गैची, बेल्चा उचालेर सिंगापुरे विद्यार्थी पुम्दीमा घर बनाउँदै

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ चैत्र २, बुधबार) २०:१३

पोहोर साल भैंचालो जाँदा छिमेकका २ घर चकनाचुर भए । ती घरका मान्छेलाई वरपर ओत लाग्ने ठाउँ पनि भएन । शिक्षक मातृका बराललाई लाग्यो, ‘ठूलै प्रकोप भएर गाउँका धेरै घर भत्किएका भए मान्छे कहाँ बस्थे होलान् ?’

त्यसपछि उनलाई जुक्ति फुर्‍यो, सामुदायिक भवन बनाउने । त्यसका लागि अलिकति जग्गा छुट्याएर काम थाले । गैची, बेल्चासँगै उनीहरु भित्ता खार्ने, ढुंगा पन्छाउने काममा गाउँले पनि जुटे । यो अभियानमा अहिले भने सिंगापुरका विद्यार्थी पनि लागिपरेका छन् । एक हप्ताअघि नेपाल आएका सिंगापुरको युनाइटेड वल्र्ड कलेज साउथ इस्ट एसियाका विद्यार्थी उक्त कार्यका लागि श्रमदान गरिरहेका छन् ।

गाउँकै घरमा बस्ने, खाने अनि बिहानदेखि बेलुकासम्म ढुंगा, माटो खन्न र बोक्न ती विद्यार्थी तल्लीन छन् । ‘कहिल्यै यस्तो काम नगरेका उनीहरू हातमा ठेला उठिन्जेल खटिएका छन्,’ बरालले भने ।

१६-१७ वर्षका ती केटाकेटी थकाइ नभनी खटिएका छन् । जागृति टोल विकास संस्थालाई कार्यालय र गाउँमा भेला, बैठक गर्दालाई हल पनि हुने गरी सामुदायिक भवन बनाउन लागेको बरालले बताए । अमलाचौरमा सामुदायिक भवन बनेपछि आपतविपतमा गाउँलेलाई आश्रय पनि मिल्ने उनको विश्वास छ ।

सिंगापुरको उक्त कलेजका आया मगोट्रा, क्लोई सुइटर, शुभ नन्दा, चाडविक वाङ, देविका सिंह, जोय विल्सन, ताल बेनामी, लिया जेसन, सोनिया बर्मा, विक्रम मणिकान्टन र जोय विल्सन काँघमा काँध मिलाएर अहिले सामुदायिक भवनका लागि कर्मी बनेका छन् । अन्या भन्छिन्, ‘दिनभरि थकाइ लागे पनि साँझ आनन्द लाग्छ, हामीले केही सेवा गर्न पाएका छौं भनेर खुसी हुन्छौं ।’

यो काम सेवा त हुँदै हो, उनीहरूको कलेजकार्य पनि हो । अंग्रेजी, गणित, विज्ञान, नाटक, अन्तर्राष्ट्रिय राजनीति विषय उनीहरू कलेजमा पढ्छन् । तर कलेजले एसियाको दुर्गममा पुगेर त्यहाँको वास्तविक संसार अध्ययन, अवलोकन र सामुदायिक काम पनि गर्न लगाउँछ । त्यसै अनुसार नम्बर पाउँछन् विद्यार्थी । प्रत्येक वर्ष विद्यार्थी विभिन्न देश पुग्छन् । यो टोलीले भने नेपाल छानेको हो ।

कलेजसँग मातृका बराल पोखरा दर्शनीय स्थल आधारभूत विद्यालयको प्रधानाध्यापक हुँदै जोडिन पाएका थिए । कलेजले बर्सेनी सहयोग र स्वयंसेवी पठाइरहन्छ । आफ्नो कलेजमार्फत् सहयोग आइरहेको ठाउँलाई यी विद्यार्थीले रोजेका थिए । पोखरा आएलगत्तै उनीहरूले केही दिन स्कुलमा विद्यार्थीसँग नाच्नेगाउने, खेल्ने र पढाउने पनि गर्न भ्याए । अहिले भने सामुदायिक भवनका लागि मजदुरी गरेका छन् ।

सिंगापुरे विद्यार्थी सोनिया बर्माले नेपालमा हरेक परिवारले पाहुनालाई हाँस्दै स्वागत गर्ने परम्परा रहेको अनुभव बटुलिन् । फ्रान्सेली क्लोई सुइटर भन्छिन्, ‘हामी यहाँ आएर समुदायसँग सिधा सम्बन्ध बनाउन पायौं ।’ नेपालका पहाडबाट लोभिए शुभ नन्दा । भन्छन्, ‘हाम्रो देशमा अग्लो ठाउँ भनेको ठूला बिल्डिङ हो, नेपालमा ठूलठूला पहाड रहेछन् ।’भारतीय मूलका विक्रमले धेरै नेपाली हँसीखुसी देखेर हर्क माने ।

‘शिक्षाले जनता, संस्कृति र राष्ट्रलाई एकता गर्छ, अनि दीगो भविष्य बनाउँछ’ उनीहरूको कलेजको नारा छ । कलेजले सन् २०१० देखि सहयोग गर्दै आएको थियो । यो पटक आएका विद्यार्थीले पनि लत्ताकपडा, काम्लो, खेलौना र पानीका बोटल कोसेली ल्याएका थिए । अन्या मगोट्रोले भनिन्, ‘च्यारिटीबाट संकलित पैसाबाट सामान ल्याएका थियौं, फेरि अर्काे वर्ष पनि केही पठाउँछौं । अब यो गाउँसँग हाम्रो सिधा सम्बन्ध बन्यो ।’ समाधान दैनिकमा खबर छ l


(२०७३ चैत्र २, बुधबार) २०:१३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना