिएर आन्दोलनकारी भन्दै यातना दिएका कारण उपचारको क्रममा मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् ।