रकम बुझाएपछि प्रहरीकै संरक्षणमा चल्दैछ यौन व्यापार

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ चैत्र ४, शुक्रबार) ०४:२६

प्रहरीले बागलुङ बसपार्क क्षेत्रका होटल, रेस्टुरेन्टबाट यौन व्यवसाय हटाउन सफल भएपछि त्यस क्षेत्रले रुपै फेरेको छ । यौन व्यवसाय मौलाएको अखडै नरहे पनि पोखराका अरु ठाउँमा भने यो व्यवसाय चालु रहेको गाइँगुइँ चल्दै आएको हो । त्यस्तै गाइँगुइँका बीच प्रहरीकै संरक्षणमा यौन व्यवसाय चलिरहेको आरोपसहितको अडियो फेला परेको छ ।

एक यौनकर्मी युवतीले रकम खाने वडा प्रहरी कार्यालय र प्रहरीले यौन व्यवसायीबाट के–के सेवा, सुविधा पाउँछन् त्यो पनि स्पष्ट खुलाएकी छिन् । ‘वडा प्रहरी कार्यालय बैदामलाई कहिले ७५ हजार त कहिले ८० हजार नगद बुझाएका छाै,’ बगालेटोल बस्ने उनले पोखराका एक पत्रकारसँग कुराकानी गर्दै भनिन् ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि उत्तिकै रकम बुझाउँछन् यौन व्यवसायीहरू । ‘बैदाम र जिल्लाका प्रहरी आएर हैरान पार्छन्,’ उनले भनिन्, ‘कार्यालयलाई रकम बुझाउँछाै, अन्य सानो दर्जाकाले कहिलेकाहीं आएर १०–१५ हजारको मासु र रक्सी खान्छन्, अनि यौन इच्छा पूरा गर्छन्, जान्छन् ।’

कहिलेकाहिँ प्रहरीले बनेको जस्तो नभए मात्र छापा हान्ने गरेको उनले सुनाइन् । ‘भदौमा मात्र ६–७ जना केटी पक्राउ गर्‍यो, त्यो बेला पनि पैसा बुझाउनु परेको थियो,’ उनले भनिन्, ‘सिभिल पुलिस र पुरानो प्रहरीले हैरान पारेका छन् ।’ कहिलेकाहिँ साहुलाई नभनी युवतीलाई दुख दिने गरेको यौनकर्मीको गुनासो छ । ‘पहिलो दिनमा फोन नम्बर माग्छन्,’ उनले भनिन्, ‘साहुलाई नभनी जान मिल्दैन, फेरि गएन भने तेरोमा रेड हान्छु भनेर धम्की दिन्छन् ।’

यौनकर्मी राखेर रेस्टुरेन्ट व्यवसाय चल्ने ठाउँ अधिकांश वडा प्रहरी कार्यालय बैदामको क्षेत्रमा छन् । बैदामका केही पुराना प्रहरी र सिभिल प्रहरीबाट त्यस्ता व्यवसायी मात्र नभएर अन्य रेस्टुरेन्ट सञ्चालक पनि पीडित रहेको गुनासो यसअघि पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा नपुगेको होइन तर अनुगमन र कारबाही प्रक्रियाअघि नबढेको एक प्रहरी अधिकृतले बताए ।

‘बैदाममा पुराना प्रहरी छन्, उनीहरूको आन्तरिक सरुवा कहिले जिल्ला अनि फेरि बैदाम हुँदा त्यस्ता प्रहरीले बिगारेका छन्,’ ती अधिकृतले भने, ‘उनीहरू पैसा खान र माथि सेटिङ मिलाउन जान्ने भएकाले जिल्लाबाहिर सरुवा नभएको हो ।’ यसरी यौनकर्मी र केही रेस्टुरेन्ट व्यवसायीसँग रकम खान पाउने भएकाले केही प्रहरीले बैदाम छाड्न नमानेको उनले बताए ।

‘जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय एक्टिभ युनिट हो,’ उनले भने, ‘यसमा बसेर मजाले रकम खान पल्केका केही पुराना प्रहरी अन्त सरुवा हुन नदिन नेतादेखि उच्च पदका प्रहरीकहाँ गुहार माग्छन् ।’

समाधानले यौन व्यवसायीले प्रहरीबारे बोलेको अडियो रेकर्ड पाएपछि केही अन्य यौन व्यवसायीसँग कुराकानी गर्दा पनि प्रहरीले रकम खाने गरेको स्वीकारे । ‘हाम्रो त जम्मा २ वटा केटीमात्र छ,’ सिर्जनाचोकका एक व्यवसायीले भने, ‘मेरोबाट प्रहरीले पैसा त लैजान्न तर कहिलेकाहिँ खान आउँछन्, र केटी पनि लिएर जान्छन् ।’

२०७०-७१ तत्कालीन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी वसन्तकुमार लामाले बागलुङ बसपार्क क्षेत्रमा दिन रात सिआरभी भ्यान खटाएपछि यौन व्यवसाय कम भएको थियो । त्यसपछि बागलुङ बसपार्कमा यो व्यवसायी नियन्त्रणमा आयो । त्यहाँका यौनकर्मी र व्यवसायीले ठाउँ परिवर्तन गर्न थाले ।

पछिल्लो समय बागलुङ बसपार्क, बगाले टोल, जाल्पारोड, सिर्जनाचोक, नांगढुङगा, पृथ्वीचोक क्षेत्रमा यौन व्यवसाय फस्टाएको छ ।

यौन व्यवसाय नियन्त्रण गर्ने नाममा उल्टो संरक्षण गरेको पाइए तुरुन्तै कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खड्कबहादुर खत्रीले बताए । ‘अझैसम्म हामीकहाँ गुनासो आएको थिएन,’ उनले भने, ‘अब हामी यसबारेमा अनुसन्धान गर्छाैं ।’ पोखराबाट आज प्रकाशित समाधान दैनिकमा समाचार छ ।


(२०७३ चैत्र ४, शुक्रबार) ०४:२६ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना